होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय
समाचार

स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

  • नागरिक रैबार
स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।​

उनले भने – ‘स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरूप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरूले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्ततोगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय पार्टीले सर्वसम्मत बाट गरेको छ ।’

गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिए । पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उनले बताए । उनले भने – ‘जुन गठबन्धनमा रहेका दलहरू छन् ।

विज्ञापन

उनीहरू सँग तालमेल गर्ने हाम्रो नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्रीय तहमा पनि एउटा संयन्त्र बनाउँछ । प्रदेश, जिल्ला, क्षेत्रीय समिति तहमा पनि संयन्त्र बन्छ । र सम्बन्धित गठबन्धनमा रहेका दलहरू छन्, त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन, व्यवस्थापन मिलाउँछ । गठबन्धन प्रक्रियालाई व्यवहारिक रूपमा अगाडी बढाउने काम हामी गर्छौ ।

जुन–जुन तहलाई जे अधिकार दिइएको छ । जस्तो प्रदेश क्षेत्रीय समितिलाई अधिकार दिइएको छ वडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेशहरूलाई नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको जुन अधिकार दिइएको छ । त्यही अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडी बढाउँछौँ ।’

केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदन समेत गरेको छ । त्यस्तै, नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रूपमा नेपाली काँग्रेसको सदस्यता र नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।​

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार