होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा पाठ्यपुस्तककै पिरलो
समाचार

सुदूरपश्चिममा पाठ्यपुस्तककै पिरलो

  • नागरिक रैबार
सुदूरपश्चिममा पाठ्यपुस्तककै पिरलो

सुदूरपश्चिममा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ। जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको गुनासो गरिएको हो।

जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताइएको छ। तर जेठ ३ गतेबाट नयाँ शैक्षिकसत्र सुरू भए पनि विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन।

शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भए पनि किताब नहुँदा पठनपाठन गर्न नसकिएको धनगढीको तुलसीराम राष्ट्रिय माध्यमिक विद्यालयका प्राचार्य गणेशराज भट्टले बताए। “शैक्षिकसत्र जेठ ३ गतेबाट सुरु भएको हो, विद्यार्थी भर्ना अभियान पनि सकिएको छ तर पाठ्यपुस्तक नपाउदा पठनपाठनमा समस्या भएको छ,” उनले भने, “किताब नहुँदा सबै अभिभावकले छोराछोरीलाई स्कुल पठाएका छैनन् भने स्कुल आउनेलाई पनि नयाँ कुरा सिकाउन सकिएको छैन।”

विज्ञापन

सामुदायिक विद्यालयले पुराना पुस्तक विद्यार्थीबाट फिर्ता मागेर केही विद्यार्थीलाई दिए पनि कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको छ। शिक्षकहरूले पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास गरे पनि विद्यार्थीमा किताब नहुँदा अभिरुचि जगाउन नसकिएको धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका प्राचार्य हरिशकुमार ओझाले बताए। “किताब नहुँदा पठनपाठनमा समस्या भएको छ, विद्यार्थीमा पनि कक्षाकोठा बसेर पढ्ने उत्साह आएको छैन,” उनले भने, “पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास त गरेका छौँ। तर विद्यार्थीसँग किताब नहुँदा सहजै पठनपाठनमा सरिक नहुँदा रहेछन्।”

सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ। बाजुरा र दार्चुला जिल्लाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक पठाइ सकिएको छ। अछाम र बझाङका लागि शुक्रबार र शनिबार पठाउने बताइएको छ।

अन्य पहाडी जिल्लामा आउने हप्ताभित्र सबै पुस्तक पठाइसक्ने र त्यसपछि कैलाली र कञ्चनपुरका सरकारी विद्यालयले पुस्तक पाउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले जनाए। “हामीले दुर्गम पहाडी जिल्ला बाजुरा र दार्चुलामा आवश्यक पर्ने पुस्तक पठाइसकेका छौँ,” उनले भने, “आउने हप्ता सबै पहाडी जिल्लामा पठाइसक्ने छौँ र जेठ मसान्तसम्म प्रदेशका सबै विद्यालयमा पुस्तक पुगाउने लक्ष्य छ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा यो वर्ष केही ढिलाइ भएको जनाएको छ। दुर्गम जिल्लामा पहिले वितरण गर्ने योजना भएकोले कैलाली र कञ्चनपुरका लागि अर्को हप्ताबाट किताब दिने जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार