होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जो घरभन्दा पहिले सडक बढार्छन्
समाचार

जो घरभन्दा पहिले सडक बढार्छन्

  • नागरिक रैबार
जो घरभन्दा पहिले सडक बढार्छन्

मकवानपुर- मकवानपुर जिल्ला हेटौंडा-८ कमानेकी आसमाया देउला हरेक दिन विहान साढे ३ बजे उठ्छिन् । विहान उठेपछि उनको पहिलो काम सडक बढार्ने हो । साढे ३ बजेबाट सारा बजार क्षेत्रका सडक बढारेपछि उनी ८/९ बजे घर पुग्छिन् । अनि सुरू हुन्छ उनको घरको सरसफाइ ।

आफू बस्ने घरभन्दा पहिले सडकको सरसफाइमा लाग्‍ने आसमायाले विगत २९ वर्षदेखि यही काम गर्दै आएकी छिन् । झाडु लिएर सडक बढार्न निस्कने आसमायालाई आफ्नो घरभन्दा प्रिय लाग्छ सफा सडक । ‘विहान उठेर आफ्नो घरको कोठा र आँगनभन्दा पहिले सडक बढार्छु,’ आसमायाले भनिन्, ‘आफूले पसिना बगाएको ठाउँको माया लाग्छ नि ।’ यसैबाट उनको रोजिरोटी चलेको छ ।

छोरो अटो चलाउँछ, परिवारको अरु आम्दानीको स्रोत छैन । सडकको फोहोर सफा गर्ने काममा केही पीडा सँगालेकी छिन् उनले । चाडपर्वको समयमा घरमा पाहुना हुन्छन्, आफू बिदा पाइदैन, काममा निस्कनै पर्छ, चाडपर्वको बेलामा शहरमा झन् धेरै फोहोर हुन्छ । सडकमा सबै प्रकारको फोहोरहरु भेटिन्छन्, फोहोरमा काम गर्नुपर्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको बताउँछिन् ३४ वर्षीया अञ्जना देउला । उनी पनि विगत २० वर्षदेखि हेटौंडा बजारको सफाइ कार्यमा लागिरहेकी छिन् ।

विज्ञापन

जनशक्तिको अभावमा सफाइको काम असीमित समय हुँदा भने उनीहरूलाई समस्या छ ।

‘१० दिन वा २ हप्ताको बीचमा रुघाखोकी, ज्वरोले सताउने गर्छ,’ अञ्जना भन्छिन्, ‘बिरामी हुँदा पनि औषधि खाने, काममा आउने हो ।’ सफाइ कर्मचारी कम भएका कारण बिदा नपाइने उनले सुनाइन् ।

‘हामीले सकिनसकि सफा गरेर अघि बढेको सडकमा पछि फर्केर हेर्दा व्यापारीहरूले फोहोर थुपारिसक्छन्,यो देख्दा चाँही दिक्क लाग्छ,’ अर्की सफाइ कर्मचारी शारदा देउलाले भनिन् । आफ्नो जीवनको उर्जावान समय सडक बढारेरै बिताएका उनीहरू आफूले सफा गरेको ठाउँमा अरुले फ्यात्त फोहोर फालिदिँदा धेरै नराम्रो लाग्‍ने बताउँछन् ।

सबैले आफ्नै मेरो घर आँगन, पिडी जस्तै मानेर सडकलाई सफा राखिदिए बजारको रूप नै अर्कै हुने बताउँछिन् अञ्जना । हेटौंडा ८ कमानेकै शारदा माया देउला पनि वि.स २०५० सालदेखि सफाइको काम गर्दै आएकी छिन् ।

हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा सफाइका लागि १४ जना सफाइ कर्मचारी नियुक्त गरेको छ । २०५० सालपछि सफाइ कर्मचारी नयाँ नियुक्त नगरिएका कारण बजारमा जनघनत्व बढेसँगै बढेको फोहोर संकलन १४ जनाले नै भ्याउनु पर्ने बाध्यता छ । २०५० साल ताका ७४ जना कर्मचारी बजार क्षेत्रको सफाइ गर्दा आएका थिए । पुराना कर्मचारी अवकाश भएर गएपछि नयाँ भर्ना नगर्दा जनशक्तिको कमीले कामको बोझ बढेको छ ।

फोहोर संकलनमा जनशक्तिको अभाव एकातिर छ भने, व्यापारी तथा यात्रुहरूले जथाभावि फोहोर फाल्दाको समस्या अर्कोतिर छ । नगरपालिकाले फोहोर जथाभावि फाल्नेलाई कडाइ नगरेको कारण अपेक्षाकृत सफाइ नभएको बताउँछन् सरसफाइ निरीक्षक दीपक घिमिरे ।

नगरपालिकाको मात्रै निगरानी गरेर फोहोर उठाउने काममा चुनौतीपूर्ण भएको बताउँछन् उनी । नगरपालिकाको नियम अनुसार सडकको फोहोर नगरपालिकाको सफाइ कर्मचारीले संकलन र व्यवस्थापन गर्ने हो, आवासको फोहोर व्यवस्थापनको जिम्मेवारी अर्कै संस्थाले ठेक्कामा लिएको छ । तर, ठेकेदार संस्थाले दैनिक फोहोर नउठाएपछि आवासको फोहोर पनि सडकमै फाल्ने गरेको सफाइ कर्मचारीहरुको गुनासो छ ।

‘ठेकेदारले फोहोर उठाएन भने, हाम्रो कर्मचारीले बढारेर छाडेको सडकमा आवासको फोहोर स्थानीय वासिन्दाले फाल्ने गर्दछन्, नगरपालिकाले पनि ठेकेदारलाई कडाइ गरेको छैन,’ घिमिरेले भने । सफाइको ठेक्का पाएका संस्था, स्थानीय व्यापारी, पैदल यात्री, यातायात व्यवसायी तथा यात्रुहरू सबैले सरसफाइमा इमान्दारीता प्रकट गर्नुपर्ने घिमिरे बताउँछन् । ‘सफाइको कुरा गर्दा जागिर खाएको भन्ने कुरा आउँछ, जागिरभन्दा पनि इमान्दारीताका कुरा ठूलो हो, आफ्नो घर पसल वरपर सफा राख्दा त आफैंलाई फाइदा छ नी,’ शारदा भन्छिन् ।

२० वर्षअघिको तुलनामा हाल हेटौंडाको सडक सफाइ कर्मचारी सङ्ख्या एक तिहाइ मात्रै छ, जनशक्ति घटेका छन् तर हेटौंडा बजारको क्षेत्र विस्तार भएको छ । संगै जनघनत्वका कारण फोहोर पनि बढी हुने गरेको छ । पहिलेको तुलनामा कामको भार थपिएको बताउँछिन् अर्की सफाइ कर्मचारी बालकुमारी देउला । वर्षाको समयमा झरी पर्दा समेत काममा आउनु पर्दा समस्या हुने गरेको शारदाले बताइन् ।

लक्ष्मी देउलाले पनि वि.स २०४८ सडकको फोहोर बढार्दै आएकी छिन् । ‘सफाइको नियम नगरपालिकाले कडाइका साथ लागू गर्नुपर्ने निरीक्षक घिमिरे बताउँछन् । ‘चिठ्ठी काटेर के हुन्छ र भन्दै फोहोर बाटोमा फाल्नेलाई नगरपालिकाले कडाइ गरोस्,’ घिमिरेले भने ।

हेटौंडा उपमहानगरपालिकाले बजारलाई हराभरा बनाउने लक्ष्यका साथ डिभाइडरमा फूल रोपेको छ । तर, सफाइमा यथेष्ट ध्यान पुर्‍याएको छैन । ‘नगरपालिकाले रोपेको त्यै फूलको फेदमा जम्मा हुने फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्न किन कडाइ गर्दैन ?,’ पैदलयात्री युवा सर्केस कार्कीले भने, ‘फूल मात्रै रोपेर शहरको आकर्षण बढ्दैन, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण तथा त्यसको व्यवस्थापन पक्ष पनि राम्रो चाहिन्छ ।’

स्थानीय युवा संकल्प घोरासाइनीले पनि सरसफाइमा दुरगामी लक्ष्यका साथ नगरपालिकाले काम गर्न नसकेको बताए । बसपार्क क्षेत्रमा समेत फोहोर संकलनका लागि डस्टबिन राख्‍न नसक्नुले फोहोर तथा प्रदूषण नियन्त्रणमा नगरपालिकाको चासो नै नभएको स्पष्ट देखिएको घोरासाइनीले औँल्याए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार