होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वतन्त्र पार्टीले उल्लेख्य मत ल्याउने संकेत
समाचार

स्वतन्त्र पार्टीले उल्लेख्य मत ल्याउने संकेत

  • नागरिक रैबार
स्वतन्त्र पार्टीले उल्लेख्य मत ल्याउने संकेत

काठमाडौँ — स्थानीय निर्वाचनमा धरान, काठमाडौं र धनगढीबाट अभिव्यक्त भएजस्तै मत यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त हुने सम्भावना देखिएको छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्ने आकलन गरिएको छ ।

मूलधारका दल र नेताबाट असन्तुष्ट मतदाताले यसपालि स्वतन्त्र पार्टीलाई मतदान गरेको विश्लेषण भइरहेको छ । यद्यपि मतगणनाको प्रारम्भिक रुझान पनि आउन बाँकी छ । तर, मतदान गरेर फर्किएका मतदाताले दिएको प्रतिक्रियाका आधारमा स्वतन्त्र पार्टीको उपस्थिति संसद्मा अर्थपूर्ण हुने देखिएको छ ।

गत ७ असारमा घोषणा गरिएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा एक सय ४० र समानुपातिकमा सबै एक सय १० उम्मेदवार उठाएको छ । तर, प्रदेशसभा निर्वाचनमा भने यो दलले भाग लिएको छैन ।आइतबार भएको निर्वाचनमा दलका सभापति लामिछानेले नै प्रदेशसभातर्फको मतपत्र प्रयोग नै गरेनन् । ‘प्रादेशिक प्रणालीमा समस्या छ, त्यसमा सुधार भएपछि मात्र मतदान गर्छु,’ उनको प्रतिक्रिया थियो ।

विज्ञापन

मतदाताको मनोविज्ञानलाई राजनीतिक दलले पनि स्वीकार गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताएका छन् । ‘यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ । तर नेतृत्वले असन्तुष्टिलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुन सक्छ, कराइबाट उम्केर भुंग्रोमा नफसौं ।’

मतपरिणाम ‘आठ दिनभित्र’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आठ दिनभित्र आइसक्ने बताएका छन् । मतदान स्थगन भएको ठाउँमा पुन: मतदान गराएर प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतपरिणाम जतिसक्दो छिटो दिने गरी तयारी गरिएको उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार एउटा क्षेत्रको मतपत्र कम्तीमा चार ठाउँमा गणना हुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतपत्र छुट्टाछुट्टै राखेर एकै पटक गणना गरिने भएको छ । आयोगले प्रत्यक्षको मतगणना पहिला र समानुपातिकको पछि गणना गर्ने तयारी गरेको थियो । आइतबार मतपेटिका कब्जा, आगजनी प्रयासका घटना भएपछि आयोग समानुपातिकको पनि एकै पटक गणना गर्ने निर्णयमा पुगेको हो ।

मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको आयोगले जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिका मौसमले साथ दिए नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार अपराह्न ४ बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतकोकार्यालयसम्म ढुवानी गर्ने योजना छ,’ थपलियाले भने । एउटा सभाको मतपत्र हाल्ने मतपेटिकामा अर्को सभाको मतपेटिकासमेत हालेको गुनासो आएकाले गणनाका क्रममा सदर मतपत्र भए सम्ब्न्धित सभाको मतपत्रमा समावेश गर्न आयोगले निर्देशन दिएको छ । कान्तिपूरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार