होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १२, २०७९
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • म प्रश्‍न गरूँ कसोरी ?
विचार/ब्लग

म प्रश्‍न गरूँ कसोरी ?

  • नागरिक रैबार
म प्रश्‍न गरूँ कसोरी ?

म्यागसेसे विजेता भारतीय पत्रकार रवीश कुमारले हालै काठमाडौंमा भनेका थिए— सम्झौता र अन्तरविरोधप्रति अहिलेदेखि चनाखो हुनुहोस्, नत्र पेसा (पत्रकारिता) नै गायब हुनेछ । हो, यसरी भन्नलाई सजिलो छ ।

अहिलेलाई सुरु गरौं— भारतीय विदेशसचिव विनयमोहन क्वात्राको शुक्रबार अपराह्न दिल्लीमा आयोजित पत्रकार सम्मेलनबाट । क्वात्रा, जो एक महिनाअघिसम्म नेपालका लागि भारतीय राजदूत थिए र अहिले भने बुद्ध जयन्ती (सोमबार) का अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण ‘ब्रिफिङ’ मा उनी पहिलो पटक प्रेससामु आएका थिए । विदेशसचिवको पहिलो प्रेस–ब्रिफिङमा क्वात्राले ‘बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री मोदीको पहिलो भ्रमण हुन लागेको’ सूचनासँगै प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा उत्रन नचाहेका बारेमा उस्तै सनातनी जवाफ फर्काएका छन् । विदेशसचिवको जवाफ छ— ‘प्रधानमन्त्रीको भ्रमण सुरक्षासँग पनि जोडिने भएकाले त्यस विषयमा म केही बताउन सक्दिनँ ।’

विदेशसचिवले भनेझैं अब यो कस्तो ‘सुरक्षा चुनौती’ हो जसका बारे नेपालका परराष्ट्र वा गृह मन्त्रालय, दिल्लीस्थित कूटनीतिक नियोग वा सिंगो सुरक्षा निकाय ‘बेखबर’ छन् ? प्रश्न मात्रै सामुमा छ, जवाफ कहीँकतै छैन ।

विज्ञापन

संयोग कस्तो परेको छ भने, नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध’ को औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भैरहवा उत्रिएलगत्तै भारतीय समकक्षी मोदी पनि त्यही विमानस्थलबाट १८ किलोमिटर पर्तिर बनेको हेलिप्याडमा उत्रनेछन् । इतिहासमा विकास र समृद्धिको छवि देखिने अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन) बनेको ७३ वर्षपछि सञ्चालनमा आउन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) उद्घाटनकै क्षणमा देखिएको भू–राजनीति र भू–रणनीतिको यो ‘संकेत’ कत्तिको अर्थपूर्ण छ ? नीति प्रतिष्ठानसहित थिंक–ट्यांकका अनेक विज्ञहरूले यसबारेमा सोचेका समेत छैनन्, विमर्श त परैको कुरा भयो । १८ किलोमिटर पर्तिरको आलोकाँचो हेलिप्याडमा उत्रन तयार भारतीय प्रधानमन्त्री मोदीले दिन खोजेको सन्देश के होला ? कूटनीति र सम्बन्धमा यस्ता संकेतको ठूलो अर्थ रहन्छ नै । यो बुद्ध जयन्तीको शुभसाइत मात्रै हो, तर यसले दिने अर्थ (अझ बढी अनर्थ) को ख्याल कहीँकतै गरिएको छैन ।

बुद्धको जन्मस्थल भनिएर र यो यथार्थलाई आत्मसात् गरेर भारतीय प्रधानमन्त्री हेलिप्याड हुँदै लुम्बिनी आइदिनु अहिलेका लागि सुखद कुरा हो । त्यसमाथि ‘बुद्ध वाज बोर्न इन नेपाल’ भनेर बस र माइक्रोबसका भित्तामा नारा लेखाउने वर्गका निम्ति मोदी लुम्बिनी आउनु अर्को विजयी क्षण हो, अहिलेको खुसीको कुरा यत्ति हो ।

दिल्लीमा विदेशसचिव क्वात्राले प्रेससामु राखेको अर्को धारणा अझ अनौठो सुनिन्छ, बुझिन्छ । भारतीय प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन समकक्षी केपी शर्मा ओलीकै सहमति–समझदारीमा बनेको प्रबुद्ध समूह (ईपीजी) ले नेपाल–भारत सम्बन्ध, सन् १९५० को मैत्री सन्धि, खुला सीमासहितका मामिलामा तयार गरेको प्रतिवेदनलाई विदेशसचिव क्वात्राले ‘स्वतन्त्र विज्ञ समूहको प्रतिवेदन’ भनेर सम्बोधन गरेका छन् । आश्चर्य यो छ कि, दुवै देशका प्रधानमन्त्री र सरकारले सार्वजनिक रूपमा ‘अपनत्व’ जनाएको ईपीजीलाई यो समूहले रिपोर्ट तयार पारेको (जुलाई २०१८ मा ईपीजीको अन्तिम नवौं बैठक) झन्डै ४ वर्षपछि भारत सरकारका उच्चपदस्थले भनेका छन्— त्यो स्वतन्त्र विज्ञ समूह हो । विदेशसचिव क्वात्राले दोहोर्‍याउँदै भनेका छन्, ‘ईपीजी प्रतिवेदन हामीले पढेका छैनौं । त्यो प्रतिवेदन स्वतन्त्र विज्ञ समूहले बनाएको हो । म के अनुमान गर्छु भने त्यो प्रतिवेदन स्वतन्त्र विज्ञ समूहका व्यक्तिसँग मात्रै छ ।’

अझ आश्चर्यको कुरा के छ भने, यही ईपीजी समूहका नेपाली विज्ञ सदस्यमध्ये एक जना भारतका लागि नेपाली राजदूत बनेर आइसकेका छन् भने अर्का सदस्य पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकारको हैसियतमा पुगिसकेका छन् । पूर्वराजदूत नीलाम्बर आचार्य र सल्लाहकार राजन भट्टराईका निम्ति भारतीय विदेशसचिव क्वात्राको यो ईपीजी–सरोकार अझ महत्त्वको विषय बन्न सक्नुपर्छ, किनभने क्वात्रा काठमाडौंमा भारतीय राजदूतका रूपमा कार्यरत रहेको (बितेको ३ वर्षे) कार्यकालमा सबैभन्दा सम्पर्क/सहकार्यमा रहेर काम गर्ने अधिकारीहरू उनै थिए । ओली प्रधानमन्त्री रहेकै बेला राजदूत क्वात्रासहितको समन्वय र ओली सल्लाहकार समूहको सहयोगमा भारतीय खुफिया एजेन्सी (रिसर्च एन्ड एनालाइसिस विङ) का प्रमुख सामन्त गोयलले ओलीलाई बालुवाटारमा भेटवार्ता (२१ अक्टोबर २०२०) गरेका थिए । भनिन्छ— त्यही अति गोप्य भेटको परिणामस्वरूप ईपीजी प्रतिवेदनले उठाएको सम्पूर्ण सरोकारलाई साम्य गराउने काम भयो । त्यही भरमा अहिले आएर भारतीय विदेशसचिव क्वात्राले भनेका छन्— ईपीजी स्वतन्त्र प्रबुद्ध समूह हो, भारत सरकार यसबारेमा बेखबर छ ।

यस बेला स्मरण हुन्छ उनै रवीश कुमारको जो भनिरहन्छन्— सम्झौता र अन्तरविरोधप्रति अहिलेदेखि चनाखो हुनुहोस्, नत्र पेसा (पत्रकारिता) नै गायब हुनेछ । तर, चनाखो कहाँ हुने ? कसरी हुने ? प्रश्न कहाँ गर्ने ? कसलाई गर्ने ?

नेपालसँगको भारतको पछिल्लो सम्बन्ध भनेको चिसोपना झल्काउने ‘कूटनीतिक नोट’ मा आधारित देखिन्छ । विशेषतः लिपुलेक–लिम्पियाधुरा सीमा मामिला, महाकाली नदीको बहाव तथा दशगजामा सडक निर्माण र तुइन चुँडाइदिएर दार्चुलाका नेपाली युवा जयसिंह धामीलाई महाकाली भेलमै मिसाइदिएको (२०७८ साउन १५) प्रकरणमा सरकारले आधा दर्जनभन्दा बढी कूटनीतिक नोट भारत सरकारलाई पठाएको थियो । तर, कुनैको पनि जवाफ आएन, न त्यसबारेमा थप संवाद अघि बढ्यो । संयोगले त्यस बेलाका अधिकांश कूटनीतिक नोट ग्रहण गर्ने अवसरहरूमा उनै राजदूत थिए— विनयमोहन क्वात्रा ।

यसरी सम्बन्धमा चिसोपन छाएकै बेला दिल्ली पठाइएका नेपाली राजदूत शंकर शर्माको ‘अग्रिमो’ ३ महिना बितेपछि मात्रै आउनु र आज आएर भारतीय विदेशसचिव क्वात्राले ईपीजी प्रतिवेदनबारे जानकारी नरहेको बताउनु त्यति सामान्य संकेत होइनन् । आज यी सम्पूर्ण विषयलाई ओझेल पारेर र त्योभन्दा ठूलो नेपालको विकासको फड्को हुन सक्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला नहाली त्यहीँ पर्तिर आँगनको हेलिप्याडमा उत्रिन लागेका भारतीय प्रधानमन्त्री मोदीले दिन चाहेको अर्थ–अभिप्राय के हुन सक्छ ? के यो चिनियाँ निर्माण सहयोग (एडीबी ऋण) मा बनेको विमानस्थल भएरै यसरी ‘अनदेखा’ बनेको हो ? के लुम्बिनीमा पनि चिनियाँ लगानीका विहार र मठहरू बन्दै गएका छन् भनेर त्यसको प्रभाव रोक्न भारतीय विहार बन्न लागेको हो ?

कूटनीतिको आयाम र सम्बन्धको सहजीकरणमा धर्म–अध्यात्मको सरोकारलाई खुबै जोडेर हेर्ने गरिएको छ । दिल्लीबाट कुशीनगर (उत्तरप्रदेश) सम्म भारतीय विमान र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी–हेलिप्याडसम्म आउन लागेका भारतीय प्रधानमन्त्री मोदीले पक्कै पनि लुम्बिनी आएर बुद्ध सर्किट (चक्रपथ) वा बुद्धको जन्मस्थलबारे चर्चा गर्नेछन् । तर, यो धर्मकर्म वा अध्यात्मका अनन्त कुराभन्दा भारतले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुटको अनुमति दिनु र भैरहवा/महेन्द्रनगर रुटलाई दुईतर्फी बनाइदिने सहमति पाउनु सबैभन्दा ठूलो कुरा हो ।

माथि आकाशमा उड्ने रुट दिइएको छैन नै, तल महाकालीमा झुन्ड्याइएको तुइनका डोरी काटेर पनि सम्बन्धमा ‘संवेदनाहीन’ व्यवहार निरन्तर हुँदै आएको छ । सम्बन्धको चिसोपनाको कारक रहेको सीमा समस्यामा साँच्चै तथ्य–प्रमाणको संवाद हुनुभन्दा पनि ‘यो मामिलामा राजनीति नगरौं, द्विदेशीय स्थायी संयन्त्रले यसमा समाधान खोज्नेछ’ भनेर टारिरहने प्रवृत्तिका सामु मोदीको लुम्बिनी भ्रमण अर्को ‘बहाना’ मात्रै हुन सक्छ । धर्म र अध्यात्म भनेको अरू सतहका सम्बन्ध, आयाम र प्रवृत्ति ठीकठाक रहेपछि मात्रै आउन सक्ने अदृश्य कुरा हो ।

महाकालीको भेलमा मिसिएका जयसिंह धामीका आफन्तलाई खोज्दै र उनको परिवारको संवेदनामा जोडिन अहिले अमेरिकाको न्युयोर्कवासी किशनसिंह धामी काठमाडौं आइपुगेका छन् । तर, जयसिंहको पहिचान र अस्तित्व मुचुल्का प्रमाणित भैनसकेको अमुक पात्रको जस्तै छ । जयसिंहबारे भारतीय प्रशासन र सीमावर्ती अधिकारीहरू त बेखबर छन् नै, भगवान् बुद्धको दर्शनमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइरहेका बेला जयसिंहका बारेमा कुरा उठाउनु मुनासिब हुन्न भनेर हाम्रै प्रशासनयन्त्रले पनि भनिरहेको स्थिति छ । किशनसिंह यतिखेर रनभुल्लमा छन्, नेपाल–भारत सम्बन्धमा जयसिंहजस्ता गुमनाम पात्रको तुइन–भाग्य सम्झेर ।

आखिरमा यो सम्बन्ध कस्तो सम्बन्ध हो ? धार्मिक कूटनीति भनेर अरू समस्या, तनाव र असंगत कामकुराका बारेमा ‘रामराम’ मात्रै भनिरहने ? भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी आएर ‘बुद्धं शरणं गच्छामि’ भनिरहेका बेला हाम्रा द्विपक्षीय सम्बन्धका आयाम र सम्बन्धबीचमा रहेका झन्झावातहरू कहाँ रहन्छन् ? कता पुग्छन् ?

यस कारण प्रिय रवीश कुमार, यी प्रश्नहरू सोधौं कहाँ ? आखिर, सोधौं किन जसको जवाफ आउँदैन । यतिखेर अति सामान्य जिज्ञासा छ यो मनमा । भारतीय प्रधानमन्त्री मोदी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा किन उत्रिरहेका छैनन् ? चिनियाँ लगानी मात्रै यसको कारण होला र ? अथवा, ‘रिसर्च एन्ड एनालाइसिस विङ’ को अनुमति नपाएरै हो ? वा, हाम्रै कूटनीतिक पहुँच–प्रभावको कमजोरीमा भैरहवामा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनेकोबारे दिल्लीसम्म जानकारी नपुगेरै होला कि ? केही थाहा होला कि भनेर दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका पदाधिकारीसमक्ष पनि यो जिज्ञासा राखिहेरें, तर जवाफ थिएन । अनेक बल गर्दा पनि जवाफ आएन ।

अनेक संशय, आशंका र भययुक्त सरोकारहरूका माझ संगीतज्ञ अम्बर गुरुङको एउटा गीतले भन्छ— कान्तिपुरबाट साभार

कहिले लहर यो मनमा चल्छ

कहिले आँधी चल्छ…

प्रश्नलाई पनि प्रश्न छ मेरो

भन पानी किन जल्छ ?

ट्वीटर: @registandiary

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै