होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा आपत्कालीन पोषण कार्यक्रम
समाचार

स्वामीकार्तिकमा आपत्कालीन पोषण कार्यक्रम

  • नागरिक रैबार
स्वामीकार्तिकमा आपत्कालीन पोषण कार्यक्रम
तस्बिर सौजन्य : प्रकाश कोइराला

बाजुरा । कुपोषणग्रस्त रहेको बाजुराको मुक्तिकोट गाउँसहित स्वामिकार्तिक खापर गाउँपालिकामा आपत्कालीन पोषण कार्यक्रम लागू भएको छ । पालिकाभरिका ६ महिनादेखि २३ महिना सम्मका बालबालिका, स्तनपान गराइरहेका र गर्भवती महिलालाई कुपोषणबाट बचाउन यो कार्यक्रम सुरु भएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको विश्व खाद्य कार्यक्रमले यो परियोजना लागू गरेको छ । कार्यक्रमको कार्यान्वयन गैरसरकारी संस्था एकीकृत विकास समाज (आईडीएस) मार्फत हुनेछ । आईडीएसले गाउँपालिकाअन्तर्गतका स्वास्थ्य शाखासँग सहकार्य गरेर काम गर्नेछ । ‘मिडियामा मुक्तिकोटको समाचार आएपछि यहाँको अवस्थाबारे हामीलाई जानकारी भएको हो,’ विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक दानबहादुर साउदले भने, ‘कुपोषणको अवस्था निकै जर्जर भेटिएपछि अब जन्मिने बच्चा सुपोषित होस् र जन्मिसकेका बच्चाहरूको अवस्था थप नबिग्रियोस् भनेर आपत्कालीन रूपमा कार्यक्रम लागू गरेका हौं ।’ उनले यो कार्यक्रमले यहाँको कुपोषण अवस्थालाई थप बिग्रन नदिन सहयोग गर्ने अपेक्षा गरिएको बताए ।

‘जहाँ हरेक आमाले गुमाएका छन् सन्तान’ शीर्षकमा चैत ८ गते कान्तिपुर दैनिकमा यहाँको कुपोषणको अवस्थाबारे स्थलगत रिपोर्ट प्रकाशित भएको थियो । त्यसलगत्तै चैत अन्तिमतिर स्वास्थ्य कार्यालय बाजुराले गरेको अध्ययनका क्रममा यहाँका एउटै महिलाले १३ वटासम्म बच्चा जन्माएको, हरेक तीन आमाहरूमध्ये दुई जनाले कम्तीमा १ सन्तान गुमाएको भेटिएको थियो । त्यति बेला यहाँका ६१ जना पाँच वर्षमुनिका बालबालिका कुपोषित रहेको र तीमध्ये १६ को अवस्था गम्भीर रहेको अध्ययनले पत्ता लागेको थियो । १ सय ९६ जना १० वर्षभन्दा माथिका महिलाहरू कुपोषित रहेको र उनीहरूमध्ये ४३ को अवस्था गम्भीर रहेको उक्त अध्ययनबाट पत्ता लागेको थियो । उक्त अध्ययनमा सहभागी प्रजनन उमेरका ६० जना आमाले मात्रै २०७८ चैतसम्म १ सय ११ जना बच्चा गुमाइसकेको बताएका थिए ।

विज्ञापन

मुक्तिकोट मात्रै नभएर पालिकाका अन्य गाउँहरूमा पनि कुपोषणको अवस्था डरलाग्दो देखिएकाले पालिकाभरि नै कार्यक्रम लागू गरिएको विश्व खाद्य कार्यक्रमले जनाएको छ । अहिलेलाई तीन महिनाका लागि लागू भएको यस कार्यक्रमले पालिकाभरिका ५ सय १२ बालबालिका र ६ सय १९ जना गभर्वती र स्तनपान गराइरहेका आमाहरूलाई अमेरिकामा तयार गरिएको पोसिलो पिठो पूरक खानाका रूपमा उपलब्ध गराइने आईडीएसका कार्यकारी निर्देशक प्रकाश कोइरालाले बताए । ‘प्रत्येक दिन १ सय ग्रामका दरले खाने गरी पोषणयुक्त पिठो वितरण गरिनेछ,’ उनले भने, ‘एक महिनापछि त्यसले पोषण सुधारमा कस्तो प्रभाव पर्‍यो भनेर स्वास्थ्य जाँच गर्ने र त्यसको नतिजाका आधारमा थप एक्सन गर्ने योजना छ ।’ यो कार्यक्रमअन्तर्गत करिब ११ मेट्रिक टन पोषणयुक्त पिठो वितरण गरिने उनले बताए ।

कोइरालाले बाजुरामै उत्पादन भएको अन्नबाट यस्तै खालको पोसिलो पिठो तयार गर्नेबारे पनि अध्ययन भइरहेको बताए । उनले पालिका, सुदूरपश्चिम प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयले विश्व खाद्य कार्यक्रमलाई सहयोगका लागि अनुरोध गरेपछि कार्यक्रम लागू गरिएको बताउँदै यहाँको पोषणको अवस्था सुधार्नका लागि थप के गर्न सकिन्छ ? भनेर सल्लाह भइरहेको बताए । यो कार्यक्रमले मुक्तिकोटलगायत स्वामीकार्तिक खापर गाउँपालिकाको पोषण अवस्था सुधार्न सहयोग पुग्ने र मुक्तिकोटजस्ता गाउँको सन्दर्भमा दीर्घकालीन समाधानका उपाय पनि अवलम्बन गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्त कैलाले बताए । ‘अरू संघ संस्थाले पनि सहयोग गर्न चाहना देखाइरहेका छन्,’ उनले भने, ‘पालिकाले पनि कुपोषण अन्त्य गर्नका लागि दीर्घकालीन कार्यक्रमहरू बनाएको छ ।’ मुक्तिकोट गाउँको गरिबी निवारण गर्नका लागि सहयोग गर्न विभिन्न संघसंस्थालाई गाउँपालिकाले सार्वजनिक आह्वानसमेत गरेको छ ।

कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार