एकाबिहानै निद्राबाट झसंगै बिउझिएँ। मैले आफैलाई प्रश्न गरेँ।
‘म कहाँ छु? मेरा गाउँले कहाँ छन्? के गर्दै छन्? मेरो अवस्था कस्तो छ? मेरा गाउँलेको अवस्था कस्तो छ? सङ्घर्ष गरेर शिक्षा हासिल गरेका व्यक्तिले समुदायमा के परिवर्तन गरे त? केही पैसा कमाएका र जमाएका व्यक्तिले के-कति सहयोग गरे त? विद्यालयमा पढिरहेका बालबालिकाले भविष्यमा के गर्लान् त?’
यस्ता यावत प्रश्नले मेरो मनमा खुलदुली लाग्यो। एकाबिहानै उब्जिएका प्रश्नको जवाफ खाज्दै गर्दा आँखाको डिलमा आँसु पुगेको पत्तै पाइनँ।
मैले डराएजस्तो गरेर श्वास फेरेको सुनेपछि मसँगै सुत्नु भएका दाजु बिउँझिएर भन्नुभयो, ‘के भयो भाइ?’
मैले केही शब्द नबोलेपछि आँखा खोलेर हेर्नुभयो। मेरा आँखाका डिलमा झर्नै लागेका आँसु र म टोलाइरहेको देखेपछि फेरि भन्नुभयो, ‘तँलाई के भयो? एकाबिहानै चिन्तामा छस् त?’
मैले लामो श्वास फेर्दै भनेँ, ‘हाम्रो समाज कहिले परिवर्तन होला है? हामी सबैले आफ्नो लागि मात्र बोल्यौँ भने निमुखा, गरिब जनताका लागि कसले बोलिदिन्छ होला?’
दाजुले मेरो मुखबाट यी र यस्ता शब्द सुनेपछि भन्नुभयो, ‘हुन त हो तर हाम्रो कुरा सुनिदिने कोही छैन। सबै आफ्नो स्वार्थका लागि मात्र बोल्छन्। न त आफै समाजका लागि बोल्छन् न त अरुलाई नै बोल्न दिन्छन्।’
म केही समयअगाडि घर गएको थिएँ, २०२५ सालमा बा पढेको श्री भवानी माध्यामिक विद्यालयमा। दाजु र दिदी पनि त्यही विद्यायमा पढ्नु भयो। म चार वर्षको हुँदा मलाई दाजुले मेरो हात समातेर विद्यालय लिनु हुन्थ्यो। निमावि नभएकाले दाजु र दाजुका साथीहरू कक्षा ५ सम्म पढेर दुई घण्टाको उकालो बाटोमा पैदल हिँडेपछि पुगिने धिम गाउँमा रहेको बडिमालिका माविमा जानुभयो। म र मसँगै पढ्ने साथीहरू भाग्यमानी रहेछौँ र पो आफ्नै गाउँको विद्यालयमा कक्षा ८ सम्म पढ्न पायौँ।
निमावि चलाउन निजी स्रोतबाट चार जना शिक्षक पाल्न गाउँलेलाई धौँ-धौँ भएर निमाविमा नै सीमित रह्यो। हामी पनि ८ कक्षा पास गरेर बडिमालिमा माविमा नै गयौँ। एसइई दिएर सँगै पढेका साथीहरू उच्च शिक्षका लागि बाहिरिए र म पनि बाहिरिएँ।
स्थानीय सरकारको सहयोग र समन्वयमा माविसम्म सञ्चालन गरेकाले अहिले छिमेकी भाइ बहिनीहरू कक्षा १० सम्म गाउँकै विद्यालयमा पढ्न पाएका रहेछन्। नजिकैको भाइ चरित्र पाण्डे र बैनी अनिता पाण्डे दुवैले मलाई भने, ‘दाइ, आज हामीलाई पढाउन आउनु होला नि।’
मेरो खासै घरमा काम नभएकाले म, दाजु प्रशान्त पाण्डे र भतिज जनक पाण्डे हामी विद्यालयमा विद्यार्थीलाई पढाउन पुग्यौँ। प्रधानाध्यापकलाई सोधेर जुन कक्षामा शिक्षक छैनन् त्यही कक्षामा गएर पढायौँ। यसरी खाली भएको बेला हामी विद्यालयमा पढाउन जान्थ्यौँ। हामी तीनै जनाको मनमा एउटै प्रश्न उब्जियो।
प्रशान्त दाजुले भन्नुभयो, ‘विद्यार्थीको अवस्था साह्रै नाजुक छ। यसरी हाम्रा भाइबहिनीले कसरी प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न सक्लान्? भोलि यिनीहरूले पनि हाम्रा दाजुभाइजस्तै गरेर विदेशको खाडीमा जानुपर्ने अवस्था आउन सक्छ।
हामी तीनै जना गएर यो कुरा प्रधानाध्यापकसँग राख्यौँ। उहाँले भन्नुभयो, ‘विद्यालयको अवस्था र विद्यार्थीको अवस्था जीर्ण थियो। पहिलेभन्दा धेरै कुरा सुधारेका छौँ, अझै हामी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन म, अरु शिक्षक र शिक्षिका सधैँ तयार हुनेछौँ।’
हामी बाटोमा कुरा गर्दै आयौँ। ‘जब विद्यार्थीले राम्रो शिक्षा पाउँदैनन् भने विद्यालयमा बनेका ठूला-ठूला बिल्डिङको के अर्थ? हाम्रो मनसाय विद्यालयमा ठूला भवन बनाउनु हुँदैन भन्ने होइन तर भवन मात्र भएर पनि त हुँदैन नि। न त बनेका भवन विद्यार्थी बस्न लायकका छन् न त विद्यार्थीले सोचेजस्तो शिक्षा पाएका छन्।
अब स्थानीय सरकारले हाम्रा बालबालिकाहरूका लागि शिक्षामा सुधार ल्याउन केही नीति तर्जुमा गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सक्ने शिक्षकको नियुक्तिदेखि लिएर कक्षा १ देखि ५ सम्म नेपाली र अंग्रेजी भाषामा पठनपाठन सञ्चालनका लागि पहल गरी विद्यार्थीलाई भविष्यमा सहज हुने वातावरण बनाइदिए हुन्थ्यो।
कम्प्युटर ल्याब र शिक्षकको व्यवस्था गरी विद्यार्थीलाई कम्प्युटर सिक्ने वातावरण मिलाइदिए हुन्थ्यो। सरकारी विद्यालयको व्यवस्था गरी पैसा भएकाले आफ्ना बालबालिका प्राइभेट स्कुलमा चिटिक्क बनाएर पठाएका छन् भने पैसा नहुनेका छोराछोरी सरकारी विद्यालयमा कमिजको गाठो पारी दिनभरि माटोमा खेलिरहेका छन्।’
यसरी मैले सबै कुरा गरिसकेपछि दाजुले फेरि भन्नुभयो, ‘एउटा कुरा नि भाइ, भर्खरै हिजो मैले हाम्रो विद्यालयको न्युज देखेको थिएँ। तैँले पढिस्?’
‘हो, दाजु मैले पनि पढेको थिएँ। यसरी शिक्षकहरू यतिलामो समयसम्म बिदामा बस्ने हो भने हाम्रा भाइबहिनीको अवस्था कस्तो होला? यति कमजोर पढाइले भोलि कसरी प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न सक्लान्। सोचेजस्तो विषय लिएर पढ्न पनि सकिँदैन। यदि लिई हाले पनि राम्रो अंक ल्याउन नि सकिँदैन।’
यति कुरा गरेपछि दाजु खाना खाएर अफिसमा जानुभयो। मेरो मनले अझै शान्ति पाएन, गाउँका अग्रज आफ्नै तालमा छन्। सबै स्वार्थका लागि मात्र बोल्छन्। बोल्न सक्ने र गर्न सक्ने सबै व्यक्तिगत फाइदा लागि बोले भने गरिब र निमुखाको अवस्था कस्तो होला? ती निमुखा र गरिब व्यक्तिका बालबालिकाको भविष्य कस्तो होला?
स्थानीय सरकारले यो विषयप्रति चासो नराखे कसले राखिदेला? केही जानेका, बुझेका र उच्च शिक्षा हासिल गरेका युवाले समाज परिवर्तनका लागि सही बाटो देखाउँदैनन् भने कसले देखाइदेला? यी विद्यार्थीका लागि कसले बोलिदेला? कहिले गरिबका बालबालिकाले गुणस्तरीय शिक्षा पाएर समाज परिवर्तन गर्लान्।
फेसबुक प्रतिक्रियाहरु