होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बर्सातका बेला खाद्य संकट हुने सुदूर पहाडका लागि यस वर्षको तयारी के छ ?
समाचार

बर्सातका बेला खाद्य संकट हुने सुदूर पहाडका लागि यस वर्षको तयारी के छ ?

  • नागरिक रैबार
बर्सातका बेला खाद्य संकट हुने सुदूर पहाडका लागि यस वर्षको तयारी के छ ?

धनगढीः बर्सातको बेला खाद्यसंकट हुने सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लामा सडक बन्द हुने समस्या छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले वर्षा सुरु हुनअगावै ती क्षेत्रमा खाद्यान्न ढुवानी गरिसक्नुपर्ने बाध्यता छ। तर, बर्खाका लागि पठाइने खाद्यान्न भण्डारण गर्ने समस्या भने कायमै छ।

साउनदेखि असोजसम्म खाद्यसंकट हुने क्षेत्रमा खाद्यान्नको माग हुन्छ। तर, बर्खा लाग्नुअघि ढुवानी गरेको खाद्यान्न भण्डारण गरेर राख्ने गोदामघर भने छैन। बाजुराको कोल्टी र दार्चुलाको खण्डेश्वरी डिपोमा गोदाम भएपनि बाँकी स्थानमा भने ढुवानीकर्ताले नैं बिक्री गरेर फर्कनुपर्ने अवस्था छ।

बर्खामा आवश्यक पर्ने खाद्यान्न धनगढीले अहिलेसम्म पठाउन नसकेको खाद्य डिपो बाजुराका प्रमुख मेघराज ओझाको गुनासो छ। ‘धनगढीले अहिलेसम्म आवश्यक खाद्यान्न ढुवानी गरेको छैन, बर्खा सुरु भइसक्दा पनि खाद्यान्न ढुवानी नहुँदा यस वर्ष पनि खाद्य संकट दोहोरिने देखिन्छ’ उनले भने।

विज्ञापन

खाद्य संकट हुने क्षेत्रमा सरकारको खाद्य व्यापार कम्पनीको प्रादेशिक कार्यालयले वार्षिक कोटा निर्धारण गरेर अनुदानमा खाद्यान्न ढुवानीको व्यवस्था गर्दै आएको छ। चालु आर्थिक वर्षको दुर्गम पहाडी जिल्लाको कोटाको चामल लगभग ढुवानी भइसकेको कम्पनीको दाबी छ। बाजुराको सदरमुकाम मार्तडीका लागि छुट्याएको कोटाको ५ हजार क्विन्टल चामलमध्ये साढे ४ हजार क्विन्टल ढुवानी भइसकेको छ। बाजुराकै कोल्टीका लागि छुट्याएको ६ हजार ५ सय कोटामध्ये ५ हजार र कबाडीका लागि १ हजार ५ सय कोटा छुट्याएकोमा ५ सय क्विन्टल ढुवानी भइसकेको छ।

खाद्य डिपो अछामका प्रमुख हिरामनी जोशीले धनगढीबाट अछामका लागि आवश्यक खाद्यान्न ढुवानी भइसकेको बताए। ‘अछाममा गत वर्ष पनि खाद्य संकट भएको थिएन, यस वर्षपनि समयमै चामल ढुवानी भइसकेकाले बर्खामा खाद्यन्नको समस्या हुँदैन’ उनले भने।

बझाङको चैनपुरमा ३ सय ७० क्विन्टल चामल मात्रै ढुवानी भएको छ। खाद्यको चामल बिक्री कम भएकाले ढुवानी नभएको दाबी धनगढीको छ। बझाङकै बिसौनामा ५ सय क्विण्टल ढुवानी भएको छ। तलकोटमा भने चामल बिक्री नभएकाले ढुवानी गरिएको छैन।

उता दार्चुलाको खण्डेश्वरीमा २ हजार ७ सय बढी क्विन्टल, पारिबगरका लागि १ सय ४० क्विन्टल, सुनसेराका लागि १ हजार क्विन्टल, राप्लाका लागि ९ सय ७२ क्विन्टल, छाङरुका लागि यस वर्ष ७ सय क्विन्टल कोटाको चामल छुट्टाइएकोमा २ सय क्विन्टल मात्र ढुवानी भएको छ।

बैतडीको मेलौलीमा भने ढुवानी भएकै छैन। कुलाउमा पनि १ हजार ८ सय २६ क्विन्टल ढुवानी भएको छ भने अछामको कमल बजार र बिनायकमा ढुवानी टेन्डर नै नपरेकोले कोटाको १ हजार क्विन्टल चामल ढुवानी हुन सकेको छैन।

चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको कोटाअनुसार चामल ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका सूचना अधिकारी जगतबहादुर कुँवरले बताए। ‘खाद्य संकट हुने धेरैजसो क्षेत्रमा खाद्यन्न ढुवानी भइसकेको छ, केही स्थानमा ढुवानी भइरहेको छ’ उनले भने।

तर व्यापारीको चामल भन्दा खाद्यको अनुदान ढुवानी महँगो भएपछि बिक्री नहुने भन्दै ठेकेदार कम्पनीले अघिकांश क्षेत्रमा चामल उठाएको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार