होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
समाचार

प्रेमको ध्वनि

  • नागरिक रैबार
प्रेमको ध्वनि

पुल तरेर पारि पुगेपछि अकस्मात पानी पर्‍यो । यो पानीलाई यतिबेला नै किन पर्न परेको होला ? गर्मी थियो, त्यसैले पर्‍यो । पर्नु उसको धर्म हो, भिज्नु हाम्रो बाध्यता । छाता थिएन, त्यो हाम्रो कमजोरी थियो । तर हिँड्दा आकाशमा हेरेकै हो । खाली थियो आकाश, थिएन कतै उडन्ते भुवा । म भिजें, उनी भिजिन्, बाटो भिज्यो, घासहरु भिजे, बाटो चिप्लो भयो । जस्तो रुँदा आँखाको कोष भिज्छ लपक्कै, आँखा रुँदा गालाको भिर भिजे जस्तै भिजिरहृयो त्यो पहाड । ओत लाग्ने स्थान थिएन । म पछि छु, उनी अघि छिन् । पहाडि बाटो, रातो माटो छ । बाक्लो हाँगाबिगा भएको एउटा रुख आयो, एक झर पानी ओत्ने । उनको लुगा निथ्रुक्क भिजेको थियो । कपालबाट पानी तर्किरहेको थियो । जिउमा लुगा टासिँदा अत्यन्तै राम्री देखिन्थिन् । एउटा अर्कै सुन्दरता थियो उनमा । कस्तो गुलाबी मुहार, पानी पर्दा भिजेर उठेको त्यस्को इन्द्रेणी, सर्वाङ्ग भिजेकी उनी र उनको अर्ध चन्द्राकार निधार । उनको सर्वाङ्गमा एउटा माद थियो ।

कस्तो वैशाखी आँखा । पानीले भिज्दा अलिकति उठेको उन्को वक्षस्थलले अर्कै झन्झनाहट पैदा गथ्र्याे । अर्कै इन्द्रेणी, अर्कै उभारले सधैं भिजिरहन मन लाग्यो । पानी बौलाहा हो, म पनि बौलाहा हुँ । यो सारा उत्ताउलो उभार, उत्ताउलो जगत । यसरी पहिलोचोटि भिज्दै छु म प्रकृतिसँग । अलिकति बाटो लम्बिदिए हुन्थ्यो । अलिकति समय लम्बिदिए हुन्थ्यो । सारा कम्पनले यो खुसीको चपल दहमा पौडिन मन लाग्यो । धोइएको शरीरबाट प्राकृतिक अत्तर मगमगाइ रहेको छ । छोऊँछोऊँ लाग्यो, बोलाउन मन लाग्यो । पानीको सरसराहटले म बोलेको उनी सुन्दिनन् । कानैमा गएर तातो सास ˆयाँक्दै भनें-

“ओत लागौन है ! “

विज्ञापन

उनी रोकिइन्, मलाई हेरिन् र मुस्कुराइन् । रुख नजिकै पुग्यौं, पानी झन बढ्न थाल्यो । बादल उँडिरहेको आकाश, कुहिरोले छोपेको पहाड । अलिकति पर पनि केही देखिँदैन । चकमन्न छ, एकान्त छ । यो निकटता पनि किन यति मीठो ! सिर्सिर बतास छल्केको छ उनको कपालबाट । उनी चिसो अनुभूत गरिरहेकी थिइन् । त्यो कालो केशराशी हावाले उडाएर बिगारिदेओस् भन्ने चाहन्थें म । अहिले त पानीले भिज्यो, पानीको छिटाले भिजाएको त्यो दिव्य मुहारमा मेरो खुसीको मखमली छल्केको छ । हावाको बेगसँगै पानी दर्किरहेको छ । छड्के पानीको धारले रेटेको छ उनको छिनेको कम्मरलाई । सलक्क परेको रुखको फेद, त्यही फेदको फेरोलाई च्याप्प समातेर उभिरहेका हामी दुई । निरन्तर हावाको झोक्काले छोइरहृयो उनलाई । पातलो हावा तर चिसो, पानीको कण मिसिएको । जहाँ छुन्थ्यो हावाले म त्यतै हेरिरहन्थें । मलाई हावाको छुवाइ देखेर ईर्ष्या लाग्न थाल्यो ।

मलाई छलेर उनलाई छुने त्यो बतास । अहँ ! मलाई मन परेन । तर बेलाबेलामा त्यो प्रवेगले सलक्क अगाडि आएको कपाललाई पछाडि धकेलिदिन्थ्यो । खोई किन पो हो मलाई यो दृश्यले निकै रोमाञ्चक बनाउँथ्यो । निधारबाट ओठ हुँदै चिउँडोबाट तप्किरहेको पानी हेर्दै छु । कस्तो आनन्दको त्यो मुहार । त्यसमाथि पनि मलाई हेरेर मुस्काएको त्यो कम्पित आँखा ।

गाजलको धार बगेर तप्केको पानी अञ्जुलिमा थापें । हामी सँगै छौं, छोइएको छौं । पानीको पातलो धर्सा बगिरहेको छ, हाम्रो छुवाइ बीचबाट । पारि शिव मन्दिर छेउमा इन्द्रेणी पर्‍यो । आउने जाने कोही छैन, बाटो एक्लै छ । यो विराट पृथ्वीमा हामी एक्लै एक्लै छौं । आहा ! यो हामी भित्रको एकै किरण, एकै उज्यालो ।

अगाडि देखिएको पुल एक्लै छ । सँगैसँगै उभिएका रुखहरु साक्षी छन् । हामीले छोएको यो रुखलाई अरू रुखहरूले हेरिरहे जस्तो लाग्यो । एउटा पुरुष मनको अगाडि उभिएकी स्त्री स्वरूप । अलिकति लज्जा, अलिकति संकोच, अलिकति डर, अलिकति सन्देह, अलिकति माया र अलिकति काउकुती सबै मिसिएको । पानी झन् झन् बर्सिदिए हुन्थ्यो भनेर सोचेँ । भुइँ कुहिरो अझै बाक्लो गरेर लागिदिए हुन्थ्यो भन्ने सोचेँ । समय अझै लम्बिदिए हुन्थ्यो भनेर सोचेँ । मनभित्र सोचाइको नदी उर्लिन थाल्यो । यो एकान्त कति प्यारो । यो घनघोर वर्षा कति मीठो । उनको यो सामिप्यता कति मीठो । त्यो छल्केर चिसो बोक्दै डुलिरहेको हावा कति प्यारो । प्यारो मान्छेसँग उभिँदा, सँगै उभिएको त्यो पहाड अझै कति मायालु ।

पानी थामिएन, नथामियोस् पनि । भुइँ कुहिरो हटेन, नहटोस् यो पनि । हामीलाई कसैले नदेखून् । हामी कसैलाई नभेटूँ । यो समय किन यति धेरै प्रीतकर लागेको ? पानीले गाएको गीत किन यति प्रीतकर ? निथ्रुक्क छिन् उनी । लाली पखालिएको पानी चुहिनु अनौंठो त के हो र ? गाजल पखालिएको पानी आँखा भएर बगिदिनु त के हो र ? तर ती सबै दृश्यले अकिन्चन आक्रमण गरिरहृयो मलाई । आँखा पखालिएको पानी । आँखाको नानी छोएर बगेको बतास । त्यही रोकिदिउ“m कि जस्तो लाग्यो । नजिकै छौं, यति नजिक कि हामीले फेरेको सास पनि सुन्छौं एक अर्काको । धड्कन धेरै बढेको सुनें उनको । सँगै छौं हामी । सपक्कै टाँसिएर पानी छल्दै उभिएको रुखको फेदमा ।

अलिकति माद लागे जस्तो, धेरै त मायाको नशा लागेजस्तो । मुहारको दिप्ती यति बलिरहृयो कि वरिपरि नै बले जस्तो । नजरबाट बिस्तारै उठेर आयो एउटा अनमोल उभार । त्यो चकमन्नमा एक्कासी बोलेछु-

‘मैले मागेको दिन्छ्यौ ?’

प्रश्न नसकिँदै मौन स्वीकृति आयो । म खुसी भएँ । शायद यति धेरै खुसी पहिलोचोटि हुँदैछु । मुटुको धड्कन बढ्यो । सास फुलेर आयो, मानौं प्रभातको कलिलो घामले फूललाई छोइरहेछ । भुइँमा कुहिरो डम्म लागेको थियो । रुखको हाँगाबाट तप्केको पानी हामी दुवैको ओठमा परिरहेको थियो । एकछिन त केही सुनिएन, शून्य जस्तो । काहीँ कतै केही देखिएन । हाम्रो शरीरलाई छोप्न भुइँ कुहिरोले सघायो । वरिपरि उठेर हेरिरहेका घाँसका मुनाहरु पनि आफैं लजाए । त्यो निलो गुलाफी बैंस जगमगायो ।

एकान्त पनि यति पि्रय लागेको यो पहिलोचोटि हो । उनको आँखाको भृकुटीबाट एउटा उज्यालो छाया मैतिर विस्फारित भयो । रुखबाट एक जोडी चरी पारि भुरुरु उडेर गए । भुइँ कुहिरो बिस्तारै हट्न थाल्यो । पारि शिवालय मन्दिर अलिकति देखिन थाल्यो । पानी थामियो । पारि मन्दिरमा बजेको घण्टीको प्रध्वनिले कानमा एउटा अर्कै प्रमोदिता लहराउन थाल्यो ।

असरल्ल परेको कपाल मिलाउँदै कम्पित स्वरले बोल्छिन उनी –

‘पानी त थामियो नि अब जाने होइन ?’

उनको केहीबेर अघिको बोली र अहिलेको बोलीमा फरक । पहिलेको बोली प्यास मिसिएको थियो । अहिलेको बोली तृप्तिको छ । अहिलेको आवाजमा मधुरता मिसिएको छ । अहिलेको कम्पनमा माया मिसिएको छ । पहिलेको ध्वनिमा चाह मिसिएको छ । अहिलेको ध्वनि प्राप्तिको ध्वनि हो । गुलाफ भिजे जस्तै त्यो मुहारको दिव्य दर्शन पाउँदा आज कति खुसी भएँ म । कस्तो यो तृप्तिको झंकार । सरदको तारबाट बजिरहेको सुखद् आलाप जस्तै । शरीरभरि भरिएको आनन्द बिसाएर शान्त निर्मल आकाश जस्तै स्वच्छ सानन्द भएँ म । अघिअघिको तातो सबै निखि्रएर एउटा प्रशान्त उज्यालो तर्फ लम्कियौं हामी । भुईं कुहिरो हट्यो, बल्ल देखिए घरहरू । पृथ्वीबाट न्यानो बाफ माथिमाथि निलो आकाशतर्फ उठिरहेको थियो ।
अस्तु !!!

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार