८ मार्च भर्खरै सकियो । यो दिन आउनुअघि नै हामीले आ–आफ्ना संस्थाका कार्यक्रम–योजना सुनायौँ । सबैले आ–आफ्ना ठाउँबाट उपस्थितिका लागि अनुरोध गर्ने भनियो । तर, कार्यक्रमको अन्तिम दिन अर्थात् ८ मार्चकै दिन समयमा कोही आइपुगेनन् । बिस्तारै केही नारीहरू आउन थाले । किन ढिलो ? कसैले भने– खाना बनाउँदा बनाउँदै ढिला भयो । कसैले भने– दुई बाटा लुगा धुनु थियो त्यो सक्दा ढिला भयो । कोही भन्दै थिए– उहाँ हिजो कार्यक्रमबाट ढिला आइस्या थियो, बिहान चिया खुवाएर निस्कुँला भनेको उहाँ उठ्नै ढिलो भो । कोही त भन्दै थिए– आज पूजा पनि गर्न पाइएन । समस्याका आ–आफ्नै पहाड थिए ।
नारीका कार्यक्रममा कैयौं नारी छुटे । कारण एउटै– घरधन्दा । ब्यानरमा लेखिएको थियो– नारी मुक्तिका कुराहरू, तर त्यही ब्यानरलाई कुनै घरको झ्यालबाट हेरेर कुनै घरकी नारी लजाइरहेकी थिइन् । बजार परिक्रमा गरियो । भाषण गरियो, तर असाध्यै छिटो । केही छोराछोरी स्कुल पठाउन घरतिर दौडिए । कसैलाई खाना बनाउनु थियो, श्रीमान् अफिस पठाउन । नारी दिवसका दिन सबै नारीलाई घरकै कामको चटारो थियो ।
कार्यक्रममा उपस्थित नारीहरूलाई घरबाट बारम्बार फोन आइरहेको थियो । श्रीमान्को फोन रिसिभ गर्दै नारीहरू भनिरहेका थिए, ‘स्वतन्त्रता जिन्दावाद !’ श्रीमान्हरू सोधिरहेका थिए, ‘कहाँ छ मेरो मोजा ? छोरीको स्कुलको टाई भेट्टाइएन ! छोराको खाजाको व्यवस्था के गर्ने ? बिहानै लखरलखर नारी दिवस भनेर हिँडेको छ, ९ बज्न लागिसक्यो, अब फर्कने होइन ? नगई नहुने के रहेछ त्यो नारी दिवसमा ? म आउन भ्याउँदिनँ भनिदिएको भए पनि हुन्थ्यो नि !’ श्रीमान्हरू, सासूससुराहरू नारीहरूलाई हप्काइरहेका थिए ।
…
म आफूलाई खुब स्वतन्त्र छु भन्छु, तर जब बिहानै कतै कार्यक्रम वा मिटिङ पर्छ, मैले केही प्रश्न सामना गर्नुपर्छ– बिहानै किन राखेको ? दिउसो राखेको हो भने के जान्थ्यो ! श्रीमान्लाई भान्छा छिर्नै मन पर्दैन । पानी तताएर खाने सामर्थ्य छैन । चियाका लागि घण्टौं कुरेर बस्न सक्छन् वा कुनै पसलमा गएर चिया पिउन सक्छन्, तर भान्छामा पसेर चिया पकाउँदा उनीहरूको इज्जत जान्छ । तपाईंहरूलाई यस्तो दृश्य याद छ ? श्रीमान्ले उम्लन लागेको दूध हेरिरहेका छन् र कोही साथीले बोलायो, उनीहरू ग्यास अफ गरेर सीधै साथी भेट्न पुग्छन् । आज पनि गाउँघरतिर यस्ता पुरुष छन्, जो दूध बजारसम्म पुर्याउँछन् । चियापसलमा जमघट गर्छन् र देश बनाउने कुरा गर्छन् । गाउँ–सहरको खबर सुनाएरै दिन बिताउँछन् । चौतारोमा उभिएर धेरै विषय ‘जानेर’ घर फिर्छन् । आमाहरू आज पनि घरको चौघेरा नाघेर बाहिर निस्कन सकेका छैनन् । कोही साथीसँग अलि समय गफ गर्यो भने लोग्नेहरू सोध्छन्, ‘कोसँग नारिएर गफ गरिरहेकी ?’ टीभी हेरे पनि प्रश्न आउँछ, ‘कति टीभी मात्रै हेरेको ? टिलिसिरियलले यसको जिन्दगी सिध्याउने भयो !’ प्रश्नहरूकै दुनियाँमा आज पनि नारीहरू घुमिरहेकै छन् । घरव्यवहारमा जोतिइरहेकै छन् ।
भन्न महिलालाई पृथ्वी भनिन्छ । तर, आमाहरूका दुःख फेरिएन । ऋग्वेद भन्छ, ‘बुद्धि छोटो हुने भएकाले स्त्रीको मनमाथि अधिकार जमाउन असम्भव छ ।’ यही पाठ हामीले पुस्तौंदेखि घोक्यौं । महिलाहरू जीवनसाथीभन्दा पनि यौनदासी वा सेविकाका हैसियतमा छन् उहिलेदेखि अहिलेसम्मै । छोराछोरीको हेरचाह अनि घरव्यवहारमै बित्छ अधिकांश महिलाको जीवन । समाजमा जर्बजस्ती जमेर बसेको बुझाइ छ, ‘महिला सहनशील हुन्छन्, शारीरिक रूपमा कमजोर हुन्छन्, घरभित्रै केन्द्रित हुनुपर्छ ।’ यो धारणामाथि सबैले धारे हात लाउन अब ढिलो भइसकेको छ । महिलालाई पितृसत्ताभित्रै बन्धकी बनाइराख्नु नै हामी सधैं पछि पर्नुको खास कारण हो भन्ने नबुझुन्जेल समाज कसरी विकास हुन्छ ?
फेसबुक प्रतिक्रियाहरु