बीजगणितमा सूत्र हुन्थे
तिनै सूत्रले आफ्ना समस्या समाधान गर्थे
जिन्दगीका समस्या समाधान गर्ने
कुनै सूत्र भेटिएन
ज्यामितिका तथ्यहरुले
साध्य प्रमाणित गरे जस्तै गरी
सुखको आधार यही हो भनेर
प्रमाणित गर्न पनि सकिएन ।
न त डिफ्रेन्सियल जोमेट्रीले झैं
झुकाव निकाल्न सकियो
दुःखले जिन्दगीसँग
कति डिग्रीको कोण बनाएको छ भनेर
न त इन्ट्रिगल क्याल्कुलसले जस्तै
नाप्न सकियो
दुःख बढ्दा कति गुणले तनाव बढ्छ भनेर ।
प्रोजेक्टिभ जोमेट्रीले त सानो आकृतिलाई
पर्दामा ठूलो बनाएर देखाउँथ्यो
तर साना साना सुखलाई
जीवनको पर्दामा
ठूलो बनाएर देखाउन नसकिने रहेछ ।
भेक्टरले दिशा देखाए झैं
जीवनको गन्तव्यको दिशा
कहाँ सजिलै भेटिने रहेछ र
सेटमा त ए का सदस्य हुन्थे
बी का सदस्य हुन्थे
दुवैका साझा हुन्थे
दुवैमा नपर्ने पनि हुन्थे
युनिभर्सल सेटले सबैलाई मिलाएर राख्थ्यो
दुःख, कष्ट, रोग, समस्या, तनाव
सबैलाई एकैसाथ मिलाएर राख्न
सारै कठिन हुने रहेछ ।
त्रिकोणमितिमा आधार र कर्ण मिलेर
उचाइ निकाल्थे
टेक्ने बलियो आधार नभेटाएपछि
जिन्दगीले उचाइ लिन नसक्ने रहेछ
सिक्काका दुई पाटा हुन्थे
गाई कि त्रिशूल गर्दा
कि त गाई कि त त्रिशूल पल्टिन्थ्यो
जिन्दगीका त कैयौं पाटाहरु हुने रहेछन्
खोइ कसरी गरौ गाई कि त्रिशूल
कसरी निकालौं सम्भाव्यता जिन्दगीको ।।
फेसबुक प्रतिक्रियाहरु