होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना सङ्क्रमण बढ्यो, परीक्षण बढेन
समाचार

कोरोना सङ्क्रमण बढ्यो, परीक्षण बढेन

दुई हप्तापछि सङ्क्रमण उच्च विन्दुमा पुग्ने

  • नागरिक रैबार
कोरोना सङ्क्रमण बढ्यो, परीक्षण बढेन

नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा घुमिरहेको छ ।

दैनिक सङ्क्रमितको दर बढे पनि सोहीरुपमा नमुना परीक्षण दरलाई सरकारले अगाडि बढाउन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ । पछिल्ला २३ दिनको परीक्षण दरलाई केलाउँदा परीक्षण दर बढेको दिन सङ्क्रमितको सङ्ख्या बढेको र परीक्षण दर घटेको दिन सङ्क्रमितको सङ्ख्या पनि घटेको देखाउँछ ।

गएको एकसाताको अवधिमा साउन २० गते सबैभन्दा धेरै ६ हजार ४९१ नमुना परीक्षण गर्दा ९१२ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै, साउन २२ गते ३ हजार ७८९ नमुना परीक्षण गर्दा ५५३ सङ्क्रमण पुष्टि भएको छ ।

विज्ञापन

गत साउन १७ गते ५ हजार ४१५ नमुना परीक्षण भएको थियो भने साउन १८ गते ६ हजार २ नमुना परीक्षण गरिएको थियो । क्रमशः १९ गते ५ हजार ९२६, २० गते ६ हजार ४९१, २१ गते ४ हजार ६८२ नमुना परीक्षण गरिएको थियो ।

परीक्षणको दायरालाई बढाउन जनस्वास्थ्य विज्ञहरुले निरन्तर सुझाव दिँदै आएपनि सरकारले त्यसलाई बढाउन सकेको छैन । इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डाक्टर खगेश्वर गेलाल पनि सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउन नसकेको स्विकार्छन् । हाल कोरोना सङ्क्रमण पुष्टि हुनेहरु पनि आफै प्रयोगशालामा पुगेकाहरूको दर भएको सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाको भनाई छ । जबसम्म पर्याप्त मात्रामा परीक्षण हुँदैन तबसम्म सङ्क्रमणको वास्तविक दर नदेखिने डा. कोइराला बताउँछन् ।

कोरोना परीक्षणका लागि सरकारसँग पर्याप्त मात्रामा किट भए पनि परीक्षणको दायरालाई बढाउन सकेको छैन । आपूर्ति व्यवस्थापन शाखा प्रमुख डाक्टर सुरेन्द्र चौरसियाका अनुसार हाल सरकारसँग ४ लाख पीसीआर किट बाँकी रहेको छ भने एन्टिजेन किट २ लाख बाँकी छ ।

कोरोना सङ्क्रमण दर बढ्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने दर घट्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार अबको दुई हप्तापछि कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने त्यसपछि क्रमशः कम हुँदै जाने प्रक्षेपण गरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. कोइरालाका अनुसार अहिलेसम्ममा झेलेका तीन वटा लहरलाई हेर्दा नेपाल सानो र भिडभाड हुने स्थान कम भएकाले चारदेखि ६ हप्तामा आफै नै कन्ट्रोल भएर गएको स्थिति देखिएको छ ।

सरकारसँग खोपको स्टक छ कति ?

व्यवस्थापन महाशाखाका अनुसार सरकारसँग ४९ लाख ८९ हजार खोप मौज्दात छ । देशका विभिन्न भण्डार केन्द्रहरू ४९ लाख ८९ हजार मात्रा खोप स्टकमा रहेको व्यवस्थापन शाखाका प्रमुख डा. चौरसियाले बताए । स्टकमा रहेका खोपको ‘एक्सपाइरी डेट’ बारे रिपोर्ट आउने क्रम जारी रहेको उनले बताए । ‘यति मात्रा खोपको म्याद सकिएर प्रयोग गर्न सकिएन भनेर पूर्ण जानकारी आएको छैन,’ उनी भन्छन्, ‘देशभरबाट रिपोर्टिङ हुने क्रम जारी छ ।’

सरकारले खरिद र अनुदान सहयोगमार्फत जोन्सन एण्ड जोन्सन, फाइजर, मोडर्ना, कोभिशिल्ड, भेरोसेल सिनोभ्याक, एष्ट्राजेनिका खोप गरी ५ करोड ८८ लाख ९१ हजार ९७० मात्रा कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप तथा थप बुस्टर डोजको आवश्यकता पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर, गत २४ घण्टामा बुस्टर डोज खोप १० हजार ४७३ जनाले मात्रै लगाएका छन् । हालसम्म बुस्टर डोज ७३ लाख ६२ हजार १६९ जनाले लगाएका छन् ।

नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । जसमा ७४.० प्रतिशत अर्थात् २ करोड १६ लाख १० हजार ६७७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ७०.७ प्रतिशत अर्थात् २ करोड ६ लाख ३६ हजार ८४४ ले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, १२ वर्ष माथिका ९२.६ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

महामारीसँग जुध्नका लागि सरकारको तयारी

सरकारले सरुवा रोगहरूसँग जुध्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १४ वटा सीमानाकाहरुमा कार्यरत जनशक्तिहरूलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनका लागि बजेट छुट्याएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. गेलालले बताए । सीमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूको ज्वरो स्क्रिनिङ तथा कोरोना परीक्षण गरी पोजेटिभ आएको नमुनालाई जिन सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइने उनले बताए ।

समुदाय स्तरमा कोभिड–१९ को अवस्था कस्तो छ भनेर विश्लेषण गरिएको समेत उनले बताए । सबै प्रदेशमा तोकिएका कोभिड–१९ अस्पतालहरूलाई सङ्क्रमित व्यक्तिको व्यवस्थापन गर्न निर्देशन दिइएको उनले बताए । यस्तै, आगामी तीन महिनाको सम्भावित केसको अनुमान गर्नुका साथै त्यसलाई व्यवस्थापन गर्न द्रुत कार्य योजना बनाइ अगाडि बढेको ईडीसीडीले जनाएको छ । कोभिड–१९ बिरामीको प्रारम्भिक अवस्था पत्ता लगाउन सर्भिलेन्स कार्यलाई उच्च सतर्कताका राखिएको डा. गेलालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार