धनगढी: भरखरै धनगढी उपमहानगरपालिकाले प्रथम पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। अहिलेसम्म आवधिक योजना बनाएर धनगढीमा विकास निर्माणका काम नभएकोले अब भने योजनावद्ध विकास गर्न उपमहानगर अग्रसर देखिएको हो।
धनगढीलाई व्यवस्थित सहर बनाउन सहरी पूर्वाधार विज्ञ तथा जनप्रतिनिधि र सर्वसाधारणले विभिन्न सुझाव दिएका छन्। उपमहानगरले विकास निर्माण तथा नीतिगत निर्णय गर्दा कार्यान्वयनको पक्षमा पनि ध्यान दिन सहभागीले जोड दिएका थिए। कार्यक्रममा निर्णयमा गरेर मात्रै नपुग्ने हरेक निर्णय कार्यान्वयन भयो भएन त्यसको अनुगमन गर्ने प्रणाली विकास हुनुपर्ने डाक्टर गणेशबहादुर सिंहले बताएका थिए। ‘उपमहानगरले जसरी निर्णय गर्छ ती सबै निर्णय कार्यान्वयन हुनुपर्यो’ उनले भने, ‘निर्णय मात्रै गर्ने कार्यान्वयन नगर्ने हो भने जति राम्रो निर्णय गरे पनि त्यसको औचित्य नै हुँदैन।’
यस्तै धनगढीलाई व्यवस्थित नगर बनाउन उपमहानगरले फोहरमैला व्यवस्थापन, डुबानको समस्या हल गर्ने, पूर्वाधार वातावरण मैत्री बनाउनुपर्ने कुरामा अर्थशास्त्री शिवहरि शर्मा मुडभरीले जोड दिएका थिए। ‘उपमहानगरपालिकाले हिजोको हिसाबले चल्ने होइन, नयाँ जनप्रतिनिधिले नवीन सोचले काम गर्न सक्नुपर्छ’ उनले भने, ‘उपमहानगरले बनाउने आवधिक योजनामा फोहरमैलाको दीर्घकालीन व्यवस्थापन, पर्यावरणको दीगो संरक्षण र गुणस्तरीय पूर्वाधार निर्माणका ठोस योजना ल्याउन सक्नुपर्छ।’
आवधिक योजनाअनुसार नगरको विकास गर्न उपमहानगर तत्पर हुनु सकारात्मक रहेको कार्याशालामा सहभागी जनप्रतिनिधि र विभिन्न पेशा र क्षेत्रमा आवद्ध व्यक्तिले बताएका छन्। योजनावद्ध विकास गर्न विभिन्न गुरु योजना बनाउने र व्यवहारमा लागू गर्ने काम भए व्यवस्थित नगर बनाउन सकिने पर्यटन व्यवसायी कृष्णबहादुर महराले बताए। ‘योजनावद्ध विकासका लागि आवधिक योजना र गुरुयोजना महत्वपूर्ण हुन्छन्’ उनले भने, ‘तर योजना बन्ने कार्यान्वयन नहुने अवस्था हुनुहुन्न। राम्रो योजना छ भने इमानदारीपूर्वक काम हुने सुनिश्चितता गरे स्रोतको अभाव पनि हुँदैन।’
यस्तै व्यवस्थित नगरका लागि राजनीति इच्छाशक्ति भए सबै समस्या समाधान हुने दाबी पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्यको छ। ‘जनप्रतिनिधिमा राजनीतिक इच्छाशक्ति छ भने योजना कार्यान्वयन गर्न समस्या हुँदैन’ उनले भने, ‘स्रोत अभाव हुन्छ होला भन्ने पनि हुन्न, संघीय र प्रदेश सरकाले बजेट उपलब्ध गराउँछन् तर त्यसका लागि कार्यान्वयनमा स्थानीय तह प्रतिवद्ध हुन जरुरी हुन्छ।’
नागरिकहरूले जनप्रतिनिधिलाई शासन गर्न शक्ति र पैसा दिने भएकोले उपमहानगरपालिकाले नागरिकबाट प्राप्त शक्ति र राजश्वको समुचित प्रयोग गरेर उपमहानगरको सर्वाङ्गीण विकास गर्नुपर्ने धारणा व्यवसायी प्रमोद पाठकले राखेका थिए। ‘हामीले भोट र करमार्फत शक्ति र पुँजीको स्रोत जनप्रतिनिधिलाई दिएका हुन्छौँ’ उनले भने, ‘त्यो शक्ति र स्रोतको उचित प्रयोग हुनैपर्छ।’
धनगढी उपमहानगरपालिकाले भौतिक विकाससँगै, आर्थिक, सामाजिक, वातावरणीय पक्षमा सन्तुलित विकास गर्न आवधिक योजना तर्जुमा गोष्ठीमा सहयोगी हुने सहप्राध्यापक शिवराज जोशीले बताए। ‘योजना छनोट, र कार्यान्वयनका विभिन्न सिद्धान्त र चरण हुन्छन्’ उनले भने, ‘उपमहानगरपालिकाले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर पूर्वाधार विकास र आर्थिक, सामाजिक क्षेत्रमा जनअपेक्षा अनुरुपको काम गर्न सक्नुपर्छ।’
कार्यशालामा नगरप्रमुख गोपाल हमालले उपमहानगरपालिका प्राप्त स्रोत र साधनबाट उच्च प्रतिफल हाँसिल गर्न सबै किसिमका सहयोग, सल्लाह र सुझाव ग्रहण योग्य हुने र उपमहानगरपालिकाको विकास गर्न अहिलेको निर्वाचित जनप्रतिनिधि र उपमहानगरपालिकाको संयन्त्र प्रतिवद्ध रहेको बताए।
फेसबुक प्रतिक्रियाहरु