होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १५ वर्षमा सन्तान, १८ मा ‘डिभोर्स’
समाचार

१५ वर्षमा सन्तान, १८ मा ‘डिभोर्स’

कर्णाली प्रदेशमा गत वर्ष ५२ प्रतिशतले २० वर्षमुनि विवाह गरेको प्रदेश योजना आयोगको तथ्यांक, गत वर्ष झन्डै ६७ हजारको विवाह भएकामा १५ देखि १९ वर्ष उमेर समूहका बालबालिका धेरै

  • नागरिक रैबार
१५ वर्षमा सन्तान, १८ मा ‘डिभोर्स’
 तस्बिर : तुलाराम/कान्तिपुर

सुर्खेत, कालीकोट — कालीकोटको नरहरिनाथ–१ कोटवाडाकी १४ वर्षीया किशोरीले ५ वर्षअघि तिलागुफा–७ छाप्रेका १६ वर्षीय किशोरसित विवाह गरिन् । ७ कक्षा पढ्दै गरेकी उनको विवाहको एक वर्षपछि छोरी जन्माउँदा शल्यक्रिया नै गर्नुपर्‍यो ।

अस्पताल पुर्‍याउन र उपचार गर्न ३५ हजार रुपैयाँ ऋण लाग्यो । त्यही ऋण तिर्न भात खाने एक मात्र खेत बेच्नु परेपछि उनको घरमा कलह सुरु भयो । सासू र ससुराले पनि हेला गर्न थाले ।

आमाबाबुको कुरा सुनेर माया गरेर घरबाटै भगाएर ल्याउने पतिले पनि दिनहुँ कुटपिट गर्न थालेपछि उनी आजित थिइन् । सबैको गाली र कुटपिट सहन नसकेर उनले एक वर्षअघि १९ वर्षको उमेरमा नरहरिनाथ–८ लालुमा दोस्रो विवाह गरिन् । दोस्रो विवाह पनि सफल नभएपछि उनी अहिले माइतीमै छिन् ।

विज्ञापन

‘बालविवाहले मेरो जीवन नै बर्बाद भयो,’ उनले भनिन्, ‘अहिले घर न घाटकी भएँ, पेट दुख्ने बिमारले सताएको छ ।’ उनी अहिले गाउँमा गठन भएको जागृति किशोरी समूहकी सदस्य भएर बालविवाहविरुद्ध अभियानमा सक्रिय छिन् । उनले गाउँकी अन्य दिदीबहिनीलाई परिपक्व नभएरसम्म विवाह नगर्न सल्लाह दिने गर्छिन् ।

खाडाचक्र–२ धैनेडीकी १४ वर्षीया अर्की एक किशोरीले पनि मान्मस्थित पञ्चदेव माविमा ७ कक्षामा पढ्दापढ्दै ३ वर्षअघि भागी विवाह गरिन् । भाउजू नाता पर्ने एक महिलाले ललाइफकाइ गरेर उनकै भाइ नरहरिनाथ–९ का १९ वर्षीय एक युवकसँग भगाइन् । १६ वर्ष लागेपछि छोरी जन्माएकी उनी अहिले १७ पुगिन् ।

अहिले पतिले सौता हालेको गुनासो गर्दै उनी न्याय खोज्दै कालीकोटको सदरमुकाम पुगेकी छन् । उमेर नपुग्दै गर्भवती भएर बच्चा जन्माएकी उनकी छोरी पनि कुपोषित छिन् । ‘मेरो जाने ठाउँ कतै छैन,’ उनले भनिन्, ‘छोरी जन्माएपछि घरबाट निस्की भनेर दिनदिनै सबैले कुटपिट गर्छन् । लोग्नेले अर्की केटी साथमा राखेको छ, अहिले त मलाई घरबाट निकाल्यो ।’ उनको नागरिकता बनेको छैन, छोरीको जन्मदर्ता पनि छैन । यसले कानुनी लडाइँ लड्न पनि समस्या भएको छ ।

पछिल्लो समयमा कर्णालीका ग्रामीण भेगमा अभिभावकको राजीखुसीले सन्तानले बिहे गर्नेभन्दा आफैं भागेर जोडी बाँध्ने बढेका छन् । जिल्ला समन्वय समिति कालीकोटले २ वर्षअघि केही संस्थाको सहयोगमा गरेको सर्वेक्षणअनुसार त्यस वर्ष ९ हजार २ सय जनाको विवाह भएकोमा ६१ प्रतिशतले आफैं भागेर विवाह गरेको तथ्यांक आएको थियो । अध्ययनमा संलग्न अधिकारकर्मी बाले विश्वकर्माका अनुसार नरहरिनाथ, सान्नीत्रिवेणी र रास्कोटमा बालविवाहको जालो डरलाग्दो छ ।

त्यस्तै सहयात्रा परियोजनाले तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका सन् २०२० मा गरेको सर्वेक्षणअनुसार दुई पालिकामा ४ सय ३४ वटा विवाह भएकोमा १ सय ६९ जना २० वर्षमुनिका थिए । तीमध्ये १ सय ५६ केटाकेटीले आफैं भागेर विवाह गरेका हुन् । ‘कानुन छल्न बालबालिकाले आफैंले भागेर विवाह गर्ने चलन बढेको छ,’ विश्वकर्माले भने, ‘यो बालबालिकाको भविष्यका लागि भयानक समस्या हो ।’

अभिभावक र समुदायमा आएको सचेतनाले बाजागाजा बजाएर बालविवाह गर्ने चलन भने घटिरहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘केटाकेटी आफैं भागेर जाँदा हाम्रा प्रयास पनि असफल भएका छन्,’ उनले भने, ‘अटेर गर्ने केहीलाई प्रहरी लगाएर फिर्ता गरे पनि केही दिनपछि फेरि भागेर गइहाल्ने समस्या छ ।’ बालविवाह न्यूनीकरण, महिनावारी व्यवस्थापनलगायत शीर्षकमा कार्यक्रम चलाउन गाउँपालिकाले यो वर्ष १० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

गरिबी, गुणस्तरीय शिक्षाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, प्रभावकारी कानुन कार्यान्वयनको अभावलगायतका कारण बालविवाह बढेको मनोविमर्शकर्ता डिलबहादुर शाहीले बताए । उनका अनुसार कलिलैमा आमा बन्दा आमा र शिशुको मृत्यु, कुपोषण, पाठेघर खस्ने, पढाइमा अवरोध, पारिवारिक बेमेल, सम्बन्धविच्छेदलगायत समस्या देखिएका छन् । बालविवाह रोक्न रणनैतिक योजना बनाएर विद्यालय शिक्षा, किशोर–किशोरीलाई बृहत्तर यौनिक शिक्षालगायत कार्यक्रम सञ्चालन गरिरहेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।

कालीकोटमा दिनहुँ बालविवाहका घटना सार्वजनिक हुन थालेपछि नियन्त्रण गर्न प्रहरी पनि सक्रिय भएको छ । एक वर्षको अवधिमा १ सय ३९ वटा बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । ‘धेरैजसो त बालविवाहका घटना लुकाउनतिर लाग्छन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले भने, ‘तर कानुनले कसैलाई छुट दिँदैन ।’ उनका अनुसार प्रहरीले बालविवाहको असर र कानुनी प्रावधानबारे घरदैलो अभियान जिल्लाभरि सञ्चालन गरिरहेको छ ।

जिल्ला अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये झन्डै ८० प्रतिशत मुद्दा बालविवाह गरेकाका कारण आउने गरेको जिल्ला बारका सचिव अमलराज शाहीले बताए । उनले महिला हिंसाको प्रमुख कारण बालविवाह बनेको बताए । ‘सकेसम्म उजुरी नै गर्न आउँदैनन्,’ उनले भने, ‘आइहाले पनि मिलापत्रैमै टुग्यांउने प्रवृत्ति छ ।’

गत वर्षको जिल्ला अस्पतालको तथ्यांकअनुसार १४/१५ वर्षको उमेरमा विवाह गरी १६/१७ वर्षमै आमा बन्ने किशोरीको संख्या कालीकोटमा करिब ७ सय छ । बालविवाहले पढाइमा पनि असर पारिरहेको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख प्रकाश धितालले बताए । उनका अनुसार आधारभूत र मावि तहको शिक्षामा छोरा र छोरीको संख्यामा त्यति धेरै फरक नभए पनि उच्च शिक्षामा भर्ना हुने केटीको प्रतिशत ३२ मात्र छ ।

कालीकोट मात्र होइन, कर्णालीभरि बालविवाहको जालो डरलाग्दो रूपमा फैलिरहेको छ । कर्णाली प्रदेशमा गत वर्ष ५२ प्रतिशतले २० वर्षमुनि विवाह गरेको प्रदेश योजना आयोगको तथ्यांक छ । आयोगका अनुसार गत वर्ष झन्डै ६७ हजार विवाह भएको थियो । त्यसमध्ये सबैभन्दा बढी १५ देखि १९ वर्ष उमेर समूहका बालबालिकाले कम उमेरमा विवाह गरेका छन् ।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिममा ७१.५ प्रतिशत र सबैभन्दा कम डोल्पामा ४९.९५ प्रतिशतले बालविवाह गरेको आयोगले जनाएको छ । त्यस्तै जुम्लामा ६७, हुम्लामा ५२, मुगुमा ५७, कालीकोटमा ५९, जाजरकोटमा ६५, सुर्खेतमा ६८, सल्यानमा ६९ र दैलेखमा ७० प्रतिशत बालविवाह हुने गरेको सामाजिक विकास मन्त्रालयका बाल अधिकार स्रोतव्यक्ति डम्बरबहादुर रोकायले बताए । कम उमेरमा हुने विवाह रोक्न कार्यक्रम नल्याएको पनि होइन तर निष्प्रभावी देखिएको छ । सबै जिल्लामा प्रदेश र स्थानीय सरकारमार्फत बाल अधिकारविरुद्ध एकीकृत कार्यक्रम सञ्चालनमा छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो वर्ष प्रहरीले कर्णालीभरि ४ सय १७ बालविवाह रोकेको छ । त्यस्तै ३२ जनालाई कानुनी कारबाहीका लागि मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । उनका अनुसार बालविवाहका कारण घरेलु हिंसा, सम्बन्धविच्छेद, यौनहिंसालगायत घटना बढिरहेका छन् । ‘प्रहरी एक्लैले मात्रै बालविवाह नियन्त्रण गर्न सक्दैन,’ उनले भने, ‘यसमा सबै पक्षको हातेमालो जरुरी छ, मातहतका निकायलाई बालविवाहविरुद्धको कारबाही र सचेतनामा गम्भीर हुन निर्देशन दिएको छु ।’

बालविवाहका कारण २० वर्षमुनि नै सुत्केरी हुने क्रम बढिरहेको प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए । उनका अनुसार बालविवाहका कारण २० वर्षमुनि सुत्केरी हुँदा मातृशिशु मृत्युदर घटिरहेको छ भने कुपोषणको समस्या उस्तै छ । ‘पाठेघर, कुपोषणलगायत समस्या त बालविवाहले पारिरहेको छ,’ उनले भने, ‘झन मातृ तथा शिशु मृत्युदरको समस्या कर्णालीमा विकराल छ ।’ सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा यो वर्ष ३३ जना आमा र ६५ जना शिशुको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै