होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ९ प्रतिशत महिलाले मात्रै गराउँछन् सुरक्षित गर्भपतन
समाचार

सुदूरपश्चिमका ९ प्रतिशत महिलाले मात्रै गराउँछन् सुरक्षित गर्भपतन

  • नागरिक रैबार
सुदूरपश्चिमका ९ प्रतिशत महिलाले मात्रै गराउँछन् सुरक्षित गर्भपतन

धनगढी: सुदूरपश्चिममा सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुन सकेको छैन। आधारभूत स्वास्थ्य सेवामा हरेक नागरिकको सहज पहुँच हुनुपर्ने भएपनि सुरक्षित गर्भपतन सेवामा भने सबैको पहुँच पुग्न सकेको छैन। सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन् स्वास्थ्यको दृष्टिकोणबाट महत्वपूर्ण भए पनि सुदूरपश्चिममा भने जनशक्ति अभाव छ। जसकाकारण जथाभावी औंषधि प्रयोगले महिलाको प्रजनन् स्वास्थ्य समस्या बढ्दो छ।

सुदूरपश्चिम प्रदेशमा मातृ मृत्युदर प्रति १० हजारमा २८३ रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क छ। सुदूरपश्चिममा महिलाको कूल प्रजनन् दर २ दशमलव ४ रहेको छ। प्रदेशमा ९ प्रतिशत महिलाले सुरक्षित किसिमले गर्भपतन गराउने सरकारी तथ्याङ्क छ। प्रदेशभर सरकारी, गैरसरकारी र निजी गरी २६६ स्थानमा सुरक्षित गर्भपतन सेवा विस्तार भएको छ। तर अधिकांश अस्पताल र स्वास्थ्य संस्था सहरी क्षेत्र तथा जिल्ला सदरमुकाममा छन्। जसले गर्दा अनिच्छित गर्भ रहन गए ग्रामीण क्षेत्रका महिला गर्भपतन गराउन असुरक्षित विधि अपनाउन बाध्य छन्।

कानुनतः आधाभूत स्वास्थ्य सेवामा सुरक्षित गर्भपतन पनि पर्ने भएकोले प्रदेशभर गर्भपतन सेवाको पहुँच विस्तार गर्ने प्रदेश सरकारले योजना रहेको सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले बताए। ‘सुदूरपश्चिमका सबै जिल्लामा सुरक्षित गर्भपतन सेवामा महिलाको सहज पहुँच विस्तार गर्ने योजना सरकारको छ,’ उनले भने, ‘प्रदेश स्वास्थ्य नीति, ऐन बनाइसकिएको छ। निर्देशिका बनाएर सबै किसिमका आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्न सामाजिक विकास मन्त्रालय काम गरिरहेको छ।’

विज्ञापन

अनिच्छित गर्भ धारण गर्न पुगे २८ हप्ताभित्र गर्भपतन गर्न पाउने कानूनी व्यवस्था छ। सुदूरपश्चिममा हरेक वर्ष अनिच्छित गर्भपतन गराउनेको संख्या बढ्दो छ। आर्थिक वर्ष २०७६÷७७ मा सुदूरपश्चिममा ९ हजार ५४० ले सुरक्षित गर्भपतन गराएका छन्। आर्थिक वर्ष २०७७/७८ मा यो संख्या बढेर १० हजार ७० पुगेको छ। यो वर्ष भने ११ हजार ६५१ महिलाले सुरक्षित गर्भपतन गराएका छन्। तर योभन्दा निकै ठुलो संख्याले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेको स्वास्थ्य अधिकारीले अनुमान गरेका छन्।

अधिकारीले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने जनशक्ति भने प्रदेशभर निकै थोरै रहेको बताएका छन्। सुरक्षित गर्भपतनका लागि औषधि दिनसक्ने १८६ जना स्वास्थ्यकर्मी छन्। यस्तै सामान्य स्वास्थ्य उपकरण प्रयोग गरेर गर्भपतन गराउन सक्ने ४८ जना स्वास्थ्यकर्मी छन्। शल्यक्रिया गरेर गर्भपतन गराउनसक्ने दक्ष जनशक्ति २ जना मात्रै छन्।

वितरणका हिसाबले सबै जिल्लामा तालिम प्राप्त जनशक्ति छैनन्। जनशक्ति थप गरी सुरक्षित गर्भपतन सेवामा पहुँच कायम गर्न सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले काम गरिरहेको प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका निमित्त निर्देशक डाक्टर जगदीश जोशीको दाबी छ। ‘सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले आगामी वर्षबाट सुरक्षित गर्भपतन सेवा सबै जिल्लामा विस्तार गर्ने उद्येश्य राखेको छ,’ उनले भने, ‘स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति उपलब्ध गराउन र कम्तिमा पनि जिल्ला अस्पतालमा विशेषज्ञसहितको सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने योजना छ।’

असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जाने जोखिम हुन्छ। प्रजनन् स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएर आधाभूत स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गर्न सामाजिक विकास मन्त्रालय प्रतिवद्ध रहेको सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैकाले बताए। ‘प्रदेश सरकारले ९ जिल्लामा नै सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने उद्येश्य राखेको छ,’ उनले भने, ‘प्रदेश स्वास्थ्य निर्देशिकामा सबै कुराको सम्बोधन गरिने छ।’

सुरक्षित गर्भपतन सेवाको अभावमा सुदूरपश्चिमका महिलाले असुरक्षित तरिकाले गर्भपतन गराउने औंषधि सेवन गर्ने गरेका छन्। यस्तै तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा जथाभावी गर्भपतन गराउने औंषधिको बिक्री हुने गरेको छ। गर्भपतनको असुरक्षित अभ्यास पनि हुने गरेको छ। जसले गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिकित्सक बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार