होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • महिनावारी अनुभव: अझै पनि चेतना नाइँ सुदूरका गाउँमा
विचार/ब्लग

महिनावारी अनुभव: अझै पनि चेतना नाइँ सुदूरका गाउँमा

  • नागरिक रैबार
महिनावारी अनुभव: अझै पनि चेतना नाइँ सुदूरका गाउँमा

कति चेली बली चढिन् छाउपडीका नाउँमा
अझै पनि चेतना नाइँ सुदूरका गाउँमा

मेरो स्वर रहेको छाउपडी सम्बन्धी देउडा गीतको अंश हो यो। ‘गायिका’को रुपमा परिचय बनाउँदासम्म व्यवसायिक मात्रै होइन, समाजमा रहेका कुप्रथा र अन्धविश्वासका विरुद्ध पनि धेरै गीतमा आवाज दिने अवसर मिलेको छ।

हाम्रो समाजमा रहेको छाउ बार्ने ‘छाउपडी’ प्रथाको भुक्तभोगी भएकाले पनि होला, यससँग सम्बन्धित गीतमा आवाज दिँदा अन्तरहृदयको पीडा पोखेको जस्तो हुन्छ। बेदनाका गीत गाउदा कारुणिक भएपनि स्रोतालाई ‘मीठा’ लाग्छन् होला। तर, छाउपडी प्रथाका विषयमा मैले गाएका हरेक गीत बेदना र पीडाले भरिएका छन्। ती मेरो आवाजमा निस्किएकका सुदूर तथा कर्णालीका धेरै दिदीबहिनाका क्रन्दन हुन्। ती गीतले कहिलेकाहिँ आफ्नै विगततर्फ फर्काउँछन्, र म जन्मेको भूमिका दिदीबहिनीका लागि अहिले पनि यो एक यथार्थ पीडा हो भन्ने सम्झिँदा त मन झन् अमिलो भएर आउँछ।

विज्ञापन

धेरै समयसम्म म आफैं पनि अन्धविश्वासको भूमरीमा थिएँ। छाउ (महिनावारी) भएका बेला देवीदेवताका थानमा गए अनिष्ट हुन्छ भन्ने भयले मेरो मनमा लामो समय डेरा जमायो। तर, अहिले भने त्यसलाई दिमागबाट हटाएकी छु।

स्कूल पढिरहँदासम्म महिनावारी हुँदा अलग बस्ने अर्थात् छाउ बार्ने गरेँ। पुर्ख्यौली घर बाजुराको बुढीगंगा नगरपालिकाको थुमा भए पनि जन्मे हुर्केको ठाउँ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल हो। आमाबुवा रोजगारीका क्रममा बाजुराबाट भारततर्फ जानुभयो। त्यहाँबाट फर्केपछि २०४० सालतिर पहाड नउक्ली कञ्चनपुरतिरै बस्नुभएछ।

ठूलो परिवार, दिदीबहिनीको संख्या पनि धेरै नै। घरमा आमा र दिदीहरु महिनावारी हुँदा सानो ठाउँ अर्थात् घरको एक कुनामा बस्ने गरेको देखेकी थिएँ। त्यतिबेला सबै कुरा सामान्य नै लाग्थ्यो। हजुरआमा, आमा, काकी, भाउजु, दिदीबहिनी सबैजना छाउ (महिनावारी) हुँदा घरको तल्लो कोठाको कुनामा बस्थे। मेरा आमाहरुले छाउपडी प्रथा विरासतका रुपमा बोक्नुभयो। दिदीहरुले भोग्नुभयो। मैले पनि खेपेँ। मेरो समाजमा छाउ बार्नु महिलाले पुस्तौंदेखि पाएको बाध्यात्मक ‘लिगेसी’ थियो, जसलाई त्याग्नु कल्पनाभन्दा पनि बाहिरको कुरा लाग्थ्यो सबैलाई। समाजका अन्य बालिकाजस्तै मलाई पनि लाग्थ्यो, छाउ भयो भने यसरी नै अलग्गै बस्नुपर्छ। कसैलाई छुन पाइँदैन। दूध दही खान/पिउन पाइँदैन।

कक्षा १० सम्मको पढाइ स्थानीय जनसेवा माध्यामिक विद्यालयमा पूरा गरियो। १० कक्षासम्म पुग्दा मेरा सबै स‌ंगीसाथी छाउ भइसकेका थिए। तर म भइनँ। १० कक्षा पूरा हुनै लाग्दासम्म पनि महिनावारी नभएपछि घरपरिवार, छरछिमेक, साथी दौतरी सबैले भन्न थाले- यो छाउ क्यान भइन? त्यसले मेरो दिमाग यस्तो मनोवैज्ञानिक त्रास सिर्जना गर्‍यो कि दुईचारजना कोही भेला भएर कुरा गरेको देख्दा लाग्थ्यो- मेरै कुरा काटिरहेका छन्। म आफैं पनि आत्तिन थालेँ। आफैंसँग पनि प्रश्न गर्थे- म किन छाउ भइनँ?

विद्यार्थीका लागि ‘फलामको गेट’ मानिने एसएलसी दिनुपर्ने वर्ष। भदौको महिना थियो। गौरा पर्व हेर्न भनेर म नजिकैको मेला लाग्ने ठाउँमा गएको थिएँ। शरीरमा पानी बगेको जस्तो महसुस भयो। म झस्किएँ। हतार-हतार घर फर्कें। मनमा अनेकन कुरा खेलाउँदै कतिबेला घर पुगें पत्तो भएन।

घर पुगेपछि शरीरबाट एक्कासी रगत बग्यो। आफू महिनावारी भएको अनुमान लगाएँ। विद्यालय गइनँ। दिदीलाई महिनावारी भएको कुरा बताएँ। अरुहरु महिनावारी हुँदा रुन्थे। उनीहरुलाई डर लाग्थ्यो होला। सुरुमा लाजले लुक्थे होलान्। त्यतिबेला त पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने चलन थियो। म पनि आफैं लुक्न गएँ। लुक्न गएकै ठाउँमा रोएँ।

दिदीले घरपरिवार सबैलाई भनिदिनुभयो, ‘रेखा त बाहिर सरी (महिनावारी भइ)।’ मेरो भने भित्रभित्रै डरले डेरा गरिसकेको थियो। निकै आत्तिन थालेँ। परिवारले ६ दिनसम्म घरभन्दा टाढा बसायो। एसएलसीको वर्ष थियो। त्यसैले विद्यालय भने नियमित गएँ। तर, महिनावारी भएकी छु भनेर स्कूलमा कसैलाई भन्ने अवस्था भने थिए।भनिनँ पनि।

महिनावारी भएर स्कूल जाँदा पनि डराइडराइ बस्नुपर्थ्यो। जसको असर पढाइमा पर्थ्यो। सँगैका केटी साथीहरुले थाहा पाउँदा त केही हुँदैनथ्यो, केटाहरुले थाहा पाउँछन् कि भन्ने भयले हेरक क्षण डरसँगै कट्थ्यो।त्यो समयसम्म हाम्रो घरमा शौचालय थिएन। गाउँमा बिरलै शौचालय हुन्थे। दिसापिसाब गर्न नजिककै खोल्साखोल्सीमा जानुपर्थ्यो। महिनावारीको समयमा खोल्साखोल्सीमा शौच गर्नु निकै गाह्रो हुन्थ्यो। विद्यालयमा छात्र र छात्राको संयुक्त शौचालय थियो। पानी हुँदैनथियो। पिसाबले च्याप्ये पनि सकेजति सहेर बस्नु नै उत्तम विकल्प हुन्थ्यो।

घरभन्दा टाढा, अलग्गै एक्लो बसाइ। त्यसमाथि छाउ भएका बेला घरपरिवारबाट बेहोर्नुपर्ने व्यवहारले चेली भएर जन्मिनु नै दोष हो कि? भन्ने खयाल आउँथ्यो।

खाने भाँडा र लुगाकपडा एउटा मात्रै हुने। त्यहि थाल, त्यहि बटुकामा खाने। पानी राख्ने कसौंडी पनि एउटा मात्रै। घरबाट खाना पुर्‍याउन आउनेहरु माथिबाट खान खसालीदिन्थे। भुइँमा राखेर थापिन्थ्यो। पहिलोपल्ट महिनावारी हुँदा केही पुराना कपडा दिइन्थे। मलाई पनि त्यही दिइयो। भित्र भान्छा कोठामा छिर्न गहुँत खाएर मात्र छिरें।

फेरि एक वर्षसम्म महिनावारी रोकियो। पहिले सवै महिनावारी भइसकेर आफू मात्रै नहुँदा एउटा डर थियो। फेरि एकपटक भएर एक वर्षसम्म नहुँदा अर्को चिन्ताले पिरोल्यो। त्यो डरले पनि लामै समय पछ्यायो। फेरि एक वर्षपछि महिनावारी भएँ। त्यसपछि नियमित हुन थालेँ। केही पुराना कपडा जम्मा गरेर राख्थें। महिनावारी भएको बेला तिनै पुराना कपडालाई ‘प्याड’का रुपमा प्रयोग गर्थें।

स्नातक पढ्दापढ्दै रेडियो कञ्चनपुरमा समाचारवाचकका रुपमा काम गरें। त्यसबेला पनि महिनावारीका बेला ४ दिनसम्म कतै छोइनँ। छोइछिटो नै बारेँ। भान्छा, भगवान र घरका कुलदेवता भएको कतै छुन नमिल्ने भनिन्थ्यो। त्यही गरियो।

गीत गाउन रुचि थियो। विस्तारै गीतसंगीततर्फ आएँ। पश्चिममा प्रचलित देउडा गीत गाउन सुरु गरेपछि भने चेतनाको विकास हुँदै आयो। म पनि छाउपडी बार्ने ठाउँभन्दा केही परसम्म पुगें। नयाँ समाज, फरक प्रचलन देखेपछि विस्तारै मनको डर पनि कमजोर हुँदै गयो।

म सानो हुँदा पनि महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गाउँमा हुन्थे। तर महिलाको कार्यक्रम भनेर सुन्ने–हेर्ने मान्छे नै हुँदैनथे। अहिले म यस्ता कार्यक्रममा जाँदा सुन्ने–हेर्ने मान्छेहरु प्रशस्त देख्छु। सुनेपछि बुझाउन सहज हुन्छ। बुझेपछि केही परिवर्तन हुन्छ। त्यो परिवर्तन देखेँ। तर बुढापाकामा भने परिवर्तन देखिनँ। कति परिवर्तन शिक्षाबाट सम्भव छ, बाँकी समयले गरिदिन्छ।

अहिले पनि जब कोही महिला र किशोरी छाउ गोठमा मरेको खबर सुनिन्छ, पढिन्छ आफैं महिनावारी हुँदा विताएका दिनहरु झल्झल्ती दिमागमा आउँछन्। त्यसपछि छाउपडी जस्तो कुप्रथाका विरुद्ध गीत गाएर मात्रै पुग्दैन भन्ने महसुस हुन्छ। आफैं अभियन्ताका रुपमा अघि बढेर त्यसका विरुद्ध लागौं जस्तो लाग्छ।

यही क्रममा छाउपडीविरुद्ध काम गरिरहेको एक संस्थासँग आवद्ध भएर सुदूरका गाउँ पुग्ने मौका पनि मिल्यो।युरोपेली संघको सहयोग, नेपाल सरकार र फिन्ल्याड सरकारको संयुक्त सहकार्यमा २००६ देखि सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्ला र कर्णाली प्रदेशका २ जिल्लामा सुरक्षित महिनावारीसम्बन्धी एउटा परियोजना सञ्चालित छ।

छाउपडीसम्बन्धी कार्यक्रमको सिलसिलामा अछामको तुर्माखाद गाउँपालिकामा पुगेकी थिएँ। त्यहाँ छाउपडीविरुद्ध विद्रोही चेतना बढ्दै गएको त्यो कार्यक्रममा उपस्थित स्थानीयको संख्याले पनि बताउँथ्यो। उनीहरुका कुरा सुन्दा लाग्थ्यो, छाउ बार्ने प्रथाको कहालीलाग्दो पीडाबाट साँच्चै हाम्रा आमा–चेलीहरु आजित भइसकेका छन्। समाजले पनि बुझ्नुपर्छ– अब उनीहरुलाई कुनै पनि बहानामा महिनावारी हुँदा साँघुरो गोठमा थुन्न हुँदैन।

डडेलधुराको आलीताल गाउँपालिका पुग्दा देखिएको दृश्यले भने मन कटक्कै पार्‍यो। त्यहाँ हरेक ३/४ घरपिच्छे छाउगोठहरु थिए। महिनावारी हुँदाको समयमा त्यहाँका आमा–चेली, दिदीबहिनीले भोग्नुपरेको पीडा सुन्दा समाज परिवर्तन हुँदैछ भन्ने ठानेकी मलाई ग्लानि बोध भयो। यद्यपि परिवर्तनको झिल्कोले भने गाउँलाई छोइसकेको रहेछ।

अहिलेको आमा पुस्ताभन्दा छोरी पुस्ता भने छाउ (महिनावारी)बारे सचेत भएको पाएँ। समग्र सामाजिक र राजनीतिक प्रणालीको प्रभावले पनि होला, छोरीहरु छाउपडीविरुद्ध विद्रोह गर्न पनि तयार भएका छन्। उनीहरु अब महिनावारी हुँदा आमाहरुले जस्तै गोठमा बसेर शर्पले टोक्दा अकाल मृत्युवरण गर्न तयार छैनन्। nepallive.com साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार