होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा पाठ्यपुस्तकको कालोबजारी, जनक शिक्षाको क्षेत्रीय कार्यालय घेराउ
समाचार

सुदूरपश्चिममा पाठ्यपुस्तकको कालोबजारी, जनक शिक्षाको क्षेत्रीय कार्यालय घेराउ

  • नागरिक रैबार
सुदूरपश्चिममा पाठ्यपुस्तकको कालोबजारी, जनक शिक्षाको क्षेत्रीय कार्यालय घेराउ

धनगढीः सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तकको कालोबजारी भइरहेको आरोप लागेको छ। प्रदेशका पुस्तक व्यापारीहरुको जनकशिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढीबाट पुस्तक नपाउने तर बजारमा बढी मूल्यमा पाठ्य पुस्तक बिक्री हुने गरेको आरोप लगाएका हुन्। उनीहरुले कैलाली र कञ्चनपुरमा बढी मूल्यमा पुस्तक बिक्री हुने समेत बताएका छन्।

कञ्चनपुरका व्यापारी भूपेन्द्र अधिकारीले जिल्लामा पुस्तकको कालोबजार हुने गरेको बताए। ‘४० हजार पुस्तकको डिमाण्ड छ भने जिल्लामा एक/दुई हजार आउने गरेको छ। कञ्चनपुरमा आधिकारीक रुपमा कक्षा ८ को अँग्रेजी र नेपालीको पुस्तक गएकै छैन। तर कञ्चनपुरमा कताबाट गएर फुटकर बिक्री भएको हो ?’ उनले प्रश्न गर्दै भने, ‘स्कुलमा हामीले पुर्याउन सकेका छैनौं तर केही व्यापारीहरुले बाइकमा एक/दुई पीस बिक्री गर्दैछन्।’

कञ्चनपुरको चौलानी पुस्तक पसलले कक्षा ८ को नेपाली किताब एक सय २० रुपैयाँका दरले बिक्री गरेको पाइएको हो। जनक शिक्षा सामग्रीले कक्षा ८ को नेपाली किताबको मूल्य ९२ रुपैयाँ निर्धारण गरेकोमा चौलानीले एक सय २० रुपैयाँ लिएको हो। व्यापारीहरुले जनकशिक्षा सामग्री क्षेत्रीय कार्यालय धनगढीले रकम लिएर सूचीकृत नभएका व्यापारीहरुलाई पाठ्यक्रम दिएको बताएका छन्। उनीहरुले बुधबार जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढी घेराउ समेत गरेका छन्। उनीहरुले प्रदेशका लागि आवश्यक पाठ्यक्रमको ९० प्रतिशत आपूर्ति नभएसम्म पुस्तक वितरण नगर्न माग गरेका छन्।

विज्ञापन

कैलालीको लम्कीका व्यापारी टुर्जबहादुर बोगटीले आफ्नो क्षेत्रमा पनि पुस्तकको कालोबजारी हुने गरेको बताए। जनक शिक्षाले पाठ्यक्रमको आपूर्ति नगरेकाले व्यापारीहरुलाई हैरानी भएको उनले बताए।

स्थानीय तहहरुले पुस्तकका बील फछ्यौटका लागि मागेकाले झन समस्या भएको व्यापारीहरुले बताएका छन्। स्थानीय तहले सामुदायिक विद्यालयका लागि किताब खरिदमा बजेट विनियोजन गर्ने तर असारसम्म पनि पुस्तक नआएकाले रकम फ्रिज जाने भएको हो।

जनक शिक्षाले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गर्ने गरेको उनीहरुले बताए। ‘वितरण प्राणाली चुस्त छैन। कमिशनको आधारमा किताब बिलिङ भएको छ। मेरो लम्की क्षेत्रमा पनि बढी मूल्यमा किताब बिक्री हुँदैछ’ बोगटीले भने, ‘कक्षा ९ को अँग्रेजीको मूल्य एक सय ३९ थियो, त्यो २ सयमा बिक्री भएको छ। कक्षा ९ को नेपालीको मूल्य एक सय ८ छ, एक सय ५० मा विक्री हुँदैछ।’ किताब नगएको क्षेत्रमा कालोबजारीमा पुस्तक बिक्री हुने गरेको व्यापारीहरुले बताएका हुन।

अछामका व्यापारी टेकबहादुर शाहाले जिल्लामा प्रत्येक वर्ष पाठ्यक्रमको अभाव हुने गरेको बताएका छन्। उनले जनक शिक्षाका कारण अछामको शिक्षा क्षेत्र धरापमा रहेको बताए। जिल्लामा ४० प्रतिशत मात्र पाठ्यक्रम पुगेको उनले बताएका छन्। दार्जुलाकी व्यापारी उर्मीला जोशीले शिक्षकहरुले व्यापारीलाई तनाव दिने गरेको बताइन्। ‘त्रैमासिक परिक्षा आयो भन्नुहुन्छ। उहाँहरु पसलमा आउनुहुन्छ। तर जनक शिक्षाले किताब दिएको छैन। हामीलाई सारै हैरानी भयो,’ उनले दिनेशखबरसँग भनिन्।

बझाङका व्यापारी रमेशबहादुर ढकालले तीनपटक किताबका लागि धनगढी आएको बताए। उनले पटक–पटक किताबका लागि व्यापारी धनगढी आउने गरेको भएपनि नपाएको गुनासो गरे। उनले भने, ‘किताब उपलब्ध भएको छैन। जनक शिक्षाको लापरबाहीले विद्यार्थीको भविष्य धरापमा छ। एकैपटक किताब पाए, खर्च कम हुने थियो। व्यापारीलाई हैरान भएको छ।’ जनक शिक्षाले बझाङमा २५ प्रतिशत मात्रै किताब पठाएको दाबी उनको छ।

सुदूरपश्चिम प्रदेशका लागि आवश्यक २० लाख पाठ्यपुस्तकको ४० प्रतिशत अझै आपूर्ति नभएको दाबी व्यापारीहरुले गरेका छन्। जनक शिक्षा सामग्रीले न्यून मात्रामा पुस्तक पठाउँदै आएको उनीहरुले गुनासो गरे। पुस्तक व्यवसायी संघले आइतबारसम्म धनगढीबाट पुस्तक वितरण बन्द गर्ने निर्णय गरेको छ। जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालयको गोदाम बन्द गर्न भनिएको हो।

यता जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्रकुमार आर्चायले सुदूरपश्चिममा मागको आधारमा पाठ्यक्रम पठाउने गरिएको दाबी गरे। उनले प्रदेशमा हुने गरेको पुस्तकको कालोबजारीमा जिल्ला प्रशासन कार्यालयहरुले निगरानी गर्नुपर्ने बताए। निर्धारण गरिएको मूल्यभन्दा बढीमा पुस्तक बिक्री गर्ने व्यापारीलाई कारबाही गर्न उनले आग्रह गरेका हुन्। प्रदेशका लागि आवश्यक पाठ्यक्रम आइतबारसम्म पूरा गर्ने आश्वासन जनक शिक्षा सामग्रीको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार