होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी
समाचार

सुदूरपश्चिममा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

  • नागरिक रैबार
सुदूरपश्चिममा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

धनगढीः सुदूरपश्चिमका अस्पतालमा मिर्गौला प्रत्यारोपण नहुने अवस्थाका कारण यहाँका नागरिक भारत तथा संघीय राजधानीको भर पर्ने गर्छन्। सरकारले पनि मिर्गौला रोगीहरुका मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरिसकेको छ। तर प्रदेशमा उक्त सुविधा नभएकाले सुदूरपश्चिमवासीले प्रदेशबाहिर गएरै मिर्गौला प्रत्यारोपण गनुपर्ने बाध्यता छ।

सुदूरपश्चिममा सहज, सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध नहुँनु पनि एक प्रमुख समस्या हो। यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचार गरिवीसँग पनि जोडिएको छ। प्रदेशमै सस्तो गुणस्तरिय सेवा उपलब्ध नहुँदा सामान्य उपचारका लागि अझै पनि देशको संघीय राजधानी काठमाडौं तथा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता छ। जहाँ उपचार गराउन जान सबै प्रदेशवासीको आर्थिक स्थितिले भ्याउँदैन। त्यसकारण उपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यता सुदूरपश्चिमवासीको छ।

विशेषगरी जटिल रोग मध्येमा मिर्गौला पीडितको उपचार सहज हुन सकेको छैन। अहिलेसम्म सेती अस्पतालमा डायलासिस सेवा सञ्चालन भएपनि त्यो दीर्घकालिन समाधान नभएको अधिकारीहरु बताउँछन्।

विज्ञापन

अब भने सोही सेती प्रादेशिक अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन्। ‘सुदूरपश्चिमको केन्द्र धनगढीमा प्रत्यारोपण सुरु हुन्छ। यहाँ जनशक्ति लगेर तालिम दिन्छौं। हाम्रो इच्छा छ यसै आर्थिक वर्षभित्र यो सेवा सुरु गर्ने। सबै निकायको सहयोग चाहिन्छ,’ डाक्टर श्रेष्ठले भने।

सुदूरपश्चिमका मिर्गौला पीडितको उपचार भनेकै डायलासिस हो। त्यो सेवा सरकारी स्तरमा सेती प्रादेशिक अस्पतालमा मात्रै छ। जहाँ मिर्गौला पीडित केही विरामी डायलासिसका लागि पुग्ने गरेको भएपनि सबैको उपचारमा पहुँच पुग्न सकेको छैन।

डायलासिसलाई अल्पकालिन समाधानका रुपमा मात्रै लिने गरिन्छ। दीर्घकालिन उपचारका लागि मिर्गौला पीडितले प्रत्यारोपण नै गर्नुपर्ने भनाइ चिकित्सकको छ। तर हालसम्म प्रत्यारोपण सेवा काठमाडौंं र पोखरामा मात्रै विस्तार भएको छ। सबै प्रदेशमा उक्त सेवा सुरु गर्ने भन्दै आइतबार धनगढीमा पनि सरोकारवाला निकायसँग छलफल गरिएको छ।

यसै आर्थिक वर्षभित्र सेवा सुरु गर्ने भन्दै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन्। तर अस्पताल भने उक्त सेवा हालै विस्तार गर्न सक्षम नरहेको सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले बताए। ‘सरकारले अहिको जस्तै सहयोग गर्नुपर्छ। सक्षम त हामी छैनौं, तर हामीलाई निर्देश गर्नुपर्छ। सुरुमा आफै आएर सेवा सुरु गर्नुपर्छ। पछि हाम्रै जनशक्ति तयार भइहाल्छ,’ उनले भने।

सेती प्रादेशिक अस्पतालमा अहिले पनि भौतिक संरचनाको अभाव छ। केही सेवा विस्तारका लागि तयारी पूरा भएपनि संरचना अभावकै कारण समय लागिरहेको छ। योसँगै अस्पतालले विशेषज्ञ डाक्टरका लागि विज्ञापन आह्वान गर्दा पनि आवेदन नै परेका थिएनन्।

यस्तो अवस्थामा रहेको अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्नका लागि सरकारले विषेश ध्यान दिनुपर्ने देखिन्छ। जसका लागि प्रदेश र संघीय सरकारले भौतिक संरचना निर्माण, आवश्यक उपकरण खरिद तथा दक्षजनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा धेरैको छ। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले भने यसमा आफनो पूर्ण सहयोग रहेको बताए। ‘यो कार्यक्रमलाई विशेष रुपमा अगाडि बढाउनु पर्छ। यसका लागि छिटोभन्दा छिटो मेहनत गर्ने छु। आगामी वर्षका यसको लागि अलग बजेट र अहिले पनि मन्त्रिपरिषद्बाट निर्णय गरेर बजेट दिन तयार छु,’ मन्त्री बोहराले भने।

सुदूरपश्चिममा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएपछि यस क्षेत्रका विरामीले बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार