होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकल पुरुषलाई मासिक ५ सय भत्ता
समाचार

एकल पुरुषलाई मासिक ५ सय भत्ता

  • नागरिक रैबार
एकल पुरुषलाई मासिक ५ सय भत्ता

मुगु- मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका १४ वटा वडामा रहेका एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गत ७ फागुनको प्रजातन्त्र दिवस अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्रका एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो ।

भत्ता पाएपछि एकल पुरुषले नगरपालिकाको यो कदमप्रति खुसी व्यक्त गरेका छन् । वडा नम्बर १४ का ५० वर्षीय जुद्घ बढुवाल भन्छन्, ‘राज्यले एकल महिला भत्ता, वृद्ध भत्ता, बालबालिका भत्ता दिँदै आए पनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नै नल्याएर बेसहारा भएका एकल पुरुषलाई संघीय र प्रदेश सरकारले वास्ता नगरे पनि स्थानीय सरकारले भत्ता दिएपछि नागरिक भएको महसुस भएको छ ।’

नगरपालिकाको वडा नम्बर १ का ५३ वर्षीय कृष्णबहादुर हितानले नगरप्रमुख हरिजंग शाहीको हातबाट ६ हजार रुपैयाँ भत्ता बुझ्दै भने, ‘नगरप्रमुख र सबै वडाध्यक्षहरूको जय होस् । वर्षांैदेखि समाजमा एकल भएर जीवन बिताइरहेका हामीले बालबच्चाको शिक्षा, पालनपोषण र घर खर्च चलाउँदा समस्या भोग्दै आएका थियौँ । अब हामीलाई सहज हुने भयो ।’

विज्ञापन

वडा नम्बर २ का वडाध्यक्ष परेगराज चौलागाईंले गाउँबस्तीमा पुग्दा अन्यलाई भत्ता दिए पनि एकल पुरुषलाई राज्यले नदेखेको पाएपछि कार्यपालिकाको बैठकमा एकल पुरुषलाई पनि भत्ता दिने निर्णय भएको बताए ।

वडा नम्बर ४ का वडाध्यक्ष विष्णुकुमार भाम समाजमा अपहेलित भएका, पिछडिएका र छेउ पारिएका एकल पुरुषजस्तै अन्यलाई पनि राज्यको दायरामा नल्याएसम्म जेसुकै विकास गरे पनि त्यो सार्थक नहुने बताउँछन् ।

दुर्गम हिमाली जिल्लामा रहेको छायानाथ रारा नगरपालिकाले भौगोलिक कठिनाइका बाबजुद पनि नमुना काम गर्दै गएको र यही नगरको सिको गर्दै प्रदेशलगायत अन्य स्थानीय सरकारहरूले कार्यक्रम कपी गर्ने गरेको कांग्रेसका मुगु सभापति खड्कबहादुर शाहीले दाबी गरे । छायानाथा रारामा कांग्रेस नगरप्रमुख छन् । नगरपालिकाले १ सय २६ जना एकल पुरुषलाई आर्थिक वर्ष २०७६ को एकल पुरुष भत्ता वितरण सुरु गरेको नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए ।

केही स्थानीय सरकारले यसअघि एकल पुरुष भत्ता दिने घोषणा गरे पनि भत्ता वितरण गर्ने छायानाथ रारा नगरपालिका देशभरमै पहिलो भएको उनको दाबी छ । ४० वर्षमाथि र ६० वर्षमुनिका एकल पुरुषलाई मासिक ५ सय रुपैयाँका दरले वार्षिक ६ हजार रुपैयाँ एकल पुरुष भत्ता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार