होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस संगठन नेपाल दोस्रो राष्ट्रिय भेला : १९ बुँदे काठमाडौं घोषणापत्र जारी (पूर्णपाठ)
समाचार

प्रेस संगठन नेपाल दोस्रो राष्ट्रिय भेला : १९ बुँदे काठमाडौं घोषणापत्र जारी (पूर्णपाठ)

  • नागरिक रैबार
प्रेस संगठन नेपाल दोस्रो राष्ट्रिय भेला : १९ बुँदे काठमाडौं घोषणापत्र जारी (पूर्णपाठ)

काठमाडौँ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ६ माघ गते काठमाडौँमा सम्पन्न भेलाले १९ बुँदे पत्रकारहरुको काठमाडौं घोषणा पत्र जारी गरेको संयोजक महेश्वर दाहालले जानकारी दिएका छन् ।

‘यो भेला प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथि नै प्रहार भएकोले यसबाट संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि प्रहार भएको ठहर गर्दछ । संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हितको पक्षमा र प्रतिगमनविरुद्ध प्रेस संगठन नेपालले अग्रणी संगठनको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सञ्चार सम्बद्ध सबै संघ संगठनहरुसँग मोर्चाबन्दी गर्ने यो भेला संकल्प गर्दछ । साथै, सम्पूर्ण सञ्चारसम्बद्ध संघ संगठन, सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई प्रगितमनविरुद्धको आन्दोलनमा एकताबद्ध भएर लाग्न अपिलसमेत गर्दछ,’ काठमाडौँ घोषणापत्रमा भनिएको छ ।

साथै, समाचार लेखेको आधारमा सञ्चार माध्यमहरुको नामै उल्लेख गरेर हालै सर्वोच्च अदालतले दिएको चेतावनीपूर्ण वक्तव्यप्रति भेलाले दुःख व्यक्त गर्दै खेद व्यक्त गरेको छ । ‘समाचारका विषयवस्तुमा चित्त नबुझे गुनासो तथा उजुरी गर्न पाउने प्रावधान हुँदा–हुँदै न्यायको सर्वोच्च थलो, जनताको आस्था र विश्वासको केन्द्र सर्वोच्च अदालतबाट प्रेस जगतलाई नै चेतावनी दिने वक्तव्य आगामी दिनमा नआओस् भन्ने विश्वास यो भेला व्यक्त गर्दछ’, घोषणापत्रको चार नम्बर बुँदामा भनिएकोक छ ।

विज्ञापन

यस्तो छ १९ बुँदे घोषणापत्र :

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाबाट जारी

पत्रकारहरुको काठमाडौं घोषणा पत्र–२०७७

हाम्रो प्रिय तथा गौरवशाली संगठन प्रेस संगठन नेपालको ऐतिहासिक दोस्रो राष्ट्रिय भेला ६ माघ २०७७ काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट निम्न बमोजिमको १९ बुँदे पत्रकारहरुको काठमाडौं घोषणा पत्र जारी गरिएको छ ।

१) यो भेला नेपालको राजनीतिक परिवर्तन र रुपान्तरण तथा पूर्ण प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज पत्रकार कृष्ण सेन ‘इच्छुक’, अग्निशिखा, हृदयचन्द्र सिंह लगायत दिवंगत पत्रकारहरु र सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।

२. यो भेला २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभाको विघटनको निर्णय नेपाली जनताको दशकौं लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्धको असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी भएको ठहर गर्दछ ।

पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि निर्मम प्रहार गरेर प्रधानमन्त्री ओलीले चालेका प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको घोर भ्रत्र्सना गर्दै यो कदमविरुद्ध दृढतापूर्वक उभिने यो भेला प्रण गर्दछ । साथै, भेला प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक तथा प्रतिगामी कदमलाई सच्याएर प्रतिनिधिसभा पुनस्र्थापना गर्न माग गर्दछ ।

३) यो भेला प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथि नै प्रहार भएकोले यसबाट संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि प्रहार भएको ठहर गर्दछ । संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हितको पक्षमा र प्रतिगमनविरुद्ध प्रेस संगठन नेपालले अग्रणी संगठनको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सञ्चार सम्बद्ध सबै संघ संगठनहरुसँग मोर्चाबन्दी गर्ने यो भेला संकल्प गर्दछ । साथै, सम्पूर्ण सञ्चारसम्बद्ध संघ संगठन, सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई प्रगितमनविरुद्धको आन्दोलनमा एकताबद्ध भएर लाग्न अपिलसमेत गर्दछ ।

४) यो भेला समाचार लेखेको आधारमा सञ्चार माध्यमहरुको नामै उल्लेख गरेर हालै सम्मानित सर्वोच्च अदालतले दिएको चेतावनीपूर्ण वक्तव्यप्रति दुःख व्यक्त गर्दै खेद व्यक्त गर्दछ । समाचारका विषयवस्तुमा चित्त नबुझे गुनासो तथा उजुरी गर्न पाउने प्रावधान हुँदा–हुँदै न्यायको सर्वोच्च थलो, जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट प्रेस जगतलाई नै चेतावनी दिने वक्तव्य आगामी दिनमा नआओस् भन्ने विश्वास यो भेला व्यक्त गर्दछ ।

५) यो भेला नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढतापूर्वक उभिदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको रक्षाको निम्ति सञ्चार क्षेत्रबाट सक्रिय रहने दृढ् प्रण गर्दछ ।

६) यो भेला विश्वव्यापी महामारी (कोभिड–१९)बाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछ ।

७) यो भेला श्रमजीवी पत्रकारहरुले सञ्चालन गरिहेका स्वरोजगारमुलक मिडिया प्रवद्र्धनका लागि तत्काल समानुपातिक विज्ञापन वितरण सुरु माग गर्दछ । स्थानीय, साना लगानीका तथा स्वरोजगारमुखी मिडिया प्रवद्र्धनका लागि स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिनका लागि यो भेला माग गर्दछ । साथै स्थानीय तहबाटै मिडियाको दर्ता, नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास वितरण र विमाको व्यवस्था मिलाउन भेला आग्रह गर्दछ ।

८) यो भेला अनलाइन सञ्चार माध्यमको समेत वैज्ञानिक मुल्याङ्गकन प्रणाली र मापदण्ड बनाइएर अनलाइन सञ्चार माध्यमहरुलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था तत्काल गर्न माग गर्दछ । सरकारले ‘क्लीन फिड’ नीति लागु गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कुनै पनि प्रकारको प्रभावमा नपरीकन ‘क्लीन फिड’को प्रभावकारी कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

९) श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिक अझै पनि अधिकांश सञ्चार माध्यमहरुले उपलब्ध नगराएकोप्रति यो भेलाको खेद व्यक्त गर्दछ । यो भेला श्रमजीवी पत्रकार ऐन अनुसार तत्काल न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सबैमा आग्रह गर्दछ ।

१०) सञ्चारकर्मीहरुले खरिद गर्ने सञ्चार सामाग्रीहरुमा अनुदान र सञ्चारगृहरुका लागि सवारी साधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि नीतिगत पहलका लागि यो भेला माग गर्दछ ।

११) मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयकलगायत विभिन्न विद्येयक र पारित कानुनमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन नेपाल पत्रकार महासंघ, नेपालको अगुवाईमा भइरहेको अभियान र आन्दोलनप्रति यो भेला दृढ् समर्थन गर्दछ । साथै, राज्यका तीनै तहबाट सञ्चार सम्बन्धी कुनै पनि नीति, ऐन, कानुन र नियमावली बनाउँदा र निर्देशिका जारी गर्दा सरोकारवाला निकायसँग पर्याप्त छलफल र सहमतिका आधारमा बनाउन र जारी गर्न माग गर्दछ । त्यस्ता कानुनहरुमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्य र मान्यता एवं संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल हुनेगरी ल्याउन यो भेला जोड्दार माग गर्दछ ।

१२) ६० वर्ष उमेर पुगेका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई मासिक रुपमा जीवन निर्वाह भत्ताको लागि नीतिगत पहलको लागि यो भेला माग गर्दछ ।

१३) यसअघिकै सरकारको नीति तथा कार्यक्रममा पत्रकारहरुका लागि सूचना विभागको प्रेस प्रतिनिधि परिचयपत्रका आधारमा सरकारी अस्पतालहरुमा ५० प्रतिशत उपचार खर्च सहुलियत उपलब्ध गराउने घोषणा गरिएकोमा यो घोषणा अझै कार्यान्वयनमा आउन नसकेकोमा यो भेला दुःख व्यक्त गर्दछ । यो भेला उक्त सहुलियतलाई सहज रुपमा तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछ । साथै, शतप्रतिशत निःशुल्क उपचारका लागि गृहकार्य अगाडि बढाउन समेत ध्यानाकर्षण गराउँदछ ।

१४) विभिन्न कारणले सञ्चार माध्यमहरुको नविकरण ढिलाई हुदा सञ्चारमाध्यमको दर्ता नै खारेज गर्ने कामप्रति यो भेलाको गम्भिर ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमको दर्ता खारेजी नगर्ने संवैधानिक हकको सम्मान गर्दै अनलाइनलगायतका सञ्चारमाध्यमको नवीकरणलाई सहज बनाउन यो भेला आग्रह गर्दछ ।

१५) पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धान, अभिलेखीकरणका लागि संघ र प्रदेशस्तरमा ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापनाका लागि सरकारसँग यो भेला माग गर्दछ ।

१६) यो भेला हाम्रो संगठनका पूर्व अध्यक्ष गगन विष्ट ममतामयी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा यही २८ पुष २०७७ मा गुल्मीको इस्मास्थित घरमा र संगठनका सोलुखुम्बु संयोजक बुद्धवीर वाहिङ राईको ४ माघ २०७७ मा काठमाडौंमा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गदै दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

१७) यो भेलाले देशको संकटपूर्ण राजनीतिक अवस्था, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई ध्यान दिएर २०७७ माघ महिनाभित्र प्रेस संगठन नेपालको सबै प्रदेशहरुको भेला सम्पन्न गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध हुने प्रेस संगठन नेपालको प्रदेश भेलाहरुमा सक्रिय सहभागीता जना प्रेस संगठन नेपालका सदस्यहरुलाई यो भेला निर्देशन गर्दछ ।

१८) यो भेला प्रेस संगठन नेपालको संगठनात्मक संरचनामा आवश्यक हेरफेर तथा पुनर्गठनका लागि तात्कालीन कार्य गर्ने म्याण्डेटसहित प्रेस संगठन नेपालको केन्द्रीय कमिटीमा रहेका संगठनको एकतापूर्वका साविकका संगठनका पदाधिकारीहरु रहने गरी सचिवालय र सचिवालय मध्यबाट १५ सदस्यीय कार्यालय गठन गर्ने निर्णय गर्दछ ।

१९) प्रेस संगठन, नेपालको ऐतिहासिक दोस्रो राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित भई महत्वपूर्ण संबोधन गरिदिनुभएकोमा पूर्वप्रधानमन्त्री एवम् नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति यो भेला विशेष धन्यवाद व्यक्त गर्दछ । भेलामा अतिथिको रुपमा उपस्थित भई संबोधन गर्नुहुने नेकपाको स्थायी कमिटी सदस्य योगेश भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ पत्रकार नारायण वाग्ले, प्रेस संगठन नेपालको सह–इन्चार्ज ओम शर्मा, नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजाल, प्रेस संगठन नेपालका पूर्वअध्यक्षहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सील नेपालका सदस्य संगीता खड्का, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) का अध्यक्ष सुबास खतिवडा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मालगायत सम्पूर्ण अतिथिहरुप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछ । साथै भेलामा उपस्थित सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, भेलामा उपस्थित सम्पूर्ण महानुभावहरु र भेला सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दछ ।

मिति : ७ माघ २०७७

महेश्वर दाहाल

संयोजक

रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार