काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन ।
तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए ।
समीक्षकले पनि निक्कै तारिफ गरेको यो चलचित्रमा काम गरेपछि सिद्धार्थको स्टारडम फेरि चम्किएको छ ।
धर्मा प्रोडक्सनले यो चलचित्र हिट भएपछि सिद्धार्थलाई नै लिएर नयाँ चलचित्रको घोषणा गरेको छ । चलचित्रको नाम ‘योद्धा’ राखिएको छ । यो चलचित्रलाई सागर आँब्रे र पुष्कर ओझाले निर्देशन गर्दैछन् ।
चलचित्रको प्रदर्शन मिति सन् २०२२ को नोभम्बर ११ तारिखलाई तोकिएको छ । धर्मा प्रोडक्सनले चलचित्रसँग जोडिएका अन्य कलाकारको भने घोषणा गरेको छैन ।
तर, यो चलचित्रले पनि राष्ट्रियताको कथालाई नै उठाउने सिद्धार्थको फस्टलुकबाट अनुमान लगाउन सकिन्छ ।
फेसबुक प्रतिक्रियाहरु