होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शैक्षिक सत्र सुरु, सामुदायिक विद्यालयमा बढे विद्यार्थी
समाचार

शैक्षिक सत्र सुरु, सामुदायिक विद्यालयमा बढे विद्यार्थी

असार १५ सम्म भर्ना र पाठ्यपुस्तक वितरण, त्यसपछि वैकल्पिक माध्यमबाट पठनपाठन

  • नागरिक रैबार
शैक्षिक सत्र सुरु, सामुदायिक विद्यालयमा बढे विद्यार्थी

काठमाडौँ — कोरोना महामारीका बीच मंगलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ ।

शिक्षा मन्त्रालयले यसअघि असार १ देखि विद्यालयहरूमा भर्ना प्रक्रिया थाल्न आह्वान गरेको थियो । असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण गर्न र उनीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउन आग्रह गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए । ‘अहिले तत्काल विद्यालय खोलेर पठनपाठन थालिहाल्ने अवस्था छैन,’ उनले भने, ‘तर विद्यार्थीलाई वैकल्पिक माध्यमबाट जोड्ने काम गर्नुपर्छ ।’

 

विज्ञापन

केन्द्रले असार दोस्रो सातासम्म अघिल्लो शैक्षिक सत्रको नतिजा प्रकाशन गर्न बाँकी भए ती काम सक्न विद्यालयहरूलाई निर्देशन दिएको छ । ‘नतिजा प्रकाशनपछि नयाँ कक्षामा भर्ना हुने विद्यार्थीको अभिलेख राख्ने काम गर्नुपर्छ,’ महानिर्देशक अर्यालले भने, ‘बालबालिकालाई पाठ्यपुस्तक दिएर सिकाइ निरन्तरताका लागि वैकल्पिक विधिबाट पठनपाठन थाल्नुपर्छ ।’ सरकारले १० कक्षासम्मको पाठ्यपुस्तक नि:शुल्क वितरण गर्दै आएको छ । यो वर्षदेखि कक्षा ९ सम्म रंगीन पाठ्यपुस्तक दिन लागिएको छ । शिक्षा मन्त्रालयले पाठ्यपुस्तकको उपलब्धता, वितरण र गुणस्तरको अनुगमन गर्न देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रहसमेत गरेको छ । पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहहरूमा अनुदान पठाएको छ ।

चालु शैक्षिक सत्रमा विद्यार्थीलाई उपलब्ध गराउने पाठ्यपुस्तक क्षेत्रीय डिपोहरूमा पुर्‍याइसकिएको जनक शिक्षाले सामग्री केन्द्रले जनाएको छ । डिपोहरूबाट विक्रेताले पुस्तकहरू जिल्ला/जिल्लामा लैजान थालेका छन् । निषेधाज्ञा भएका जिल्लामा पास उपलब्ध गराएर पाठ्यपुस्तक ढुवानी गर्ने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाका जिल्लामा बिहान ११ बजेसम्म स्टेसनरीहरू खुल्ने व्यवस्था गरिएको छ । अन्य जिल्लामा पनि स्टेसनरी खुलाउन पहल भइरहेको अर्यालले जनाए । ‘निषेधाज्ञा खुकुलो भएसँगै पाठ्यपुस्तक जिल्लाहरूमा पुग्न थालेको छ,’ उनले भने, ‘विद्यालयमा पुगिसकेको छैन, शैक्षिक सत्रको सुरुवातसँगै पुग्ने विश्वास लिएका छौं ।’ १ देखि ४ कक्षाका लागि निजी प्रकाशनले पनि बिक्री वितरण गर्ने पाठ्यपुस्तक पनि ढुवानी हुन थालेको केन्द्रले जनाएको छ ।

चालु शैक्षिक सत्रदेखि कक्षा २, ३, ६ र १२ कक्षामा नयाँ पाठ्यक्रम लागू हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक तयार भइसकेको केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए । गत वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू भएको थियो ।

 

विद्यार्थीको भर्ना सकिएपछि अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनलगायत वैकिल्पक माध्यमबाट पठनपाठन गर्न र शिक्षकहरूले सहजीकरण गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । केन्द्रले मंगलबारबाटै कक्षा १–१० को श्रव्यदृश्य र श्रव्य पाठहरू टेलिभिजन र रेडियोबाट प्रसारण गर्न थालेको छ । गत वर्ष वैशाखको सट्टा असारबाट मात्रै नयाँ शैक्षिक सत्र सुरु भएको थियो । अघिल्लोपल्ट दुई महिना ढिला भएकाले चालु वर्षको दुई महिनासम्म लम्ब्याइएको हो ।

गत वर्ष सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्यासमेत वृद्धि भएको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार सामुदायिक विद्यालयमा साढे २ लाख अर्थात् ४.६ प्रतिशत विद्यार्थीको संख्या बढेको हो । २०७६ मा ५४ लाख ५९ हजार विद्यार्थी भर्ना भएकामा २०७७ मा सामुदायिक विद्यालयमा ५७ लाख १३ हजार विद्यार्थी थपिएका हुन् । सबैभन्दा बढी कक्षा १–५ मा १ लाख २८ हजार विद्यार्थी भर्ना भएका छन् । कक्षा ६–८ मा ६३ हजार, कक्षा ९–१० मा ४० हजार र ११–१२ मा ५६ हजार विद्यार्थी बढेका छन् ।

लकडाउनका कारण शिक्षण संस्था बन्द हुँदा अभिभावकले बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेको, सहर छाडेर गाउँ फर्केका अभिभावकले पनि सरकारी विद्यालय रोजेका कारण संख्या वृद्धि भएको हुन सक्ने केन्द्रको अनुमान छ । निजी विद्यालयमा भने करिब २० प्रतिशत विद्यार्थी घटेको आकलन छ । काठमाडौं उपत्यका र अरू सहरमा निजी विद्यालयमा विद्यार्थी १५ देखि २० प्रतिशतसम्म घटेको प्याब्सन, एनप्याब्सनले जनाएका छन् ।

ललितपुरस्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशप्रसाद मैनालीले कोभिडका कारण निजी विद्यालय छाडेर सामुदायिकमा भर्ना हुने विद्यार्थीको संख्या बढेको बताए । ‘राम्रा भनिएका नाम चलेका निजीका विद्यार्थी पनि सामुदायिकमा जान थालेका छन्,’ उनले भने, ‘अनलाइन पठनपाठन हुने भएपछि निजीमा किन पैसा तिर्ने भनेर पनि स्कुल परिवर्तन गरेका छन्, लकडाउनका कारण मध्यम वर्गीय अभिभावकले निजी छाडेर सामुदायिक रोजेका हुन् ।’ कोरोना महामारी कायमै रहेकाले अझै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार