होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • एमबीबीएस अध्ययनरत १५ नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षाबाट वञ्चित
शिक्षा

एमबीबीएस अध्ययनरत १५ नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षाबाट वञ्चित

  • नागरिक रैबार
एमबीबीएस अध्ययनरत १५ नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षाबाट वञ्चित

२ चैत, वीरगञ्ज । लाखौं खर्चिएर बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् ।

नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि ३७ दिनदेखि आन्दोलनमा छन् । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट उनीहरु सबै बञ्चित भएका छन् ।

राजशाही युनिर्भसिटीबाट सम्बन्धन पाएको यो कलेज राजधानी ढाकाबाट ३ सय किलोमिटर टाढा रंगपुरमा छ । सन् २०१६ पछि त्यहाँ नेपाली विद्यार्थी भर्ना भएका छैनन् । तर शैक्षिक सत्र २०१४/१५ र २०१५/१६ मा भर्ना भएका विद्यार्थीहरु समस्यामा परेका हुन् ।

विज्ञापन

यसको कारण हो, यो मेडिकल कलेज दर्ता नहुनू । सन् २००१ मा स्थापना भएको कलेजको अस्पताल २०१३ देखि नवीकरण भएको छैन । त्यसैले बंगलादेशको सिभिल सर्जन कार्यालयले २०२० को अगष्टमा मापदण्ड पुरा नभएको भन्दै यो अस्पताल बन्द गरिदिएको थियो । अस्पताल बन्द भएपछि २०१४/१५ ब्याचका विद्यार्थीहरुले एमबीबीएसको पढाइ पास गरेपछि अनिवार्य गर्नुपर्ने एक वर्षे अनिवार्य इन्टर्न गर्न पाएनन् ।

त्यसपछि बल्ल विद्यार्थीहरुले आफू ठगिएको थाहा पाए । उनीहरुले ढाकास्थित सरोकारवाला कार्यालय, नेपाली दूतावास धाएर एमबीबीएस सकिएको ११ महिनापछि ‘इन्टर्न’का लागि अनुमति पाएका छन् । एक महिनाअघि मात्रै उनीहरु इन्टर्नमा अभ्यास गर्न थालेको एक विद्यार्थीले जानकारी दिए ।

तर २०१५/१६ ब्याचका विद्यार्थीहरु भने अन्तिम वर्षको परीक्षाबाटै बञ्चित भएका छन् । विद्यार्थीहरुले भने अर्को मेडिकल कलेजमा सार्नुपर्ने, झण्झट बिना मेडिकल शिक्षा पूरा गर्न पाउनुपर्ने, मेडिकल कलेजले राखेको मार्कसिट लगायत शैक्षिक कागजातहरू फिर्ता हुनुपर्ने माग राखेर आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले हामीलाई बीएमडीसीमा दर्ता भएको कलेजमा सरुवा गरिदेऊ, नभए मारिदेऊ’ भन्दै प्रदर्शन गरिरहेका छन् ।

नेपाली विद्यार्थी अन्यौलमा

आन्दोलन गर्नेमा नेपालका १५ विद्यार्थी पनि छन्, जसले एमबीबीएसको अन्तिम परीक्षा गुमाएका छन् ।

नेपाली विद्यार्थी रिकेश गोइत, श्रब्य सेन, अच्युतकुमार यादव, निशा पण्डित, हैदर शेख, सचिन तेन्दुल्कर यादव, सुमिना श्रेष्ठ, शिखा कर्ण, विकास सुवेदी, परिधी भट्टराई, दीक्षा अर्याल, अमितकुमार साह, विनोदकुमार साह, बुद्धदेव यादव र सञ्जय अधिकारीले सोमबारबाट शुरु भएको परीक्षा गुमाएका हुन्, जसले एमबीबीएस अध्ययनका लागि जनही २६ लाख रुपैयाँ कलेजमा बुझाएका थिए ।

‘कोरोना महामारीमा कलेज बन्द भयो, अनलाइन क्लास पनि भएन, बीएमडीसी रजिट्रेसन नहुँदा परीक्षा दिन पाएनौं’ एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भनिन्, ‘कलेज सारेरै भएपनि पूरक परीक्षा दिन पाए हुन्थ्यो भन्ने छ । नेपाल सरकारले पहल गरेर अर्को बीएमडीएमसीमा दर्ता भएको कलेजमा सारिदिए हुन्थ्यो ।’

उनका अनुसार कलेजले रकम नबुझाएकै कारण १४ फेब्रअरी २०२१ राति अचानक होस्टलबाट निकालेका थिए ।

प्रहरी कार्यालयले होष्टल मालिकलाई विदेशी विद्यार्थीलाई ननिकाल्न भनेपछि मात्र त्यहाँ बस्न पाएका थिए । तर बिजुलीको लाइन काटिदिने, पानी बन्द गरिदिने गरेर दुःख दिएको विद्यार्थी बताउँछन् । आन्दोलनमा सहभागी भएको भन्दै नेपाली छात्राहरुलाई होस्टल खाली गर्न धम्की समेत दिन गरिएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले राजशाही युनिर्भसिटी, डिरेक्टर जनरल अफ हेल्थ सर्भिस, बीएमडीसी, वंगलादेश मेडिकल एशोसिएसन लगायत सरोकारवाला निकायमा हार गुहार गरेका छन् । तर कतैबाट भरपर्दो सहयोग पाएका छैनन् ।

नेपाली विद्यार्थीले १३ फागुनमा ढाकास्थित नेपाली राजदूत डा. वंशीधर मिश्रलाई भेटेर समस्याबारे जानकारी गराएका थिए । मिश्रले समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएपनि समस्या जस्ताको त्यस्तै रहेको विद्यार्थीहरुको भनाइ छ ।

के भन्छन् राजदूत ?

राजदूत मिश्रले पनि नर्दनमा अध्ययनरत विद्यार्थीहरु समस्यामा परेको स्वीकार गर्छन् । कलेज बंगलादेशको मेडिकल काउन्सिलले अनुमति दिएको भए पनि सरकारबाट स्वीकृति नलिएका कारण नेपाली विद्यार्थीहरु समस्या परेको उनले बताए ।

राजदूत मिश्रले  भने, ‘दूतावासले पहल गर्नुका साथै म आफैंले स्वास्थ्यमन्त्री, सचिव र काउन्सिलका अध्यक्षलाई भेटेर पहल गरेपछि सन् २०१४/१५ ब्याचका विद्यार्थीहरुलाई इन्टर्न गर्ने व्यवस्था मिलायौं ।’

अहिले अर्को ब्याचका विद्यार्थीहरुले अन्तिम वर्षको परीक्षा नै छुटेको उनले स्वीकार गरे । ‘मैले उहाँहरुलाई परीक्षा कुनै हालतमा नछोड्नुस्, इन्टर्नका लागि एउटा नजीर बसिसकेको छ, हामी पहल गर्छौं भनेको थिएँ’ उनले भने, ‘तर बंगलादेशका अरु विद्यार्थीसँगै उहाँहरुले पनि परीक्षाको फर्म नै भर्नुभएन ।’

अब ६ महिनापछि फेरि परीक्षा हुने भन्दै राजदूत मिश्रले त्यसबेलासम्म बंगलादेश सरकारले कुनै नयाँ निर्णय गरे वा कलेज पुनः सञ्चालनमा आए त्यसअनुसार जान, नभए अन्तिम परीक्षामा कुनै हालतमा सहभागी हुन आग्रह गरे ।

उनले अघि भने, ‘इन्टर्नका लागि हामी कुनै न कुनै व्यवस्था गर्छौं । नेपाली विद्यार्थीहरुको हरेक समस्या समाधानका लागि म प्रयासरत छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार