होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘आरोहीको गाउँ’ मा बिजुली
समाचार

‘आरोहीको गाउँ’ मा बिजुली

समुद्री सतहबाट ३७२१ मिटर उचाइमा रहेको बेदिङ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

  • नागरिक रैबार
‘आरोहीको गाउँ’ मा बिजुली

दोलखा — ‘हिम आरोहीको गाउँ’ ले चिनिन्छ गौरीशंकर गाउँपालिका–९ को बेदिङ । छो–रोल्पा हिमतालको फेदीमा रहेको बेदिङ समुद्री सतहबाट ३७२१ मिटर उचाइमा छ । ८५ घरधुरीको मात्रै बसोबास छ । पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाए पनि बेदिङमा अझै न्यूनतम आधारभूत आवश्यकताअन्तर्गतका पूर्वाधार बनिसकेका छैनन् ।

तर हालै मात्र बेदिङ विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनास्थलबाट २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्‍याएको हो ।

प्राधिकरणका अनुसार ११ सय केभीको प्रसारण लाइन बनाउन ३ सय ९० वटा खम्बा (पोल) गाडिएका छन् । जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बत्तीले गाउँ झिलिमिली हुने भएपछि स्थानीय खुसी भएका छन् । ‘हामीले बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुग्छ भनेर कल्पनासमेत गरेका थिएनौं तर पुग्यो, खुसी छौं,’ स्थानीय ङावाङ तेन्जी लामाले भने । दिगो हुने गरी विद्युत्का खम्बाहरू भने नगाडिएको उनको गुनासो छ । ‘हिमपात हुने क्षेत्रमा बलियो गरी खम्बा गाडिएको छैन,’ उनले भने, ‘ठूलो हावाहुरी चल्छ । ठेकेदारले हामीले भनेको सुनेन । खम्बाहरू बलियो गरी गाडेका छैनन् ।’

विज्ञापन

रोल्वालिङ खोलाको तीरैतीर स्विस सरकारले बनाएको पदमार्गकै बीचमा समेत खम्बा गाडिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘पदमार्गमा जथाभाबी खम्बा नगाड्न भन्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र पनि बुझायौं,’ उनले भने, ‘तर कोही प्राविधिक आएर हेरेनन् । बिजुली पुग्दा खुसी छौं तर दिगो हुन्छ भन्ने विश्वास छैन ।’ लामा बेदिङ गुम्बाका प्रमुखसमेत हुन् ।

गौरीशंकर हिमालको काखमा रहेको बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँबाट एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल पर्छ । बेदिङका हरेक घर, व्यवस्थित होटलसमेत हुन् । यो छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका जानेहरूको बास बस्ने मुख्य थलो हो । बेदिङमाथि ना गाउँ छ । चिसो बढेपछि त्यहाँका स्थानीय बेदिङ झर्छन् । तर यहाँ अहिलेसम्म विद्युत् सेवा पुगेको थिएन । स्थानीयले सोलारमार्फत मोबाइल चार्ज गर्ने गर्छन् । मोबाइल सेवाका लागि नेपाल टेलिकमले टावर भने सञ्चालनमा ल्याएको छ ।

यहाँस्थित लघु जलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द अवस्थामा छ । स्थानीयलाई सौर्य ऊर्जाको मात्रै भर थियो । प्राधिकरणले खम्बा ढुवानी गरेर बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन सफल भएको दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए । ‘बेदिङमा नाङ्गो तार नभएर इन्सुलेटर तार तानेका छौं,’ ढकालले भने, ‘गौरीशंकर–९ मा कतै पनि सडक नभएकाले हेलिकोप्टरबाट २ वटा ट्रान्सफरमर ढुवानी गर्दै छौं ।’ तार र खम्बा सबै सामान मानिसले नै बोकेर एक साता लगाएर पुर्‍याएको उनले बताए । रिकुबाट सुरमुच्चे, क्याल्चे, डोगाङ, ढाङठिक हुँदै बेदिङ प्रसारण लाइनमा जोडिएको हो ।

ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई विद्युत्का मिटर वितरण गरिने उनले जानकारी दिए । ‘विद्युत्का खम्बा दिगो हुने गरी नगाडिएको फेला परेमा पुनर्निर्माण पक्षलाई काम गर्न लगाउँछौं,’ उनले भने, ‘हिमालमुनि बिजुली पुगेको छ, समस्या आएमा सधैं जान सकिँदैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै