बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • काँग्रेस सच्चिने कि सकिने ?
विचार/ब्लग

काँग्रेस सच्चिने कि सकिने ?

  • नागरिक रैबार
काँग्रेस सच्चिने कि सकिने ?

इतिहासमा नेपाली काँग्रेसको स्थान सम्मानजनक छ । अघिल्लो पुस्ताले प्रजातन्त्र स्थापनार्थ भोगेको कठोर यातना, निष्ठापूर्ण बलिदान र दृष्टिकोणसहितको नागरिकप्रतिको उत्तरदायित्वकै कारण त्यो स्थान बनेको हो । इतिहासको सम्मान नहुँदा पनि त्यसको ब्याजले मात्र काँग्रेसलाई पछिल्लो ३० वर्षसम्म राजनीतिक मैदानमा उत्रिने बल प्रदान ग¥यो । अहिलेको पुस्ताले सङ्गठन निर्माणमा सिन्कोसमेत भाँचेको छैन, सैद्धान्तिक विषयमा पनि कहिल्यै बहस गरेन, खालि व्यक्तिगत लाभ वा हानि हुने अवस्थाबाहेक ।

आज पनि काँग्रेस एउटा शक्तिका रूपमा स्थापित भइरहनुको मुख्य कारण आस्थाका आधारमा कायम रहेको जनमतले मात्र हो । त्यो जनमतले अब सिद्धान्तहीन र विचारशून्य नेतृत्वलाई थेगिरहनुपर्छ भन्ने छैन ।

अहिलेको राजनीतिक पुस्ता नालायकै भएर नभनौँ, विचार शून्यताको परिणाम हो यो । त्यो शून्यता सिद्धान्तभन्दा सत्ता प्रधान ठान्ने चरित्रले निर्माण गरेको हो । चौधौँ महाधिवेशनको पूर्वसन्ध्यासम्म आइपुग्दा पनि पार्टीको भावी कार्यदिशा के हुने, समयसापेक्ष पार्टी सिद्धान्तको पुनर्ताजगीकरण कसरी गर्ने, युवा आकर्षण कसरी बढाउने, अबको काँग्रेस कस्तो हुने भन्ने सैद्धान्तिक विषयले ठाउँ पाएको छैन, पाउने गुन्जायस पनि देखिँदैन । आकाङ्क्षीको प्राथमिकता पार्टीको नेतृत्व कसरी हत्याउने भन्नेमा मात्र केन्द्रित छ । पार्टीको सभापति त एकजना पक्कै होला तर मुलुक, दलीय पद्धतिलाई सुहाउँदो र काँग्रेसलाई चाहिएको नेता कोही हुने छैन ।

विज्ञापन

विडम्बना, काँग्रेसमा पछिल्लो तीस वर्षदेखि एउटै मान्छे सांसद छ, मन्त्री पनि उही छ, मन्त्रीको आकाङ्क्षी पनि, प्रधानमन्त्रीको हकमा पनि त्यही लागू भइरहेको छ ।

बहुदल आएपछि जागिर खाएको सरकारी कर्मचारी सेवाबाट निवृत्त भइसक्यो । तर, काँग्रेस नेतृत्वको दौडमा आज पनि ०४८ मा सांसद भएको त्यही असफल पुस्ता छ । यसरी जनताले देखाएको काँग्रेसप्रतिको आस्था, इतिहासले सुम्पिएको दायित्व र भविष्यका काँग्रेसजनप्रति न्याय होला ? अझै त्यही व्यक्ति पूर्ण असफल साबित भइसक्दा पनि बाँचुन्जेल पार्टी र सरकारको नेतृत्व आफूले नै गर्ने चाहना राख्छ । फोहोर पोखरीमा रमाइरहने भ्याकुतोलाई अबिरल बगिरहने नदी देख्दा रिस उठ्नु स्वाभाविक हुन्छ, जुन काँग्रेसमा भइरहेको छ । त्यसैले निरन्तरता पाउने सङ्केत देखिएका छन् ।

अघिल्लो पुस्ताले स्थापित गरेको विश्वव्यापी लोकतान्त्रिक मान्यता र इज्जतको ब्याज मात्र खाएर फेरि पनि पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गर्दा इतिहासले पनि गिज्याउने छ । बीपीको बाटो छाडेका छैनौँ भनेर काँग्रेसजनलाई माओवादीमा भोट हाल्न लगाउनेहरूसँग मलाई अब एकपटक पार्टीको सभापति बनाउनुहोस् भन्ने नैतिक हैसियत बाँकी रहन्छ र ? माओवादीको वैशाखी र दलीय पद्धतिको उपहास गर्नेहरूसँग सत्तामा जान तम्सिनेहरूले काँग्रेस सिद्धान्तको वकालत गर्न अब सुहाउँदैन । इमानदार काँग्रेस कार्यकर्तालाई न्याय गर्ने हो भने ढाँटको राजनीति कतिन्जेल गरिरहने ?

आगामी निर्वाचनमा फेरि पनि माओवादीलगायत दलीय पद्धतिको धज्जी उडाउनेहरूलाई काँग्रेसजनले भोट हालेर विजयी गराउनुपर्ने परिस्थिति निर्माण गरिँदैछ भन्ने आवाज मुखरित भइरहेका छन् । यस्तो अवस्थामा पनि बीपीकै नाममा राजनीति गरिरहने नैतिक हैसियत बाँकी रहला र ?

सिद्धान्तलाई खोपामा थन्क्याएर काँग्रेसलाई वैशाखीमा चलाउने राजनीतिले निरन्तरता पाइरहँदा आस्थाका भोटर्सको चित्त कति दुखेको होला ? चौधौँ महाधिवेशन विचारशून्य र थाकेकाको होइन युवा आकर्षणको थलो बन्नुपर्छ भन्ने आवाज त्यसै उठेको होइन । किनकि पार्टी जेसुकै होस् आफ्नो, आफूलाई सत्तामा पु¥याउन सघाउने र आफ्नाको अभीष्ट पूरा गरेरै छाड्ने नेतृत्वको कार्यशैली काँग्रेसलाई जोगाउनेभन्दा मास्न उद्यत देखिन्छ ।

दुःखका साथ भन्नैपर्छ सहमति, सहकार्य र एकताको राजनीतिले काँग्रेसको ऐतिहासिक विरासतमा बिराम लाग्ने सङ्केतहरू देखिँदैछन् । जसको निरन्तरताले काँग्रेसको साख समाप्त पार्ने छ ।

हामी नरहे पनि पार्टी रहोस् भन्ने नेताहरूले अभिभावकत्व दिएको पार्टी हो काँग्रेस तर आज म रहेसम्म मात्र भए पनि पार्टी रहनुपर्छ तर मेरै नेतृत्व हुनुपर्छ भन्ने मानसिकता बोकेका नेताको पछि लाग्दा महाधिवेशनमा उपस्थित प्रतिनिधिलाई पनि लज्जाबोध हुनसक्छ । नैतिकता, विचार शून्यता, स्पष्ट दृष्टिकोण र भावी कार्यदिशाबिनाको नेता कसरी बाँचुन्जेल योग्य होला ? नेतृत्व तहमा रहेका कुनै पनि नेताबाट अबको काँग्रेस चल्दैन, सुध्रिएर पनि चल्दैन ।

हो, सत्तापरस्त राजनीतिका कारण मुलुकलाई यो अवस्थासम्म ल्याउन बाह्रबुँदे सम्झौतादेखि आजसम्म काँग्रेस धेरै ठाउँमा चुक्दै आएको छ । समयको गति त उसले कहिल्यै पछ्याउन सकेन । पेसागत सङ्घसङ्गठन र प्रजातन्त्रका पक्षमा वकालत गर्ने बौैद्धिक जगत्को विश्वास पनि गुमाएको छ ।

नागरिकसँग टुटेको सम्बन्ध जोड्ने सूत्र खोज्न पनि नेतृत्वले कहिल्यै चाहेन । नागरिकसँग टुटेको सम्बन्धलाई दिगो र प्रगाढ बनाउनुको सट्टा कम्युनिस्ट फुटको फाइदालाई निर्वाचनमा जित्ने आधार देख्ने नेतृत्व र कथित दोस्रो पुस्ताबाट काँग्रेसको प्रतिष्ठा कदापि जोगिने छैन । झन् बीपी, गणेशमान र महेन्द्रनारायण निधिको उत्तराधिकारीको नाममा कथित सिन्डिकेट बैठक चलाउनेहरूको अहिलेको राजनीतिले पार्टीलाई झनै पतनको दिशामा लैजानेछ । देउवा र पौडेललाई छाडेर बाँकी रहेका वरिष्ठ नेताहरूलाई सँगै राखेर नेतृत्वको दाबी गर्ने हिम्मत गर्न सकेको भए बैठकको मान्यता रहन सक्थ्यो ।

पार्टी माओवादीको एजेन्डामा हिँडेको आरोप कायमै रहेको र उसैसँग सत्ता सहकार्यको गृहकार्य चलिरहँदा पार्टीलाई हुने फाइदा÷ बेफाइदाबारे बहस चलाउन उनीहरू उचित ठान्दैनन् । एकातिर माओवादीसँगै सत्ता साझेदारीका लागि भइरहेको अभ्यासमा सघाउने र अर्कोतिर इमानदार काँग्रेसको साथ लिन खोज्ने विरोधाभासपूर्ण राजनीतिले राजकुमारहरू गन्तव्यमा पुग्लान् ? बीपी, गणेशमान र महेन्द्रनारायणले पनि उनीहरूका छोराले जस्तो सिन्डिकेटको राजनीति गरेको भए आज नेपाली काँग्रेस भन्ने शब्द शब्दकोशमा समेत भेटिने थिएन ।

आजैबाट छाडिदेऊ वर्ग विभाजनको राजनीति । राणा कसरी सकिए, काँग्रेसको क्रान्तिले ठूलो धक्का दिएकै थियो तर एबीसी भनेर वर्ग विभाजन नभएको भए राणाको अवसान त्यति छिटै हुने थिएन । राणाको सिको गरेर काँग्रेसलाई पतनको दिशामा लैजान खोज्नेहरूबाट इमानदार काँग्रेस बेलैमा सजग हुन आवश्यक छ ।

हो, सिद्धान्त र प्रतिस्पर्धाको राजनीतिमा लिगेसी र पुस्तान्तरणको राजनीति हुँदैन । यहाँ सिद्धान्तको राजनीतिले विश्राम लिएकाले युवाले नेतृत्व गर्छन् कि भनेर त्यस्ता आवाजलाई महत्त्व दिइएको हो, तर त्यस्तो सङ्केत देखिएको छैन । अमेरिकाजस्तो मुलुकमा बाराक ओबामापछि डेमोक्र्याट पार्टीका वृद्ध नेता जो बाइडेन जनताको विश्वास जितेर राष्ट्रपति भए । के त्यहाँका नागरिकले नालायक भएर बुढो नेतालाई जिताएका होलान् ?

दलीय राजनीतिमा सिद्धान्त, नीति र कार्यक्रमप्रति भरोसा भएपछि पुस्ताको राजनीतिको अर्थ हुँदैन । यहाँ त नीति र कार्यक्रम होइन साम, दाम, दण्ड र भेद प्रयोग गरेर नेतृत्व लिने र कार्यकर्ताको भावनामा खेलबाड गर्ने राजनीतिले प्रश्रय पाएकाले राजनीति शब्दकै बदनाम भइरहेको छ । विडम्बना, प्रजातन्त्रको लिगेसीबाट बनेको काँग्रेसजस्तो पार्टीसमेत त्यसबाट अछुतो रहन सकेन । इमानदार युवा काँग्रेसजन अब दाजुहरू र राजकुमारहरूको मुख होइन, पार्टीको भविष्य हेर । यस्तो नेतृत्व खोज, जसले भावी पुस्तालाई पनि काँग्रेसको नाममा राजनीति गर्ने मैदान फराकिलो बनाइदिन सकोस् ।

अर्कोतिर मुलुकलाई अस्थिरताको दुष्चक्रमा फसाइरहन छिमेकीले पनि आफूलाई सहज हुने व्यक्ति दलीय नेतृत्वमा आओस् भन्ने चाहना राख्छ । अरूको इच्छा पूरा गर्ने व्यक्तिका कारण मुलुकले दुःख पाइरहेका बेला सच्चा देशभक्त र प्रजातन्त्रवादीको हातमा नेतृत्व लैजाने प्रयास गर, जसको छहारीमा सबै काँग्रेसजन अटाउन सकून् । धर्मसंस्कृति नै पहिचान भएको नेपालजस्तो मुलुकमा धार्मिक स्वतन्त्रताको वकालत गर्ने व्यक्ति छानौँ, सापेक्ष र निरपेक्ष पक्षधर होइन ।

बीपीले धार्मिक स्वतन्त्रताको पहिचान छाडेर गएका होइनन् र ? कसैको प्रभाव र दबाबबिना पार्टी र सत्तामा पुग्दा मुलुकलाई बिना हस्तक्षेप चलाउने हैसियत भएको व्यक्ति आयो भने त्यसले इमानदार काँग्रेसको भावना बुझ्न सक्छ । उमेर र पुस्ताको राजनीति उचित होइन भन्दै गर्दा पनि ६० कटेको कुनै नेताबाट पनि त्यो आशा र विश्वास गर्ने ठाउँ बाँकी छैन, जो उनीहरूकै क्रियाकलापले देखाइरहेको छ । किनकि पछिल्लो ३० वर्षमा ७० नकटेको नेताले दाइहरूको सेवामै आफ्नो भविष्य देख्यो न कि काँग्रेसको इज्जतमा ।

अझै अनिश्चित महाधिवेशनमा सभापतिका लागि अस्वस्थ होडबाजी चले पनि क्रियाशील सदस्यता विवाद टुङ्गिने छाँटकाँट देखिएको छैन । सदस्यता विवाद सिन्डिकेट, गुटगत र व्यक्तिगत राजनीतिको उपज हो । काँग्रेसलाई छान्ने काँग्रेसीलाई फाल्ने नीतिलाई मात्र केन्द्रमा राख्ने हो भने कुनै विवाद बाँकी रहन्न । गाउँ, क्षेत्र र जिल्लाका कार्यकर्ताले अब पनि गुटका आधारमा नेतृत्व छान्ने प्रवृत्ति कायम राखे भने उनीहरूले पनि काँग्रेसका नाममा राजनीति गर्न छाडिदिए हुन्छ । देउवा, पौडेल वा राजकुमारहरूको अक्षमताले होइन पार्टीको भविष्य गाउँ, क्षेत्र र जिल्लाबाट चुनिएर आउने प्रतिनिधिको विवेकमा निर्भर रहनेछ । जिल्ला–जिल्लाबाट कसैको कोटाका पात्र वा काँग्रेसीलाई होइन काँग्रेसलाई पठाउनुस् । कसैलाई नेतृत्वमा कायम राखिरहन र कसैलाई नेतृत्वका इच्छा पूरा गर्न पार्टीलाई पतनको दिशामा लैजानेबाट जोगाउने जिम्मा महाधिवेशन प्रतिनिधिको काँधमा आएको छ ।

हो, युवा पुस्ताबाट आशावादी हुने ठाउँ बन्दै गएको थियो तर काँग्रेस शुद्धीकरणको पक्षमा निरन्तर उभिएका युवालाई केपी ओलीको संविधान, नियम र कानुन लत्याएर हिँड्ने शैलीले विपक्षमा उभिन प्रेरित ग¥यो । उदीयमान युवा पनि अब काँग्रेस नेतृत्वमा सरकार बन्छ भनेर माओवादीसँगको सहकार्यमा हिँड्न उत्प्रेरित हुनु भनेको काँग्रेसका लागि फलदायी होइन । ओली फाल्ने ‘कज’मा अरू पार्टीसँग भएको एकता रणनीतिक हुनुपथ्र्यो तर सत्ता स्वार्थलाई बलियो बनाउन त्यो एकता निर्वाचन नहुँदासम्म कायम राख्ने सहमति भएको हल्लाले काँग्रेसले फेरि बाबुराम भट्टराई र प्रचण्डहरूलाई भोट हाल्नुपर्ने अवस्था आउनेछ, जुन कुरा काँग्रेस पतनको मुख्य कारण बन्नेछ । यो विषय सिद्धान्तवादी काँग्रेसले महाधिवेशनमा एजेन्डा बनाउनुुपर्छ ।

सङ्घर्षशील र सिद्धान्तवादी काँग्रेसले भन्नुपर्छ, ‘अब कुनै व्यक्तिको मुख हेरेर दबाब र प्रभावमा निर्णय हुँदैन । काँग्रेस पुनर्जागृत हुने नीति ल्याउनुस्, समयसापेक्ष सिद्धान्तको व्याख्यासहितको विश्वासिलो आधार प्रस्तुत गर्नुस्, जुन आधार आम काँग्रेसजनको एजेन्डा बन्न सकोस् । जुन व्यक्ति गुटको नभई सबैको नेता हुन सकोस् ।’ गणेशमानलाई सर्वोच्च नेता पदले नबनाएको यहाँनेर स्मरणीय छ ।

महाधिवेशनमा कस्ता विषय उठ्नुपर्छ ?

काँग्रेसको स्थापनाकालीन सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अपरिवर्तनीय जस्तै छन् । यसको समयसापेक्ष पुनव्र्याख्या र सङ्गठन पुनर्निर्माणबारे गतिलो बहस आवश्यक छ । काँग्रेस शुद्धीकरणका लागि गुटबन्दी र तदर्थवादी संस्कृतिको समुल नष्ट सिङ्गो हलको एजेन्डा बन्न सक्नुपर्छ ।

धर्मका बारेमा काँग्रेस स्पष्ट हुनुपर्छ । धर्म निरपेक्ष र सापेक्ष होइन, धार्मिक स्वतन्त्रताको पक्षमा एकजुट हुनु उसको कर्तव्य हो । बीपीको नाम भजाइरहनेले चार तारामध्येको एउटा ताराको व्याख्या धार्मिक स्वतन्त्रता हो भनेर किन भन्न सक्दैन ? कोही हिन्दुराष्ट्र भन्ने कोही धर्मनिरपेक्ष ठीक भनेर हिँड्दा कसलाई नोक्सान पुग्ला ? एउटै पार्टीका नेताको एउटै दृष्टिकोण हुनुपर्ने होइन र ? मुलुकलाई नै प्रभाव पार्ने मुद्दामा व्यक्तिगत स्वतन्त्रताको कुरा उठ्नु हुँदैन ।

अबको नेतृत्वमा ‘प्लस टु’ पुस्ताको इच्छा, आकाङ्क्षा र भावना बुझेर त्यसैलाई आत्मसात गर्न सक्ने व्यक्ति आउन आवश्यक छ । जसले महाधिवेशनमा प्रस्तुत गर्ने दृष्टिकोणसहितको कार्ययोजना र भावी कार्यदिशालाई सिङ्गो हलले अनुमोदन गरोस् । नयाँ युवा हामीलाई आजै सेवा चाहिन्छ भन्छ तर काँग्रेस ०७ सालमा हामीले क्रान्ति गरेका थियौँ भनेर युवाको विश्वास जित्न सकिन्न ।

विदेशिएका युवालाई स्वदेश फर्काउने र विदेशिन चाहने युवालाई स्वदेशमै कसरी रोक्ने भन्नेबारे स्पष्ट खाका प्रस्तुत हुनुपर्छ । युवाले आर्जन गरेको शिक्षा, ज्ञान, श्रम र सीप स्वदेशमा उपयोग गर्न कस्तो किसिमको नीति ल्याउने, युवालाई स्वदेशमै रमाउन सक्ने बनाउन कस्तो कार्यक्रम ल्याउँदा उचित हुन्छ । मानसिक असन्तोष, आक्रोश, पीडा र यातना सहेर कठोर बाध्यताको बन्दी भएर कुन युवा स्वदेशमा रमाउन सक्छ ? यस्तो युवालाई परिचालन गर्न सक्ने नीति र कार्यक्रम नभएसम्म मुलुकको उन्नति, एकता र समृद्धिको कल्पना कसरी गर्न सकिन्छ ? यो महाधिवेशनको मुख्य एजेन्डा बन्नुपर्छ ।

दरो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा निर्वाचित शासकबाट प्रजातन्त्र लुटिएको र राष्ट्रियता इतिहासमै कमजोर भएको विषय महाधिवेशनमा उठ्नुपर्छ । काँग्रेसलाई सकिन दिने कि सच्याउने यो विषय पनि महाधिवेशनको एजेन्डा बन्नुपर्छ ।

अन्त्यमा,

हामी राजनीतिमा कहाँ चुक्यौँ ? नेतृत्वले पार्टीको विचारधारा बिसर्जन भइसक्दा पनि नेतृत्व हस्तान्तरण गर्न किन चाहिरहेको छैन ? राजनीतिलाई सकारात्मक होइन, प्रतिस्पर्धीको गल्ती देखाएर आफू ओभानो बन्ने राजनीतिक संस्कार किन हाबी भइरहेको छ ? नयाँ पुस्ताले किन आसे मात्र भएर बसिरहेको छ भन्ने विषय महाधिवेशनको एजेन्डा बन्नुपर्छ ।

हो, राजनीतिमा महत्त्वाकाङ्क्षा चाहिन्छ तर त्यो राष्ट्र र नागरिक हितका लागि हुनुपर्छ सत्ता र शक्तिका लागि होइन । सत्यको जित हुनुपर्छ, सत्यको पक्षमा उभिन साहस नगर्नेहरूबाट काँग्रेस हारिरहेको छ । अब कम्तीमा व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिमा बहस जरुरी छ । फुटेको कम्युनिस्ट घटक लिएर सत्ताको नेतृत्व गर्न -याल चुहाउने हो भने काँग्रेस त सकिने नै छ, इतिहासले पनि माफ गर्ने छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार