होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिबिरानीले पाएको नयाँ जीवन
समाचार

बिबिरानीले पाएको नयाँ जीवन

  • नागरिक रैबार
बिबिरानीले पाएको नयाँ जीवन

१८ असार, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३१ वर्षीय पेमा डिम्डुङ परिवारको २८ वटा चौँरी छन् । उनले एक हप्ताअघि लौरीविना भन्ने जँगलमा रहेको चौँरीगोठ लगे ।

चौँरीगोठमा पेमासहित उनकी श्रीमती बिबिरानी तामाङ र नौ वर्षका छोरा पनि गए । ३२ वर्षीया बिबिरानी गर्भवती थिइन्, तर श्रीमानलाई सघाउन हुन्छ भनेर चौँरीगोठ गएकी थिइन् । तर मंगलबार उनी केही अस्वस्थ भइन् ।

 

विज्ञापन

दिदी अस्वस्थ भएको खबर पाएपछि भाइ रेञ्जेन दिदी–भिनाजुको चौँरीगोठ पुगे । दिदीलाई सुत्केरी व्यथाले च्यापेको रहेछ । नर्मल डेलिभरी होला भन्ने अपेक्षा थियो । तर प्रसव पीडाले गाह्रो भएपछि रेञ्जेन झण्डै चारघण्टा हिँडेर चन्दनबारीस्थित नेपाली सेनाको पोष्टमा आए र सैनिक अधिकारीसँग सहयोगको याचना गरे ।

नेपाली सेना उद्धार गर्न तयार भयो । स्ट्रेचर र प्लास्टिक बोकेर नेपाली सेनाको टोली चौँरीगोठ पुग्दा पानी दर्किरहेको थियो भने बिबिरानी सुत्केरी व्यथाले छट्पटाइरहेकी थिइन् । ‘चिसोबाट बचाउन दिदीलाई कम्बल ओडायौं, बाहिरबाट सेतो प्लास्टिकले बेर्‍यौं,’ रेञ्जेनले भने, ‘अनि दिदीलाई स्ट्रेचरमा राखेर धुञ्चेतर्फ झर्‍यौं । अँधेरी रात भएकाले टर्चको सहायताले बाटो पहिल्याउँदै अघि बढ्यौं ।’

त्यो कहाली लाग्दो रात सम्झँदै रेञ्जेन भन्छन्, ‘स्ट्रेचरबाट दिदीले मलाई बचाऊ भनिरहनु भएको थियो । भारी वर्षा र साँघुरो गोरेटोमा हिँड्न त्यति सहज थिएन ।’

रातभरको त्यो कष्टकर हिँडाइपछि बिहान करिब सात बजेतिर जिल्ला अस्पताल धुञ्चे आइपुगेको उनी बताउँछन् । अस्पताल आइपुगेको झण्डै आधा/एक घण्टाको बीचमा बिबिरानीले सकुशल बच्चा जन्माएको रेञ्जेन बताउँछन् ।

‘नेपाली सेनाको टोलीले सहयोग नगरेको भए सायद मेरो दिदी यो संसारमा… ’ रेञ्जेन भावुक भए ।
दिदीले नयाँ जीवन पाएको र गर्भमा रहेका भान्जालाई समेत बचाउन सकेकोमा खुशी रेञ्जेन सेनाले गरेको सहयोगको जति प्रशंसा गरेपनि कम हुने बताउँछन् ।

यसरी गरिएको थियो उद्धार

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि चन्दनबारीमा नेपाली सेनाको विष्णु दल गणको एउटा सानो टुकडी छ । बिबिरानीलाई सुत्केरी व्याथाले च्यापेपछि भाइ रेञ्जेन अस्पताल लैजान सहयोग माग्दै बुधबार राति सैनिक टुकडीमा आएका थिए ।

धुञ्चेस्थित विष्णु दल गणका सेनानी टिकाराम चौलागाइँ सुत्केरी महिलाको उद्धार गर्दाको अनुभव यसरी सुनाउँछन् :

बुधबार रातिको १० बजेको थियो होला । चन्दनबारीस्थित नेपाली सेनाको सानो टुकडी छ । जमदारको कमाण्डमा सो टुकडीमा नेपाली सेना बस्दै आएका छन् । एकजना महिला सुत्केरी व्यथाले छट्पटिरहेको खबर जमदार सा’ब समक्ष आएपछि मलाई खबर भयो । रात छिप्पिसेकेको थियो र पानी पनि परिरहेको थियो ।

तर मैले तत्काल रेस्क्यू गर्न भनेँ । स्ट्रेचरको सहयोगमा सुत्केरी महिलालाई धुञ्चे ल्याउन ६ जना सेनाको टोली खटियो । गोरेटो बाटो ठाउँ–ठाउँमा बाढी पहिरोले बगाएको थियो । स्ट्रेचरमा सुत्केरी महिलालाई बोकेर हिँड्न कठिन थियो । तर हाम्रा जवानहरुले झिसमिसे उज्यालोमा देउरालीसम्म ल्याइपुर्‍याए ।

महिलालाई बोकेर आएका टोलीलाई पालो दिन धुञ्चेस्थित नेपाली सेनाको विष्णु दल गणबाट थप ६ जनाको टोली देउराली पुगेको थियो । यताबाट गएको टोलीले देउरालीबाट मिनी गोसाइँकुण्ड भन्ने स्थानसम्म ल्यायो । त्यहाँबाट झण्डै एक किलोमिटर वरसम्म गाडी पनि पुग्छ । जतिछिटो अस्पताल ल्याउन सके सुत्केरी र बच्चाको जीवन बचाउन सकिन्छ भन्ने लागेर गाडी त्यहाँ तयारी अवस्थामा राख्यौं र, बिहान करिब साढे ६ बजेतिर जिल्ला अस्पताल धुञ्चे ल्याइपुर‍्‍यायो ।

अस्पताल आइपुगेको करिब एक घण्टापछि बिहान साढे सात बजेतिर महिलाले सकुशल बच्चा जन्माइन् । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालबाट हामीले पाएका छौं । हाम्रो मेहनत र एकाग्रताका कारण आमा र बच्चा दुवै जना बचाउन सक्यौं । यसमा आमा र बच्चा दुवैको भाग्य पनि बलियो भन्नुपर्छ । जसका कारण हामीले समयमै अस्पताल ल्याउन सक्यौं ।

प्रशंसनीय कार्य : अध्यक्ष तामाङ

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले विषय परिस्थितिमा नेपाली सेनाले सुत्केरी व्यथाले चौँरी गोठमा अलपत्र परेकी महिलाको उद्धार गरेर मानवीय कार्य गरेको बताउँछन् ।

भारी वर्षा र अँधेरी रातमा पनि आफ्नो ज्यानको बाजी राखेर सुरक्षित तरिकाले सुत्केरी महिलालाई अस्पतालसम्म ल्याउने कार्य प्रशंसनीय रहेको उनी बताउँछन् ।

सेनानी चौलागाईंले राति नै आफूलाई फोन गरेर सुत्केरी महिलाको उद्धार भइरहेको जानकारी गराएको उनी बताउँछन् ।

स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भएपनि चौँरीगोठबाट बिरामीलाई त्यहाँ पुर्‍याउनुभन्दा धुञ्चेमा ल्याउन नजिक पर्ने भएकाले सेनाको टोलीले महिलालाई जिल्ला अस्पताल ल्याएको उनले बताए ।

 

‘उद्धार भएको ठाउँ गोसाइँकुण्ड धार्मिक ट्रकिङ मार्गअन्तर्गत पर्दछ । वर्षाका कारण अहिले त्यो ट्रेकिङ रुट पनि ठाउँ–ठाउँमा भत्किाएको छ । हिँड्न पनि सहज छैन । यस्तो अवस्थामा उद्धार गर्ने अर्को विकल्प नै छैन । समयमै सेनासम्म सूचना पुगेका कारण आमा र बच्चा दुवै जनालाई बचाउन सक्यौं’ अध्यक्ष तामाङ भन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार