होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वर्षेनी बढ्दै प्राकृतिक विपत्तिका घटना
समाचार

वर्षेनी बढ्दै प्राकृतिक विपत्तिका घटना

  • नागरिक रैबार
वर्षेनी बढ्दै प्राकृतिक विपत्तिका घटना

काठमाडौं । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्यांक हेर्दा २०७२ सालसम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकोमा पछिल्ला केही वर्ष (२०७५–२०७७)मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए ।

बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिरोबाट हुने क्षति बढ्दै जाने अर्को जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्यांकले नेपालमा मनसुनजन्य जोखिम थप चुनौतीपूर्ण रहेको देखिएको छ ।

 

विज्ञापन

विपद् व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पछिल्ला वर्षमा पहिराबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । उनका अनुसार विपद्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पछिल्लो दशक बाढीका कारण हुने मृत्यु दर घटेको तर पहिरोबाट हुने क्षति भने बढेको छ । बाढी र पहिरोजन्य घटना भने बढेको छ ।

‘मुख्यतः पूर्वसूचना प्रणाली तुलनात्मकरुपमा प्रभावकारी देखिएकाले र जनचेतना बढेकाले सावधानी अपनाउने क्रम बढ्दा बाढीबाट हुने क्षति घटेको हो, भलै कुनैकुनै वर्ष बढेको हुनसक्छ,’ देवकोटाले भने, ‘तुलनात्मक रुपमा पहिरोबाट मृत्यु बढेको छ ।’

यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको संख्या वृद्धि हुने तर रोकथामका उपाय नअपनाइनु भएको उनले बताए । अर्को कारण भने एकै ठाउँमा धेरै पानी (हाँडीघोप्टे पानी) पर्दा भेल पहिरोले जनधनको ठूलो क्षति गराएको छ । गत दुई वर्षमा सिन्धुपाल्चोक, बागलुङ, मनाङ, कास्की, तनहुँ, लमजुङ, पर्वतलगायत दर्जन जिल्लामा एकै ठाउँमा बढी पानी परेर भेल पहिरो आएको देखिएको छ ।

पछिल्लो एक दशक (२०६८–२०७७)मा विपद्का २४ हजार ५८६ घटना भए । उक्त विपद्बाट चार हजार ५६ जनाको मृत्यु भएकोमा त्यसको आधा मानवीय क्षति बाढी र पहिरोले गराएको छ ।
पछिल्लो एक दशक (२०६८–२०७७)मा विपद्का २४ हजार ५८६ घटना भए । उक्त विपद्बाट चार हजार ५६ जनाको मृत्यु भएकोमा त्यसको आधा मानवीय क्षति बाढी र पहिरोले गराएको छ । उक्त अवधिमा सबैभन्दा पहिरोले एक हजार २०५, दोस्रोमा चट्याङ्बाट ९९९, तेस्रोमा बाढीले ७९४ र चौथो नम्बरमा आगलागीले ७१० को ज्यान लियो ।

एक दशकको ६ वर्ष बाढीले बढी मानवीय क्षति गराएको छ । प्राप्त विवरणअनुसार पहिरोबाट बढी क्षति (२०६८, ७०, ७१, ७२, ७३ र ७७ मा क्रमशः १२६, १३१, १२९, १३५, १४७ र ३०१ को मृत्यु) भएको छ । चट्याङ्ले २०६८, ६९ र ७६ मा बढी मानवीय क्षति गरायो । बाढीले २०७४ सालमा मात्रै बढी क्षति (१६६ मृत्यु) गराएको छ भने आगलागीबाट २०७५ सालमा सबैभन्दा बढी ८९ जनाको मृत्यु भयो । विपद्बाट एक दशकमा ८१३ वेपत्ता र आठ हजार २२९ जना घाइते भए ।

एक लाख १९ हजार परिवार प्रभावित भएकोमा ५२ हजार ८३० घर आंशिक र ६ हजार ४५६ घर पूर्ण क्षति भएको छ । यसबाट कुल ३८ अर्ब ९५ करोड १४ लाख क्षति भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । आगलागी र चट्याङले नजानिँदो रुपमा मानवीय क्षति गराइरहे पनि घटना न्यूनीकरणको प्राथमिकतामा पर्न सकिरहेको छैन । यद्यपि यसपालिबाट भने आगलागीका घटना नियन्त्रणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चासो दिन थालेको छ ।

यसपटक हेलिकप्टरमार्फत आगलागी नियन्त्रणको प्रयास गरिएको थियो । यो नेपालमै पहिलो अभ्यास भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । विपद्का घटना बढ्न थालेपछि सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान शुरु गरेको छ ।

सरकारले विपद्बाट प्रभावितको पुनस्र्थापनका लागि अस्थायी आवास पुनर्निर्माण कार्यक्रमलाई समेत गएको वर्षबाट तीव्र रुपमा अघि बढाएको छ । विश्वकै अग्लोदेखि निकै होचो भूभाग रहेको र भिरालो जमिन प्रसस्त रहेकाले मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको छ ।

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः ११औं र ३०औं स्थानमा छ ।

जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्यांकमा नेपालमा ७० देखि ८० प्रतिशत जनसंख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसंख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेका छन् ।

मनसुनजन्य विपद्बाट क्षति रोक्ने पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दो सूचना संकलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने विपद्बाट ठूलो धनजनको क्षति हुने सम्भावना हुन्छ ।

समय परिस्थिति बुझेर आवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित गर्नुपर्ने विज्ञको सुझाव छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान, चट्याङ र आगलागीबाट हुने क्षति रोक्न उच्च तयारी आवश्यक छ ।

प्राधिकरणका प्रमुख पोखरेल जोखिम न्यूनीकरणमा ठूलो लगानी आवश्यकता रहेको औंल्याउँछन् । ‘जोखिम क्षेत्रका बस्ती सुरक्षित ठाउँमा लैजानुपर्छ, जोखिम आँकलन गरेर बीमा कार्यक्रम पनि चलाउन जरुरी छ,’ पोखरेलले भने, ‘पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हाम्रो उद्धार क्षमता वृद्धि गर्नु अत्यावश्यक भइसकेको छ ।’ उनका अनुसार २०७२ सालको भूकम्पपछि हेर्दा एउटाले अर्कोलाई तानेको देखिन्छ ।

‘भूकम्पले हल्लाएर पहाड कमजोर बनायो, त्यसले पहिरो निम्त्यायो, त्यही बग्दा बाढी बढ्यो, जलवायु परिवर्तनका कारण पानी पर्ने प्रणालीमा उथलपुथल ल्यायो’ पोखरेलले भने । अब त्यसबाट पाठ सिकेर कमजोर भूवनोट व्यवस्थापनका लागि विशेष योजना बनाउनु जरुरी रहेको उनको भनाइ छ । सरकारले ल्याएको विपद् व्यवस्थापनको महाअभियान त्यसैको एउटा कडी भएको उनले बताए ।

विपद्बाट कुन वर्ष कति क्षति ?

बाढी पहिरोका हिसाबले दशककै सबैभन्दा जोखिम वर्ष २०७७ बन्न पुग्यो । गएको वर्ष मुलुकले अकल्पनीय रुपमा मानवीय क्षति बेहोरेको छ । गत वर्ष औसत पानी पर्ने अनुमानका बीच केही ठाउँमा अतिवृष्टि भएर भेल पहिरो आएको थियो ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने भनिए पनि सिन्धुपाल्चोक र मनाङबाहेक गत वर्षको तुलनामा कम क्षति छ । यद्यपि वर्षा भने जारी रहेकाले चुनौती कायमै छ ।

२०७८ सालको हालसम्म

यो वर्षको अहिलेसम्म कुल एक हजार ३०८ विपद्का घटना भएका छन् । कुल १५१ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता छन् । यसमा सबैभन्दा बढी चट्याङबाट ३८ जनाले ज्यान गुमाएका छन् ।

पहिरोले ३४ र बाढीले २६ जनाको ज्यान लिएको छ । पहिरोले सबैभन्दा बढी २९ जना बेपत्ता बनाएको छ भने बाढीले सात र हावाहुरीले एक जना बेपत्ता पारेको छ । आगलागीबाट १२ को मृत्यु भएको छ । ६३ करोडको भौतिक क्षति भएको छ । यसपालि मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

२०७७ सालमा

२०७७ मा कुल चार हजार २०५ प्राकृतिक विपत्तिमा ५९१ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भए । यो दशककै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो ।

पहिरोले मात्रै ३०१ व्यक्तिको ज्यान लियो भने ६४ बेपत्ता भए । त्यसपछि आगलागीबाट ९७ र चट्याङबाट ७० जनाले ज्यान गुमाएका छन् । बाढीबाट ४२ को मृत्यु र ३७ वेपत्ता भए ।

२०७६ सालमा

यो वर्ष चार हजार ३४ विपद्का घटनामा ३८१ को मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता भए । यस वर्ष सबैभन्दा बढी चट्याङका कारण ८८ जनाले ज्यान गुमाए । पहिरोले ८३ र बाढीले ७३ को ज्यान लियो ।

२०७५ सालमा

यस वर्ष चार हजार १७२ घटनामा ३६६ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी आगलागी र पहिरोका कारण क्रमशः ८९ र ८८ जनाले ज्यान गुमाए ।

२०७४ सालमा

यस वर्ष दुई हजार ६२९ घटनामा ४४८ जनाको मृत्यु भयो । कुल ५७ जना बेपत्ता भएका छन् । उक्त वर्ष बाढीले १६६ र चट्याङका कारण १०५ को मृत्यु भयो । पहिरोले ७५ जनाको ज्यान लियो ।

२०७३ सालमा

२०७३ मा दुई हजार ५२९ विपद्का घटनामा ४२६ जनाले ज्यान गुमाए । कुल ४५ जना वेपत्ता भएको अभिलेख छ । जसमा सबैभन्दा बढी पहिरोले १४७, चट्याङले ११४ र बाढीले १०१ जनाको ज्यान लियो ।

२०७२ सालमा

यो साल विपद्का ९८९ घटनामा ३०० जनाले ज्यान गुमाए भने १६ बेपत्ता भए । जसमा सबैभन्दा बढी पहिरोबाट १३५ जनाले ज्यान गुमाएका छन् । चट्याङले ८३ र आगलागीबाट ७३ण् जनाको मृत्यु भएको छ ।

२०७१ सालमा

विपद्का एक हजार २२३ घटनामा ४४९ जनाको मृत्यु भएको छ भने २६२ बेपत्ता भए । उक्त वर्ष बाढीबाट १२९ मृत्यु र १३३ बेपत्ता तथा पहिरोबाट ११६ को मृत्यु र १२९ बेपत्ता भए । यो सबैभन्दा बढी मानिस बेपत्ता भएको वर्ष हो । चट्याङबाट १२६ ले ज्यान गुमाएका छन् ।

२०७० सालमा

उक्त वर्ष विपद्सम्बन्धी एक हजार ४८३ घटना भएकामा ३८८ को मृत्यु र १५५ जना बेपत्ता भए । सबैभन्दा बढी बाढीबाट १३१ जनाले ज्यान गुमाए । चट्याङबाट १११ जनाको मृत्यु भएको थियो । पहिराले ७९ जनाको मृत्यु भएको छ ।

२०६९ सालमा

त्यस वर्ष एक हजार ७३३ विपद्का घटना भए । त्यसमा परेर कुल २८२ जनाको मृत्यु भयो भने १५ जना बेपत्ता भए । सबैभन्दा बढी चट्याङबाट १३१ जनाको मृत्यु भयो भने पहिरोले ६८ र आगलागीबाट ६३ जनाले ज्यान गुमाए । बाढीबाट नौ जनाको मृत्यु भयो ।

२०६८ सालमा

कुल एक हजार ५७४ घटनामा ४२४ जनाको मृत्यु भयो भने ११९ जना बेपत्ता भए । यसमा बाढीबाट १२६, पहिरोबाट ११३ र चट्याङबाट १०३ जनाको मृत्यु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार