-डा असीम महत
आँगनमै अजंगको बाघ उक्लिन खोजिरहेछ
सबै घरभित्रै लुकेर बसेका छन्
घर सानो र पुरानो छ
झ्याल ढोकाहरु राम्रोसँग लाग्दैनन्
घरभित्र सबै सामग्री कमसल छन्
अनि तिमी भने घरको मझेरीमा पलेटी कस्छौ
र मस्तसँग शक्तिको लुडो खेल्न थाल्छौ
घरी खेलको नियम फेरबदल गर्दिन्छौ
घरी अरुको गोट्टी गायब पार्दिन्छौ
आज सारा संसार कोरोना थाम्न खोज्दैछ
तिमी भने यहाँ सत्ता थाम्न व्यस्त छौ
हैन, कस्तो बेमौसमी रमिता हो यो?
कम्तिमा कोरोनाको त मान राख्देउ!
तिम्रो र भाइरसको धेरै कुरा पो मिल्ने त
भाइरस मानव कोषमा छिर्न खुब संघर्ष गर्ने
तिमी कुर्सीमा पुग्न मरिहत्ते गर्ने
भाइरसले कोषमा छिरेपछि मानवकोषलाई ध्वस्त गर्ने
तिमी कुर्सीमा बसेपछी राज्यकोषलाई सखाप पार्ने
सायद त्यसैले त होला
अस्ति एउटा नाथे पिएचडी डाक्टर
तिम्रो हितैषी “निर्जीव बोसो”को बारेमा धेरै बोलेको
तिमीलाई कति चित्त बुझेको थिएन
आज सारा संसार कोरोनाको भ्याक्सिन खोज्दै छ
तिमी त्यै डाक्टरसँग जोरी खोजेर बस्दिन्छौ
हैन, कस्तो बेइज्जती प्रवृत्ति हो यो?
कम्तिमा कोरोनाको त मान राख्देउ!
तिमीले बाँडेको भनेको उहि त हो नि
केही पेटी आश्वासन
केही दर्जन भ्रम
अलपत्रलाई घर पुर्यापउने वाचा
भोकालाई छाक टार्दिने वचन
पक्कै पनि त्यसैले होला
हिजो एक जना खुबै युवा अभियन्ता भनाउदोले
गल्लि गल्लिमा पुगेर राहत बाँडेको
तिमीलाई कति सहिसक्नु भएन
आज पूरा दुनिया कोरोनाको उपचार खोज्दैछ
तिमी यस्तै अभियन्ताको उपचारमा खटिदिन्छौ
हैन, कस्तो अचम्मको प्रणाली हो यो?
कम्तिमा कोरोनाको त मान राख्देउ!
तिमीले लकडाउन त लगायो
तर लकडाउनको मर्म बुझेनौ
आफ्नो धर्म बुझेनौ
सायद त्यसैले होला
महाकालीपारी नै कपाल मुन्डन गरेर
वारी तिर आमाको अन्त्यष्टि हेर्दै
किरिया कर्म निभाउँदै छन छोराहरु।
नाभी पनि नसुकेको बच्चा बोकेर
सयौं किलोमीटर रगतमा लत्पतिदै
पैदल हिड्दै छन् तीन दिनका सुत्केरीहरु।
तिमीले बासको भाटामा झुन्ड्याएर दिएको
दुई केजी राहत अस्तिनै सकिएपछि
भोकभोकै परेका छन धेरै मजदुरहरु।
विश्व स्वास्थ्य संगठनकै मापदण्डमा टेकेर
तिमीले तयार पारेका यी एक कोठे क्वारेन्टाइनमा
अटेसमटेस खादिएका छन गाउँ सम्झेर फर्किनेहरु।
क्यामेरा अगाडी तिम्रो एन नाइन्टी फाइभ टल्किदाँ
ज्वरोका बिरामी अगाडी प्लास्टिकले ज्यान छोप्दै
अहोरात्र खटिएका छन् सेता कोटधारीहरु।
तर तिमीलाई त के मतलब!
मान्छे रोगले मरुन या भोकले मरुन
तिमी त आज पनि उत्तिकै उद्धत देखिन्छौ
आफ्नो पुरानै खेलमा कौशलता प्रदर्शन गर्न
महोदय, विनम्र अनुरोध छ
तिम्रा सिपहरु पछि फुर्सदमा हेर्दै गरौँला
अहिले थोरै कष्ट गरेर
यी भोको पेटमा हात मुसार्दै रात कुर्नेहरुको ख्याल राख्देउ
सिमानामा पराइ जस्तै अपहेलितहरुको इज्जत राख्देउ
दसौं दिन नाँगै खुट्टा पश्चिम हिडेकाहरुको ध्यान राख्देउ
कम्तिमा कोरोनाको त मान राख्देउ।।।
स्वास्थ्य खबर
फेसबुक प्रतिक्रियाहरु