कोरोना महामारीबीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालयका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ ।
रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको छ ।
विद्यालयका अधिकांश कम उमेर समूहका नानीहरुमा उच्च ज्वरो देखिएको छ । ८ वर्ष देखि १२ वर्ष सम्मका छात्रछात्राहरुमा १ सय डिग्री भन्दा माथि ज्वरो देखिएको विद्यालयका प्रधानाध्यापक सेवन्त गौतमले शिलापत्रलाई जानकारी दिए ।
उनले कोभिडको समयमा बिहान प्रार्थनाको समयमा सहभागी विद्यार्थीहरुको ज्वरो मापन गर्दा ती विद्यार्थीहरुलाई ज्वरो देखिएपछि नगर शिक्षासँग समन्वय गरेर तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको जानकारी दिए ।
‘केही दिनदेखि विद्यार्थीहरुलाई ज्वरो आएको पाइएपछि आज थर्मल गनले नाप्दा ५५ जना विद्यार्थीमा १ सय देखि एक सय २ डिग्रीसम्म ज्वरो देखियो,’ उनले भने, ‘एकैपटक विद्यार्थीलाई त्यसरी ज्वरो आएको देखेपछि आकस्मिक रुपमा नगर शिक्षा शाखासँग समन्वय गरेर विद्यालय बन्द गरिएको हो ।’
करिब ४ सय विद्यार्थी अध्यनरत रहेको सो विद्यालय खुलेसँगै जाडोको मौसमका कारण दैनिक डेढ सय देखी २ सय सम्म विद्यार्थीहरु पठनपाठनका लागि आउने गरेका थिए । नगर शिक्षा शाखाका प्रमुख रविन्द्र पण्डितले समस्या देखिएपछि तीन दिन स्कुल विदा गरिएको जानकारी दिए ।
‘विद्यार्थीमा ज्वरोसहित लक्षण देखिएपछि कोरोना संक्रमण भएको खण्डमा अन्य विद्यार्थीलाई पनि सर्न सक्न भएकाले विद्यालय बन्द गर्न हामीले निर्देशन दिएका हौं’, उनले भने, ‘भोलि बिहान स्वास्थ्य शाखासँग समन्वय गरेर लक्षण देखिएका विद्यार्थीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँछौँ ।’
दक्षिणपूर्वी मोरङको ६ पालिकाहरुको संयुक्त बैठकले १५ मंसिरदेखि स्वास्थ्य मापदण्ढ अपनाएर विद्यालय खोल्ने निर्णय गरे अनुसार विद्यालयहरु खुलेका थिए ।
रंगेली नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले उच्च ज्वरो देखिएका विद्यार्थीहरुको स्वाब संकलनको तयारी भइरहेको जानकारी दिए ।विद्यालयका अधिकांश कम उमेरका विद्यार्थीहरुमा ज्वरो देखिएपछि अभिभावकहरु चिन्तित बनेका छन् ।
फेसबुक प्रतिक्रियाहरु