होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कक्षा १२ को परीक्षा ४ हजार केन्द्रबाट
समाचार

कक्षा १२ को परीक्षा ४ हजार केन्द्रबाट

  • नागरिक रैबार
कक्षा १२ को परीक्षा ४ हजार केन्द्रबाट

काठमाडौँ — मंसिर ९ गतेदेखि देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा दिन पाउनेछन् । विगतमा करिब एक हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने गरेको थियो । यस वर्ष कोभिड–१९ का कारण होम सेन्टरमा नै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

विद्यार्थीले घरपायक परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । काठमाडौं उपत्यकाका ३ जिल्ला र अन्य जिल्लाका विद्यार्थीले अर्को जिल्लाबाट समेत परीक्षा दिन पाउनेछन् । पौडेलका अनुसार कुल परीक्षार्थीमध्ये करिब ५ प्रतिशतले अर्को जिल्लाबाट परीक्षा दिनेछन् । विद्यार्थीले प्रवेशपत्र भने आफैंले अध्ययन गरेको विद्यालयबाट लिनुपर्छ ।

 

विज्ञापन

संक्षिप्त परीक्षाका लागि बोर्डले नमुना प्रश्नपत्रसमेत सार्वजनिक गरेको छ । कुल पूर्णाङ्कलाई १०० प्रतिशत मानेर ४० पूर्णाङ्कमा बोर्डले लिखित परीक्षा सञ्चालन गर्न लागेको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । त्यसका लागि बोर्डले कार्यविधिसमेत स्वीकृत गरिसकेको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डर्का पदाधिकारी र सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । संघीय मामिला मन्त्रालयमार्फत स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिँदै परीक्षा केन्द्रमा स्वास्थ्य सेवाको डेस्क स्थापना गर्न भनिएको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पनि परीक्षा व्यवस्थापनको प्रबन्ध मिलाउन भनिएको छ । प्रश्नपत्र उपलब्ध गराउन असम्भव हुने परीक्षा केन्द्रमा इन्टरनेटको माध्यमबाट पुर्‍याउने तयारी गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले परीक्षा सञ्चालनका विषयमा शिक्षा सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष पौडेल, सदस्य सचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मासँग छलफल गरेका थिए । छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र पुर्‍याउन नसकिने केन्द्रका शिक्षकलाई इन्टरेनटका माध्यमबाट प्रश्नपत्र पठाउने व्यवस्था मिलाउनुपर्ने बताए । बोर्डका अनुसार एउटा कक्षाकोठामा बढीमा २० जना मात्रै परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्नेछ । रुघाखोकीलगायत कोरोनाको संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै कक्षाकोठाको व्यवस्था गर्नुपर्ने पौडेलले बताए । यसपालि ४ लाख ३२ हजार परीक्षार्थीले आवेदन फाराम भरेका छन् ।

 

वैशाख पहिलो साता सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन हुन लागेको हो । परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ हुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । परीक्षा सम्पन्न भएपछि विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेर बोर्डमा पठाउने र सम्परीक्षणपछि नतिजा प्रकाशन गर्ने प्रबन्ध गरिएको छ ।

त्रिविमा घरपायक केन्द्र

त्रिभुवन विश्वविद्यालयले छठपछि विद्यार्थीलाई घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । त्रिविमा करिब साढे ४ लाख विद्यार्थी अध्ययन गर्छन् । घरपायक परीक्षा सञ्चालन गर्न देशभर सर्वेक्षण भइरहेको रेक्टर शिवलाल भुसालले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न अनलाइन आवेदन माग गरेको छ । आवेदनका आधारमा प्रत्येक जिल्लामा कम्तीमा एउटा सेन्टर कायम गरेर परीक्षा सञ्चालन गरिने उनले बताए । त्रिविकै आंगिक र सम्बन्धनमा सञ्चालित क्याम्पसमा परीक्षा केन्द्र तोकेर स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइने भुसालले जानकारी दिए ।

प्रवेशपत्रसमेत अनलाइन प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘काठमाडौंमा पढ्ने विद्यार्थी नेपालगन्जमा छ भने उसले उतैको केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाउन लागिएको हो,’ उनले भने, ‘सकभर सबै संकाय र संस्थानअन्तर्गतको परीक्षा विद्यार्थीलाई घरपायक मिल्ने गरी लिन्छौं ।’ थोरै विद्यार्थी संख्या भएका संस्थान, संकाय र विषयको परीक्षा भने साविककै तरिकाले हुने त्रिविले जनाएको छ ।

विद्यार्थीको आवेदन रुजु गरेपछि तिहारअघि नै परीक्षा तालिका सार्वजनिक गरिने डिन कार्यालयहरूले जनाएका छन् । चैत ७ गतेदेखि त्रिविको परीक्षा रोकिएको छ । सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि कक्षा १२ र त्रिविको परीक्षा सञ्चालन हुन लागेको हो । कक्षा ११ को रोकिएको परीक्षा सञ्चालन गर्न विद्यालयहरू पनि समय तालिका सार्वजनिक गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार