होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • स्वदेशी फूलको मालामै यस वर्षको तिहार
विजनेश

स्वदेशी फूलको मालामै यस वर्षको तिहार

  • नागरिक रैबार
स्वदेशी फूलको मालामै यस वर्षको तिहार

२१ कात्तिक, काठमाडौं । नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को सातादेखि सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको भेटघाट, बत्तीको झिलिमिली, मिठा परिकार र फूलहरुको रौनक हामी सबैको मानसपटलमा घुम्छ । मलमासका कारण यस वर्षको दशैं–तिहार झण्डै एक महिना पछि सर्न पुग्यो । पर्व पछि सरे पनि प्रकृतिको चक्र त किन सर्थ्यो ? हाम्रा घर–पसल सिँगार्ने, गलामा पहिर्याइदिने मालामा प्रयोग हुने फूलले मखमली मौसमलाई थप रंगिन बनाइदिएका छन् ।

दिदी बहिनीको हातबाट टीका र माला ग्रहण गर्नु तिहारको सबैभन्दा महत्वपूर्ण पाटो हो । जसका कारण तिहार भन्ने बित्तिकै फूलकै चर्चा हुन्छ । यस वर्षको तिहारमा भाइटीका लगाउन आवश्यक फूल नेपालमै फूलेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

तिहारका लागि देशका ठूला सहरमा खपत हुने फूलहरु पठाउन व्यवसायी तयारी अवस्थामा रहेको नेपाल फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । यस वर्ष झण्डै १५ लाख माला बजारमा पठाइने छ ।

विज्ञापन

कोभिड–१९का कारण तिहारको रौनक कम हुनु र नेपालमै फूल खेती बढ्नु जस्ता कारणले यस वर्ष स्वदेशी फूल र मालाले नै आन्तरिक माग धान्ने एशोसिएसनका अध्यक्ष कुमार कसजु बताउँछन् । ‘यस वर्षको तिहारमा स्वदेशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ कसजुले भने ।

मुख्य बजारमा मखमली, सयपत्री र गुर्धौली फूलको माला पठाउनका लागि व्यवसायीहरुले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको पनि उनले बताए ।

ठूला बजारमा मालाको माग

तिहारकै लागि भनेर हरेक मानिसले आफूलाई चाहिने फूल घरमै फूलाउने भएकाले ठूला सहरमा मात्रै मालाको खरिद बिक्री हुन्छ ।

 

गत वर्ष देशभरका ठूला सहरमा झण्डै २५ लाख तयारी माला खरिद बिक्री भएको एशोसिएसनले जनाएको छ । यस वर्ष कोभिडका कारण मालाको माग अझै घट्न सक्ने व्यवसायीहरुको आँकलन छ ।

गत वर्ष भारतबाट करिब तीन लाख माला आयात भएको अनुमान गरिन्छ । सामान्य अवस्थामा फूलको कूल मागको धेरै हिस्सा स्वदेशी उत्पादनले नै धानेकाले यस वर्ष कोभिडका कारण भारतबाट फूल आयात नहुन सक्ने व्यवसायीहरु बताउँछन् ।

हरेक वर्ष ठूलो परिमाणमा फूल नेपाल भित्रिने बेलहिया नाकाबाट यस वर्ष फूलको कारोबार शून्य छ । गत वर्ष यतिबेला फूलको कारोबार निकै बढ्ने भएपनि अहिले नाकाबाट तिहारलक्षित फूल आयात शून्य रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा फूल आयात

फूल उत्पादनका लागि नेपाली हावापानी निकै अनुकूल भएपनि हरेक वर्ष नेपालमा करौडौंको फूल आयात हुन्छ । मानिसहरुको सौख तथा पर्वका कारण अमेरिका, चीनसहित विश्वका बिभिन्न देशबाट फूलहरु भित्रिने गरेको भन्सार विभागले जनाएको छ । यद्यपि नेपालमा धेरै मात्रामा फूल निर्यात भारतले नै गर्छ । प्रणय दिवस, तिहार र शिवरात्रीमा भारतबाट बढी मात्रामा नेपालमा फूल आयात हुन्छ ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा १० करोड बराबरको फूल नेपालमा आयात भएको थियो । यस्तै २०७५÷०७६ मा १९ करोडको फूल आयात भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै १० करोड रुपैयाँभन्दा बढीको फूल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार