होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वमाओवादीको ‘पातलो मसाल’ समूह ओली कित्तामा
समाचार

पूर्वमाओवादीको ‘पातलो मसाल’ समूह ओली कित्तामा

  • नागरिक रैबार
पूर्वमाओवादीको ‘पातलो मसाल’ समूह ओली कित्तामा

नेकपाको पूर्वमाओवादी समूहबाट ६ जना प्रधानमन्त्री केपी ओली कित्तामा पुगेका छन् । त्यसमध्ये ४ जना नेताको पृष्ठभूमि जे छ त्यसले ओली कति चलाखीसहित चलखेल गर्न सक्दा रहेछन् भन्ने तथ्य देखाईदिन्छ । प्रधानमन्त्री ओलीले पूर्वमाओवादीभित्रको असन्तुष्टि र पूर्वसमूहलाई मसिनो गरी केलाएको देखिन्छ ।

केस्राकेस्रा केलाएका ओलीले पूर्वमाओवादीभित्रको पुरानो समूह जो जहिल्यै किनाराकृत हुन्थ्यो, त्यो समूहका नेतालाई आकर्षित गरेको देखिन्छ ।

अर्थात, पूर्वमाओवादीभित्र चर्चामा रहने एउटा समूह तत्कालीन नेकपा (मसाल) अर्थात ‘पातलो मसाल’सँग जोडिएका नेतालाई ओलीले आफ्नो कित्तामा तानेका छन् ।

विज्ञापन

अहिले ओलीको कित्तामा लागेका टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, दीनानाथ शर्माको पृष्ठभूमि त्यही ‘पातलो मसाल’को पृष्ठभूमिसँग जोडिन्छ । उनीहरु विभिन्न समयमा प्रचण्ड नेतृत्वको नेकपा (मशाल) अर्थात ‘मोटो मशाल’ समूहमा आएका थिए ।

यो घटना भने ०४७ सालतिरको हो । त्यही विन्दुबाट पूर्वमाओवादीमा ‘मोटो मशाल’ र ‘पातलो मसाल’बीच द्वन्द्व थियो । पूर्वमाओवादीभित्र सशस्त्र युद्धकालदेखि नै ‘मोटो मशाल’ समूहले ‘पातलो मसाल’ समूहलाई किनाराकृत गर्ने मनोविज्ञान हावी थियो, जुन अद्यापी कायम थियो ।

त्यो बुझेका ओलीले अहिले ‘पातलो मसाल’ समूहका नेतालाई आफुतिर तानेर अर्का अध्यक्ष प्रचण्डलाई कमजोर बनाउन सफल देखिन्छन् ।

०४१ सालको नेकपा (मशाल)को महाधिवेशनमा मोहनविक्रम सिंह, मोहन वैद्य समूहको विवादकै कारण ०४२ सालमा विभाजनमा पुग्यो । र, सिंहले नेकपा (मसाल) नामका पार्टी स्थापना गरे । त्यसपछि ‘मोटो मशाल’ र ‘पातलो मसाल’ भने दुईटा पार्टी थिए ।

०४७ मा मोहनविक्रम सिंहको नेकपा (मसाल) बाट हरिबोल गजुरेल ‘शीतलकुमार’को नेतृत्वमा बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुले विद्रोह गरेर प्रचण्ड नेतृत्वको नेकपा (एकताकेन्द्र) प्रवेश गरे ।

०४७ साउनमा प्रचण्ड नेतृत्वका नेकपा (मशाल), निर्मल लामा नेतृत्वको नेकपा (चौम), रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठनवीच एकता भएर नेकपा (एकता केन्द्र) बनेको थियो ।

शीतलकुमारको नेतृत्वमा सिंहको नेकपा (मसाल)बाट केही नेता आएपछि नै नेकपा (एकता केन्द्र) मा मोटो मशाल र पातलो मसाल समूह बन्यो । जहिले पनि पातलो मसाल समूह अल्पमत र किनाराकृत भइरहेको थियो ।

दीनानाथ शर्माको टोली भने ०५७ सालमा माओवादीमा जोडिएको हो । पत्रकार तथा नेता महेश्वर दाहालको संयोजनमा शर्मा माओवादीमा जोडिएका हुन् । पातलो मसालबाट आएकै कारण शर्मा माओवादीमा गईसकेपछि पनि बाबुराम भट्टराई समूहमा लागे ।

युद्धकालकै समय ०६० मा भट्टराई, हिसिला यमीलाई प्रचण्डले कारबाही गर्दा दीनानाथ शर्मा पनि परेका थिए । शान्ति प्रक्रियामा आएपछि मात्रैले भट्टराईको कित्ता छोडेर प्रचण्ड समूहमा लागेका हुन् । यद्यपी, प्रचण्डको अति विश्वासिलो टीममा भने पर्दैनथे । त्यसैले पनि अहिले शर्मालाई ओली कित्तामा जान सहज भइदियो ।

माओवादीका तीन धार
पूर्वमाओवादीमा मुलतः तीन वटा समूह अप्रत्यक्ष रुपमा अन्तरसर्घषमा हुन्छन् । नेता र विचार समूहभन्दा पनि फरक ती समूहको सघर्ष खासमा एउटै समूहभित्र पनि हुने गर्छ ।

ती तीन समूहमा एउटा रोल्पा र रुकुम । सशस्त्र युद्धको समयदेखि नै रोल्पाली र रुकुमेली नेताहरुवीच द्वन्द्व हुने गरेको छ । सशस्त्र युद्धमा कसको योगदान कति भन्नेमात्र होइन, स्वामित्वको मुद्दामा समेत यो समूहभित्र संघर्ष छ ।

त्यसपछि अर्को समूह हो, पूर्व नेपालका माओवादी र पश्चिम नेपालका माओवादी । पश्चिम नेपालका माओवादीले पूर्वी नेपालका माओवादीलाई अघोषित रुपमा अवसरवादी भन्छन् । अर्थात युद्धको उत्तरार्धतिरमात्रै माओवादीमा जोडिन आएको भनेर उछित्तो काढ्छन् ।

हुन पनि, ०५६ पछि मात्रै पूर्वी नेपालमा माओवादीको सशस्त्र युद्धको बाछिटा आइपुगेको हो । र ०५८ तिर आईपुग्दा बल्ल पूर्वमा गति लिन लिन थालेको हो । तर, पश्चिम नेपालका माओवादीहरु युद्धको थालनी अगाडि नै ठूलो पंक्तिमा थिए । र, अर्को समूह हो मोटो मसाल र पातलो मसाल ।

मोहनविक्रम सिंहसँग विद्रोह गरेर सुरुमै हिडेका नेताहरु प्रचण्ड, मोहन वैद्य र सिपी गजुरेलहरु मोटो मसाल र पछि आउने बाबुराम भट्टराई , हरिबोल गजुरेल,टोपबहादुर रायमाझी, दीनानाथ शर्माहरु पातलो मसाल समूहमा पर्छन् । जसले गर्दा यो समूहवीच पनि द्वन्द्व थियो ।

पातलो मसालबाट आएका हरिबोल गजुरेल युद्धकै समयमा पातलो मसालको कित्ता छोडेर प्रचण्डको भित्रिया बन्न पुगे । अन्य नेताहरु प्रचण्ड समूहबाट बहिस्कृत भइरहनै रहे । अहिले ओलीले त्यही तीन समूहमध्ये मोटो मसाल र पातलो मसाल समूहमा खेलेर पातलो मसालका नेताहरुलाई आफ्नो समूहमा तान्न सफल भएका हुन् ।

बेवास्ताले बाहिरिए
प्रचण्डको भित्रियाका रुपमा चिनिएका लेखराज भट्टदेखि हरिबोल गजुरेलसम्म अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कित्तामा पुग्नुको कारण प्रचण्ड स्वय हुन् । पूर्वमाओवादीका नेताहरुको भनाइमा प्रचण्डले जानाजान कतिपय नेताहरुलाई किनाराकृत गरे भने कतिपयलाई निवासमा निम्ता नै गर्न छोडे ।

जब खुमलटारमा बर्षमान पुन र जनार्दन शर्माको निर्वाध आवतजावत बाक्लियो, त्यसपछि अरु नेताहरु पाखा लाग्दै गए । पुन र शर्माको अस्वाभाविक खुमलटार आवतजावतसँगै प्रचण्डले आफ्नो समूहका अन्य नेताहरुलाई वेवास्ता गर्न थाले । त्यसको खास कारण त खुलेको छैन, तर पुन र शर्माको कब्जामा खुमलटार परेपछि हरिबोल गजुरेल, लेखराज भट्ट, पम्फा भुसाल, मणि थापाहरु समय मागेर पनि प्रचण्डलाई भेट्न नपाउने अवस्था सिर्जना भयो ।

आफ्नै समूहको खास नेता मानिएका गजुरेल अचेल खुमलटार जाँदैनन् र प्रचण्डले हाइहेल्लो समेत गर्दैनन् । प्रचण्डको वेवास्ताकै कारण गजुरेल टाढिएको चर्चा छ । मणि थापा त युद्धकालदेखि नै प्रचण्डको पेलानमा परेका नेता हुन् । वीचमा पार्टी छाडेर हिडेका थापा जब एकताबाट जोडिए त्यसपछि पनि वेवास्ताको शिकार भए । कतिसम्म भने मुखमा आएको सांसद पद पनि प्रचण्डले थापाबाट खोसेर आफन्तलाई सुम्पिए ।

०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपतिक सांसदको सूचीमा रहेका थापा सांसद बन्दै थिए तर प्रचण्डले योजनाबद्ध रुपमा बाइपास गरेर अर्को अपांग क्लस्टरबाट प्रचण्ड सचिवालयमा काम गरिसकेका आफन्त चुडामणि खड्कालाई सांसद बनाए । त्यसपछि थापालाई राष्ट्रियसभा सदस्य बनाउने आश्वसन दिएका थिए । त्यो पनि पुरा गरेनन् । त्यसपछि प्रचण्डको वेवास्ताको शिकार भएका थापालाई ओलीको सचिवालयमा रहेका सूर्य थापाले कित्ता परिवर्तन गराउन भूमिका खेले । दुवैजना प्युठानवासी हुनुका साथै काठमाडौमा बसाई पनि नजिकै छ । सूर्य थापाकै पहलमा मणि थापाकी श्रीमती रञ्जना श्रेष्ठलाई जागिरको पनि व्यवस्था भएको हो ।

त्यस्तै हविगत भोगेका छन् टोपबहादुर रायमाझीले । पूर्वमाओवादीमा बाबुराम भट्टराई समूहका खम्बाको रुपमा चिनिएका रायमाझी नयाँ शक्ति पार्टी बाबुरामले बनाए पनि त्यता भने गएनन । बरु प्रचण्डसँगै बसेर उपप्रधान तथा ऊर्जामन्त्री भए । तर, अहिले प्रचण्डको उपेक्षा अनुभूति गरेका रायमाझीको महासचिव विष्णु पौडेलसँगको निकटताका कारण पनि ओली कित्तामा पुगेका हुन् । यता, लेखराज भट्ट भने प्रचण्डले सुदूरपश्चिमको नेता भीम रावल भनेपछि समूह परिवर्तन गरेर ओली कित्ताबाट सुदुरपश्चिमको नेता बन्ने आंकाक्षासहित कित्ता परिवर्तन गरेका हुन् ।

अर्का नेता प्रभु साह भने नेता माधव नेपाल फ्याक्टरको मुख्य कारण हो । त्यसमा मातृका यादव समूह पनि हो । पूर्वमाओवादीमा लामो समयदेखि यादव र साहको दुई समूह थिए । दुई समूहवीच पानी बाराबारको अवस्था मात्र थिएन, कुटाकुट पनि हुन्थ्यो ।

त्यसैले यादव प्रचण्ड समूहमा हुँदा साह बाबुराम समूहमा हुन्थे । दुई विपरीत धारमा रहने भएकै कारण अहिले प्रचण्ड समूहमा नेता नेपाल र यादव रहेकाले साह ओली समूहमा गएका हुन । प्रदेश २ मा साहको गठबन्धन सत्यनारायण मण्डलतिर जोडिने भने यादवको नागेन्द्र चौधरीसँग । भोलि माधव नेपाल र मातृका यादव ओली समूहमा लागे प्रभु साह प्रचण्ड कित्तामा आउँछन् ।

प्रचण्डले पूर्वएमालेमा प्रशस्त खेलेर शक्ति आर्जन गरेको पूर्वएमालेमा चर्चा भइरहँदा पूर्वमाओवादीभित्र पनि ओली कसरी खेलेर प्रचण्डलाई कमजोर बनाउन नेताहरु तानिरहेका छन् भन्ने देखाउन काफी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार