होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने !
समाचार

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने !

  • नागरिक रैबार
ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने !

काठमाडौं । जारी स्थायी कमिटी बैठककै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चरम अन्तरविरोध बढेको छ ।

गत आइतबार एक कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र अन्तरविरोध चुलिएको थियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिकै विषयमा नेकपाको स्थायी समितिको मंगलबारको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । बैठकमा ओली र प्रचण्डबीच भनाभन समेत भएको थियो ।

विज्ञापन

बैठकमा प्रचण्डले ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतका बोल्ने अधिकांश नेताहरुले पनि ओलीको चर्को आलोचना गर्दै उनले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

त्यसपछि अन्तरविरोध चर्किँदै जाँदा नेकपाभित्र गुटगत छलफल बाक्लिँदै गएको छ । ओलीविरोध खेमा छलफल मुलतः ओलीलाई कसरी हटाउने र ओली आफूलाई कसरी सुरक्षित गर्ने भन्ने रणनीतिमा देखिन्छन् । यहीअनुसार मंगलबारको स्थायी समिति बैठकमा आफ्नो राजीनामा मागिएसँगै बुधबार बिहान आफू निकटका मन्त्री र स्थायी समिति सदस्यसँग ओलीले छलफल गरेका थिए ।निकटहरुसँग परामर्श गर्दा उनले तीनवटा विकल्पमा छलफल गरेको बुझिएको छ । पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफू पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने ।

यस्तै ओलीलाई धक्का दिने गरी बुधबार बेलुका ललितपुरमा ओलीविरोधी खेमाको बैठक बस्यो । सचिवालयका ६ सदस्यसहित स्थायी समितिका ३० भन्दा बढी सदस्य सहभागी बैठकले ओलीविरुद्ध एकताबद्ध भएर अघि बढ्ने निर्णयमा गरेसँगै ओलीमाथि थप दवाव बढेको छ । दवाव यो अर्थमा पनि यो खेमा ओलीलाई हटाउन सक्ने मतका साथ थियो ।

बिहीबार बिहान भने दुबै पक्ष केही लचक हुँदै पार्टीभित्रको सन्तुलन मिलाएर अघि बढ्न सहमत भएका छन् । दुबै पक्षलाई ‘विनविन’ को माहोल बनाउने गरी बिहीबार बिहान प्रचण्ड निवासमा बसेको बैठकले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।

‘छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।

नेता हरिबोल गजुरेलले पनि छलफल र सहमतिबाट पार्टीको विवादलाई हल गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । ‘हामी सबै एउटा डुंगामा सवार छौँ । डुंगा डुब्यो भने हामी सबै डुब्छौँ,’ उनले भने, ‘छलफल र सहमतिबाट समस्या समाधान गर्नुपर्छ । पार्टी विभाजन हुन दिनुहुँदैन ।’ अर्थात नेताहरुबीच ओलीलाई दुई मध्ये एक पदबाट राजीनामा दिएर अघि बढ्ने विषयमा छलफल भएको छ । यद्यपी अब ओलीले यसलाई कसरी लिन्छन् त्यो हेर्न बाँकी नै छ ।

बिहीबारको छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए । त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै