पोखरा । गण्डकी प्रदेश सरकार ३ महिना १३ दिन मै ढलेको छ । एमालेको नेतृत्वमा माओवादी केन्द्र र राप्रपासहितको समर्थनमा गत पुस २५ मा बनेको सरकार दुवै पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो । अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि शनिबार प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।
विश्वासको मत पाऊँ भन्दै उनले पेस गरेको प्रस्ताव शनिबार बसेको गण्डकी प्रदेशको प्रदेशसभा बैठकले बहुमतले अस्वीकृत गरिदिएको छ ।
मुख्यमन्त्री अधिकारीको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ सांसदले मत जनाए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका (सभामुख बाहेक) ७, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् । जसमा सरकारले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक थियो । मुख्यमन्त्री अधिकारीले एमालेका २२ र राप्रपाका २ प्रदेशसभा सदस्यको मात्र मत पाए ।
माओवादी केन्द्र र राप्रपालगायतका सत्ता साझेदार दलहरूले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको हो । आजभन्दा २९ दिन अगाडि अर्थात् गत चैत १० गते माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै राष्ट्रपति निर्वाचनका बेला फेरिएको सत्ता समीकरणसँगै राप्रपाले पनि दुवै तहका सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो ।
अल्पमतमा परेको सरकारले समर्थन गुमाएको ३० दिनभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार मुख्यमन्त्री अधिकारीले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भन्ने प्रस्ताव पेस गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु