नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीबाट संचालित रेडियो पौरखीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
स्थापनाकाे १० वर्ष पुरा गरेको अवसरमा रेडियोले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफूल वितरण र रेडियोका पुर्व कर्मचारीलाई सम्मान र औपचारिक कार्यक्रम गरि मनाएको स्टेशन म्यानेजर रामबहादुर दानीले बताएका छन् ।
रेडियो सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादव, बडीमालिका ४ का अध्यक्ष अर्जुन नाथ सहीतको उपस्थितिमा आज विहान अस्पताल बाजुरामा उपचाररत विरामीलाई फलफूल वितरण गरेको हो ।
स्थापना दिवसकै अवसरमा रेडियो स्थापना कालदेखि कार्यरत कर्मचारी र काम गरिरहेका कर्मचारीलाई सम्मान र हौसला स्वरुप सम्मान गरिएको रेडियो सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादवले बताएका छन् ।
पाैरखी विकास संचार सहकारी संस्थाद्धारा संचालित रेडियो पाैरखीले दैनिक १८ घण्टा आफ्नो सेवा सञ्चालनमा गरिरहेको छ । पौरखीले आफ्नो १० वर्षे यात्राको समीक्षा र विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको छ ।
रेडियो संचालक समितिका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन रेडियाका स्टेशन म्यानेजर रामबहादुर दानीले गरेका हुन् । जिल्ला समन्वय समिति प्रमुख तुल्सीराम रोकाया प्रमुख अतिथि रहेको कार्यक्रममा बडीमालिका नगरपालिकाका पूर्व प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, प्रमुख प्रशाकीय अधिकृृत रंगमल विक र पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रकाश सिंहलाई समेत सम्मान गरेको छ ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापा, नेकपा एमाले नेता तुलाराम जैशी, काँग्रेस नगर सभापति गोपाल कार्की, बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, ८ नम्बर वडाका अध्यक्ष चन्द्र थापा, पत्रकार प्रकाश सिंह सहीतले शुभकामना मन्तव्य राखेका थिए ।
फेसबुक प्रतिक्रियाहरु