नागरिक रैबार/बाजुरा १६ बैशाख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ ।
हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा शुक्रबार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ ।
जिल्लाका ९ वटै पालिकाका लागि मृुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र आज मार्तडीमा आइपुगेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् ।
उनका अनुसार ९ वटै पालिकाका लागि ९३ हजार मतपत्र पुगेको बताए । जिल्लामा ८२ हजार ६९० मतदाता संख्या रहेको छ । मतदाताको आधारमा थप १० प्रतिशत मत पत्र पठाउने गरेकोले जिल्लामा ९३ हजार मत पत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन् ।
बडीमालिका नगरपालिका बाहेकका अन्य ८ पालिकामा सहायक निर्वाचन अधिृकत निर्वाचनमा खटाइसकेपछि नेपाली सेना,शसस्त्र प्रहरी बलको सुरक्षामा सहायक निर्वाचन अधिृकतसंग मत पत्र पठाउने मुख्य निर्वाचन अधिकृत घिमिरेको भनाई रहेको छ ।
विकट जिल्लाका रुपमा रहेको बाजुरामा एकै हिमाली गाउँपालिका लगातका पालिकामा मतपत्र पु¥याउन निकै सकस देखिएको छ । संघ र प्रदेशको निर्वाचनमा नेपाली सेनाको हेलिकप्टर मार्फत मतपत्र र मत पेटीका ओसार पसार हुने गरेको भएपनि स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत नै मत पत्र बोकेर जाने गरेका छन् ।
संचारको अभाव रहेको हिमाली लगायतका विकट वडामा मत पत्र सुरक्षित साथ मतदान केन्द्र पु¥याउन र ल्याउन समस्या हुने गरेको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु