होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • ‘पिर’ले देखाएका अनेक ऐया
विचार/ब्लग

‘पिर’ले देखाएका अनेक ऐया

  • नागरिक रैबार
‘पिर’ले देखाएका अनेक ऐया

केही दिन अघि मात्र प्रकाश सपुतको ‘पिर’ शीर्षकको गीत सार्वजनिक भएपछि जनजिब्रोमा झुण्डिएको मात्र छैन, यसले नेपाली समाजमा हलचल नै ल्याएको छ । गीतले माओवादी नेतृत्वको सशस्त्र संघर्षमा सक्रिय सहभागी भएका तर उक्त पार्टी शान्ति प्रक्रियामा आएपछि बेवास्तामा परेको अनुभव गरेका लडाकुहरूको व्यथालाई बलियो आवाज दिएको छ ।

यसले मानिसहरूलाई रुवाएको मात्र छैन, व्यापक राजनीतिक र सामाजिक ध्रुवीकरण समेत गराएको छ । ‘तिम्रो मयाँले मलाई पिर दियो’ भन्ने आशय व्यक्त गरिएको गीतमा चौतर्फी असफलता र बेवास्तापछि मुख्य पात्रमा उत्पन्न मानसिक थकाइ अभिव्यक्त गर्न ‘ऐया–ऐया’ भन्ने शब्द पनि प्रयोग गरिएका छन् ।

धेरै र फरक किसिमका राजनीतिक क्रान्तिपछि पनि खासगरी सीमान्तकृत वर्ग र समुदायका नेपाली जनताको अवस्था र व्यथा परिवर्तन हुन गाह्रै भइरहेको छ । गीतमा अभिव्यक्त ऐया–ऐया भुइँतहमा रहेका धेरै नेपालीको कष्टकर जीवनशैलीका कारण सृजित निराशाको अभिव्यक्ति बन्न गएको छ । नेपाली भाषामा विभिन्न परिस्थितिमा ऐया–ऐया भन्ने गरिन्छ ।

विज्ञापन

नेपाली बृहत् शब्दकोशका अनुसार ‘ऐया’को प्रयोग फरक फरक अर्थमा हुन सक्छ । शब्दकोशले ‘ऐया’लाई ‘चोटपटक लाग्दा, शरीर दुख्दा वा थाक्दा मुखबाट निस्कने शब्द’ भनेको छ । ऐयाको अलिक फरक अर्थ लाग्ने एउटा वाक्य नै शब्दकोशले उदाहरणका रूपमा प्रस्तुत गरेको छ । शब्दकोशले उदाहरणमा दिएको वाक्य यस्तो छ– ‘ऐया, धेरै हाँसियो बा आज त ।’ यसर्थ शारीरिक पीडा र थकान अभिव्यक्त गर्न मात्र होइन, विभिन्न किसिमका भाव तर अलि बढी उत्पन्न हुँदा पनि ऐया–ऐया भन्ने शब्द प्रयोग हुन्छ । यस लेखमा ऐया शब्दलाई यसका अनेक अर्थमा प्रयोग गरिएको छ ।

चर्चित गायक प्रकाश सपुतको यो गीत सार्वजनिक भएपछि यसले धेरैलाई तर भिन्न भिन्न कारणले ऐया–ऐया भन्न बाध्य पारेको छ । कतिपयले पीडाकै कारण ऐया–ऐया भनिरहेका छन् भने अरूले मुलुक चुनावमा अगाडि बढिरहँदा माओवादीलाई मर्का पार्ने गीत बजारमा आएको ठानेर मजा लिंदै ऐया–ऐया गरिरहेका छन् ।

गीतको सार यस्तो छ । माओवादीले नेतृत्व गरेको सशस्त्र युद्धमा समाज र मुलुकमा रचनात्मक र सशक्त परिवर्तनको आशा गर्दै विभिन्न तह, तप्का, जात, समुदायका पुरुष र महिलाहरू होमिए । तीमध्ये कतिले ज्यान गुमाए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भने ती लडाकु र माओवादीमा भिन्न भूमिकामा सक्रिय सबैको जीवन एउटै तरिका र शैलीले अगाडि बढेन, जुन स्वाभाविक पनि हो । केही सफल राजनीतिज्ञ बने, आर्थिक रूपमा समृद्ध भए, सामाजिक मान–प्रतिष्ठा कमाए । कोही सामान्य जीवनशैलीमा फर्किए ।

यसै मेसोमा केही अंगभंग भएका र घाइतेहरू भने नेपाल सरकार र माओवादी पार्टी दुवैको बेवास्तामा परेका छन् । नेपालको ऐतिहासिक राजनीतिक, सामाजिक परिवर्तन गर्ने सशस्त्र संघर्षमा भाग लिएका आफूहरूलाई सरकार र उनीहरूको पार्टी माओवादी (जो यसबीचमा पटकपटक आफैं सरकारमा सहभागी समेत भइसकेको छ) ले बेवास्ता गरेको ठानेर उनीहरूलाई दुःख लाग्नु स्वाभाविकै हो । यस्तै पात्रहरूकोे मनोविज्ञानमा दबेर रहेको ‘ऐया–ऐया’लाई यो गीतले श्रव्यदृश्य मार्फत सशक्त रूपमा अभिव्यक्त गरेको मात्रै हो ।

ऐयाका अनेक कारण

नेपाली समाजमा माओवादी सशस्त्र संघर्षलाई हेर्ने विभिन्न दृष्टिकोण भएका व्यक्ति र वर्ग छन् । यस्तो भिन्नता सर्वसाधारणमा मात्र होइन, बौद्धिक, इलिट र सञ्चारमाध्यममा समेत पाइन्छन् । माओवादी सशस्त्र संघर्षमा प्रत्यक्ष संलग्न भएका र हाल पनि पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा विभिन्न तहमा रहेका माओवादी नेता, कार्यकर्ताहरू सशस्त्र संघर्षलाई महान जनयुद्ध भन्छन् । भूराजनीतिक कारणहरूले सशस्त्र संघर्षले उनीहरूले चाहेको जनगणतन्त्र स्थापना गर्न नसकेको उनीहरू विश्वास गर्छन् । नेपाललाई गणतन्त्र बनाउन, संविधानसभा मार्फत संविधान लेखिन र नेपालको संघीय रूपान्तरणमा माओवादी सशस्त्र संघर्षको ठूलो योगदान रहेको उनीहरू विश्वास गर्छन् ।

त्यस्तै नेपालमा सीमान्तकृत वर्गहरूलाई दिइएको आरक्षण, महिला, जनजाति, दलित मधेशी लगायतको सबलीकरण र मूलधारीकरणमा उनीहरूको योगदान रहेको उनीहरूको विश्वास र दाबी हुन्छ । नेपालको राजनीतिमा भएका यी उपलब्धिमा कांग्रेस र एमाले लगायत दलको भूमिकालाई अवमूल्यन गर्न सकिंदैन तर माओवादीलाई यसको महत्वपूर्ण श्रेय दिन कन्जुस्याईं गरिरहनुपर्दैन ।

यस्तो विश्वास गर्ने समूह सपुतको गीतले यथार्थ नबुझी माओवादीमाथि प्रहार गरेको भन्ठानेर ऐया–ऐया गरिरहेको छ । यो वर्ग गीतलाई विभिन्न तरिकाले आधारहीन देखाउन लागिपरेका छन् । उनीहरूको आलोचनाका आधार (यसबारे यही लेखमा केही पछि छलफल हुनेछ) कमजोर भएकाले सपूतको गीतको लोकप्रियतालाई उनीहरूले प्रभाव पार्न सक्ने देखिन्न । विवादले सपुतको गीतलाई उल्टै थप लोकप्रिय बनाइरहेको देखिएको छ ।

नेपालमा अर्कोथरी वर्ग भने माओवादी सशस्त्र संघर्ष नेपालका लागि कत्ति पनि आवश्यक थिएन भन्ठान्छ । बहुदलीय व्यवस्था स्थापना भएको करिब पाँच वर्षमा र पहिलो संसदीय निर्वाचन भएको तीन वर्षमै लोकतान्त्रिक सरकारलाई नै अप्ठेरोमा पार्ने गरी सशस्त्र संघर्ष सुरु गर्नुले माओवादीको नियत नै ठीक नभएको देखाउने दाबी उनीहरूको हुन्छ । सयौं वर्षदेखि थिग्रिंदै र बलियो हुँदै आएको सीमान्तीकरणका समस्या निराकरण गर्न भन्दै भर्खर शिशु अवस्थाको लोकतान्त्रिक प्रणाली विरुद्ध हतियार उठाउनुपर्ने बाध्यता माओवादीलाई किन आइलाग्यो भन्ने उनीहरूको प्रश्न हुन्छ ।

माओवादीले चित्तबुझ्दो तरिकाले यो प्रश्नको उत्तर दिन अझै सकेका छैनन् । माओवादी सशस्त्र संघर्षले नेपालको लोकतन्त्रीकरण, आर्थिक समृद्धि र विकासलाई धेरै पछाडि धकेलेको आरोप यो वर्गले लगाउँछ । यो समूह माओवादीको ‘जनयुद्ध’ अहिले ठूला ठूला नेतालाई धनी बनाउने ‘धनयुद्ध’मा परिणत भएको आरोप लगाउँछ । माओवादीको विचारबाट निर्देशित राजनीतिक सशस्त्र संघर्षलाई विशुद्ध आपराधिक क्रियाकलापका रूपमा चित्रण गर्न पनि यो वर्ग पछाडि पर्दैन ।

अधिकांश उच्च जातिका, इतिहासदेखि नै नेपाली राज्यसत्ताको वरिपरि रहेर आर्थिक र सामाजिक रूपमा लाभान्वित यो वर्गमा पर्छन् भन्ने माओवादीको बुझाइमा सत्यताको बलियै अंश छ । हिन्दु अधिराज्य र राजतन्त्रको पुनस्र्थापनाको माग गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा यस्तो सोचाइ राख्नेहरू हुने भइहाले । उदारवादी लोकतन्त्रको पक्षधर नेपाली कांग्रेसमा मात्र नभई केही समय अगाडिसम्म माओवादीसँग मिलेर एउटै पार्टी बनाएको एमालेका नेता–कार्यकर्तामा समेत यस्तो बुझाइ पाइन्छ । माओवादीप्रति एमालेको यस्तो दृष्टिकोण सामान्य कार्यकर्ता र मतदातामा देखिनु चेतना विकासको दृष्टिकोणले स्वाभाविक मान्न सकिएला । तर एमालेका नेताहरूले समेत यस्तो भन्नुचाहिं उनीहरूले समाजमा व्याप्त भावनालाई राजनीतिक फाइदाका लागि प्रयोग गर्न खोजेको प्रतीत हुन्छ ।

नेकपा (एमाले)को भ्रातृ संगठन युथ फोर्सले हालै यो गीतको समर्थनमा निकालेको वक्तव्यलाई यही सन्दर्भमा हेर्न सकिन्छ । यस्तो डिस्कोर्सबाट प्रभावित सर्वसाधारण जनताको ठूलो हिस्सामा पनि माओवादी सशस्त्र संघर्षप्रति अनुदार सोेच देखिन्छ ।

माओवादी विरोधी र विभिन्न राजनीतिक दलमा छरिएर रहेका यस्तो विचार बोक्नेहरूलाई प्रकाश सपुतको गीतले खुसी बनाएको छ । यो गीत चुनावको मुखमा माओवादीलाई हान्ने बलियो हतियारका रूपमा लिन सकिएला भन्ने हिसाबले यो वर्ग खुसीले ‘ऐया–ऐया’ गरिरहेको छ ।

बरु माओवादीले कुनैबेला पूँजीपती, साम्राज्यवादीको मतियार र दलाल अनि राष्ट्रघाती भनेर घोषणा गरेको नेपाली कांग्रेस माओवादी सशस्त्र संघर्षका उपलब्धिलाई स्वीकार्ने, उनीहरूसँग सहकार्य गर्ने, सकी नसकी माओवादीको लोकतन्त्रीकरण गर्ने मार्गमा नरम र संयमित देखिन्छ । कतिपयले नेपाली कांग्रेसलाई माओवादीकरण भएको भन्ने आरोप खेपेर र उसले पवित्र र अपरिवर्तनीय मानेको संसदीय लोकतन्त्रमा केही सुधार गरेरै भए पनि माओवादीको लोकतन्त्रीकरण गर्न ऊसँगको सहकार्य तोड्नुहुँदैन भन्ने मान्यताबाट नेपाली कांगे्रसको नेतृत्व पंक्ति निर्देशित देखिन्छ ।

माओवादी सशस्त्र संघर्षका क्रममा कांग्रेसलाई मुलुकभित्रको ‘प्रमुख शत्रु’ ठान्ने माओवादी विचार र व्यवहारका कारण माओवादीप्रति अनुदारवादी सोच राख्ने वर्ग पनि कांग्रेसभित्र ठूलै छ । तर कांग्रेसको नेतृत्वले त्यस्तो सोच राख्नेहरूलाई निर्णय प्रक्रियामा अहिलेसम्म धेरै हावी हुन भने दिएको छैन ।

माओवादी सशस्त्र युद्धमै होमिएकाहरूमा पनि माओवादी नेतृत्व र माओवादी पार्टीको वर्तमान अवस्थाका बारेमा विभिन्न मत छन् । अहिलेको माओवादीमै रहिरहेका र उक्त पार्टीप्रति सहानुभूति राख्नेहरूका धारणाबारे माथि नै छलफल गरिएको छ ।

माओवादी नेतृत्व ‘जनगणतन्त्र’का लागि संघर्ष नगरी शान्ति प्रक्रियामा आउनुको बाध्यता नबुझेका र अझै पनि जनगणतन्त्रका लागि लड्नुपर्छ भन्ने धङधङी (ह्याङओभर)मा रहेका कम्युनिस्ट पनि नेपालमा प्रशस्त छन् । नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) यस्तै ह्याङओभर बोकेर बसेका दलका उदाहरण हुन् । उनीहरू पुष्पकमल दाहाल लगायतले माओवादी आन्दोलनलाई सम्झौतामा लगेर टुंग्याएको आरोप लगाउँछन् ।

यिनीहरूले नेपालको भूराजनीतिक बाध्यता नबुझेका हुन् वा जीवनभर आफूले बोकेको विचार त्याग्न नसक्ने मनोविज्ञान लगायत विभिन्न कारणले त्यसैमा जकडिएर बसेका हुन् गहन र बहुआयामिक अध्ययनको पाटो हुन सक्छ । उनीहरू पुष्पकमल दाहाल समूहको अकर्मण्यताका कारण माओवादी पार्टी वैचारिक र व्यावहारिक रूपमा स्खलित हुन पुगेको ठान्छन् । स्खलित पार्टीका बिचल्लीमा परेकाहरूको पीडा सपूतको गीतमा अभिव्यक्त ‘ऐया–ऐया’ले झल्काउने उनीहरू ठान्छन् ।

माओवादी सशस्त्र संघर्षमा भाग लिएका अधिकांश सीमान्तकृत वर्गका मानिसको ठूलो हिस्सा उक्त पार्टी शान्ति प्रक्रियामा आएपछि सामान्य जीवनमा फर्किएका छन् । अरू नेपाली जस्तै खेतीकिसान, सामान्य व्यापार व्यवसाय, वैदेशिक रोजगार आदिमा उनीहरू संलग्न छन् । उक्त सशस्त्र संघर्षका बेला बेहोरेको शारीरिक क्षतिको असर अहिलेसम्म भोगिरहनेहरू पनि उल्लेख्य संख्यामा छन् । यीमध्ये कतिपयले सरकार र बारम्बार सरकारमा गइसकेको माओवादीबाट समेत राहत नपाउँदा मन कुँडिनु स्वाभाविकै हो ।

यो वर्ग सशस्त्र संघर्षमा होमिंदा सम्भवतः माओवाद राम्रोसँग बुझेर लागेको पनि होइन । उनीहरूको पार्टीले नेपालको कस्तो परिवर्तन चाहेको थियो पनि उनीहरूले सायद राम्रोसँग बुझेका थिएनन् । जुनसुकै राजनीतिक आन्दोलनमा उच्चस्तरका र राजनीतिक परिवर्तनको प्रत्यक्ष व्यक्तिगत रूपमा लाभ पाउने भन्दा यस्तो समूह स्वाभाविक रूपमा ठूलो हुन्छ । उनीहरूमध्ये कतिपयले माओवादी नेतृत्वले आफूलाई चटक्क बिर्सिएको ठानेका छन् । नेतृत्व आफ्ना दुःख, पीडाप्रति असंवेदनशील भएको र नेतृत्वको भौतिक सुखसयलको जीवनलाई आफ्नो योगदान ठानिरहेका छन् ।

भुइँतहमा रहेका जनताका गुनासा यदाकदा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट बाहिर आए पनि उनीहरूको दीर्घकालीन हित हुने र सामाजिक संरचनामा उनीहरू माथि उक्लन सक्ने गरेर संस्थागत संरचना मुलुकमा बन्न सकेका छैनन् । उनीहरूका ऐया–ऐया सतहमा आउन सकेका छैनन् ।
सपुतको अहिलेको गीत यही वर्गको ‘ऐया–ऐया’ को प्रतिनिधि आवाज हो । सामाजिक सञ्जाल हेर्ने हो भने माओवादीमा लागेर त्याग गरेका तर त्यसको उच्च नेतृत्वको बेवास्तामा परेका धेरैले सपुतको गीतको समर्थन गरेका छन् । यो शक्तिशाली गीतले आफ्नो पीडालाई आवाज दिएको उनीहरू ठानिरहेका छन् ।

आलोचनाका कमजोर आधार

गीतमा माओवादीले धेरै दुःखमनाउ गर्नुपर्ने खासै कारण छैन । गीतमा स्पष्ट रूपमा गणतन्त्र लगायत अहिलेका राजनीतिक विकासक्रममा माओवादीको योगदान रहेको स्पष्ट स्वीकारिएको छ । व्यवस्थित रूपमा पुनस्र्थापना गर्न नसकिएका माओवादी लडाकुका समस्या यति सशक्त ढंगले बाहिर ल्याइदिएकोमा उनीहरू उल्टै खुसी हुनुपर्ने हो ।

सपूतको गीतप्रति रुष्ट खासगरी हाल माओवादी केन्द्रमा रहेका नेता कार्यकर्ताले सो गीतलाई विभिन्न आधारमा आलोचना गरेका छन् । गीतलाई अपूर्ण भन्दै यसले सम्पूर्ण महिला र खासगरी माओवादी सशस्त्र युद्धमा भाग लिने महिला लडाकुहरूलाई अपमान गरेको भाष्य बनाउन उनीहरू लागिपरेका छन् । सपुतको गीत माओवादीलाई बदनाम गर्ने ‘देशी विदेशी प्रतिक्रियावादी र पूँजीवादीको हतियार’ भन्ने आरोप त उनीहरूले लगाउने नै भए । दलित समुदायको सबलीकरणमा माओवादी सशस्त्र संघर्षको महत्वपूर्ण हात रहेको तर दलित समुदायबाटै आएका ‘कला व्यापारी’ सपुतले बुझ्न नसकेको र नचाहेको आरोप पनि उनीहरूले लगाएका छन् ।

सपुत लगायत गीत गाउने र गीतको भिडिओमा अभिनय गर्नेहरू पनि माओवादी पृष्ठभूमिका नभएकाले उनीहरूलाई आलोचना गर्ने नैतिक आधार नभएको तर्क पनि उनीहरू गरिरहेका छन् । उनीहरूको वैचारिक धरातलका आधारमा गीतलाई निम्न पूँजीवादी चिन्तनको उपज त उनीहरूले स्वाभाविक रूपमा भन्ने नै भइहाले । माओवादी मात्र होइन अरूले समेत उक्त गीतलाई प्रायोजन गर्ने एउटा सिमेन्टको ब्रान्ड र एउटा वित्तीय संस्थाको विज्ञापन जसरी घुसाइएको छ त्यसको विरोध गरेका छन् । यो विरोध भने जायज देखिन्छ । तलका केही अनुच्छेदमा आलोचनाका यी आधारका बारेमा छलफल गरिनेछ ।

गीतमा महिला लडाकुलाई देहव्यापारमा लागेको देखाएर सम्पूर्ण महिला र खासगरी राजनीतिक चेतना समेत बोकेका तत्कालीन महिला छापामारप्रति अपमान गरियो भनी गरिएको आलोचना तार्किक लाग्छ । तर यी आलोचकहरूमा साहित्यको सामान्य ज्ञानको समेत अभाव देखिन्छ । साहित्यमा र खासगरी कथा, नाटक र चलचित्र लगायत आख्यानमा बिम्वहरूको प्रयोग कसरी गरिन्छ भन्ने सामान्य ज्ञान हुने हो भने सायद यही आधारमा उक्त गीतको भिडिओको यति धेरै आलोचना हुँदैनथ्यो ।

१६ मिनेट भन्दा थोरै लामो भिडियोमा धेरै बिम्व प्रयोग भएका छन् । यसको मतलब विकल्पहरू सकिंदै जाँदा सबै महिला देहव्यापारमा लाग्छन् वा माओवादीका पूर्व महिला छापामारमध्ये धेरैले त्यस्तो नारकीय पेशा अँगाल्छन् भन्न खोजिएको पक्कै होइन । परिस्थितिले यतिसम्म पु¥याउन सक्छ भन्ने सन्देश दिन खोजिएको हो । यस्तो आरोप गीत नारीद्वेषी छ भनेर बदनाम गर्ने र गीतले उठाएका गम्भीर सन्देशबाट सर्वसाधारण जनताको ध्यान अन्यत्रै मोडेर सपुतप्रति नकारात्मक धारणा बनाउने उद्देश्यले समेत आएको देखिन्छ ।

यो गीत पूँजीवादीहरूको हतियार र निम्नपूँजीवादी सोचको चिन्तन हो भनी लगाइएको आरोपको खासै खण्डन गर्नु पर्दैन । नेपालका प्रायः वामपन्थीले आफूलाई मन नपरेको तर्क र भाष्यको विरोध गर्न प्रयोग गर्ने एक किसिमको अनुमान लगाउन सकिने कर्मकाण्डी आरोप हो । उनीहरूको यस्तो सोचको आधार उनीहरूको विचारधारा र प्रशिक्षण पनि हो ।

माओवादी आन्दोलनले दलितको सबलीकरण र राज्यका विभिन्न निकायमा दलितको प्रतिनिधित्व बढाउन ठूलो योगदान गरेको तर प्रकाश सपुत दलित समुदायका भएर पनि माओवादीका विरुद्ध सृजनामा लागेको भन्ने आरोप भने समग्र दलित समुदायप्रति अपमान गर्ने खाले छ । यसले माओवादी नेतृत्वमा बढ्दै गएको उच्चजातीय अहंकार पनि देखाउँछ । माओवादी सशस्त्र संघर्षले दलितलाई सबलीकरण गरेको सही होला, तर उक्त संघर्षका क्रममा दलित समुदायको योगदान सायद अवमूल्यन गर्न सकिने स्तरको छैन ।

सपुत लगायत गीतको भिडिओमा खेलेका कलाकार तत्कालीन माओवादीमा आबद्ध लडाकु नभएकाले उनीहरूलाई लडाकुका बारेमा बोल्ने नैतिक अधिकार नभएको तर्क त अझ कमजोर छ । हाम्रो संविधानले नै सुनिश्चित गरेको वाक्स्वतन्त्रता र प्रेस स्वतन्त्रताका समेत हकले कुनै पनि राजनीतिक दलसँग सम्बन्धित विषयमा उक्त दल इतरकाले बोल्न नपाउने भन्ने हुँदैन ।

विभिन्न तहका नेपाली जनताका सुस्केरा र ऐया–ऐयालाई सम्बोधन गर्न कोसिस गर्नुपर्छ । यसो गर्न सके मुलुकले नै ऐया भन्नुपर्ने विस्फोटक परिस्थिति पन्छाउँदै समाजलाई रचनात्मक र तुलनात्मक रूपमा शान्तिपूर्ण ढंगले अगाडि बढाउन सकिएला ।
नेपालका राजनीतिक दलको अस्तित्व र निरन्तरतामा जनताकै लगानी छ । तिनीहरूको शक्तिको स्रोत हाम्रो मत र सबै करदाताले तिरेको कर भएकाले जुनसुकै दलका बारेमा जो–सुकै नागरिकले जायज प्रश्न र विचार राख्न पाउँछन् । त्यहीमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत कैयौं माओवादी पूर्वलडाकु एवं सहादत प्राप्त परिवारका सदस्यले प्रकाश सपुतको गीतले आफ्नो समेत आवाज बोलिदिएको बताएका छन् ।

उक्त गीतभित्रै आउने गीतका प्रायोजकहरूको विज्ञापनलाई लिएर गरिएका आलोचना भने अत्यन्तै जायज छन् । यो गीतका प्रायोजक एउटा सिमेन्ट र एउटा वित्तीय संस्थाका विज्ञापन दाँतमै कडक्क लाग्ने गरेर नराम्रोसँग आउँछन् । माओवादी सशस्त्र संघर्षमा होमिएको सर्वसाधारणको ‘ऐया’लाई सशक्त रूपमा प्रस्तुत गरेकोे संगीत सृजनाभित्रै विज्ञापनको भद्दा र कुरुप उपस्थितिले बजारिया मानसिकताले कला क्षेत्रलाई नै ऐया–ऐया भन्नुपर्ने गरेर अधमरो बनाएको रहेछ भन्ने देखिन्छ ।

गीतको भिडिओमा मासु पसलको सटर, टेलिभिजनमा समाचारका क्रममा, ट्याक्सीको बाहिरी आवरणमा, पानीको बोत्तलमा, बसपार्कमा, विमानस्थल जाने बाटोमा र अन्य एकाध ठाउँमा यस्ता विज्ञापन आँखै बिझाउने गरेर आउँछन् । धन्न, कलाकारको निधार निधारमै विज्ञापन टाँस्ने भने भएको रहेनछ ! यसरी गीतभित्र आएका विज्ञापनले गीतको सौन्दर्य पक्षमा नराम्रो प्रभाव त पारेका छन् नै, समग्रमा गीत नै पीडामा परेको वर्गको व्यथा हो कि सिमेन्ट र वित्तीय संस्थाको विज्ञापन हो भन्नुपर्ने खालको बन्न गएको छ ।

विज्ञापनका अनेक सृजनशील स्वरूप हुन सक्लान् । सम्बन्धित क्षेत्रका विज्ञसँग सल्लाह गरेर तदनुरूप विज्ञापन गीतको अघि वा पछि दिन सकिन्थ्यो होला । यो चर्चित गीतको अरूले सिको गर्न सक्छन् । यसमा सपूत लगायत अन्य कलाकार सचेत हुनुपर्ने देखिन्छ । विज्ञ र सञ्चारमाध्यमले समेत यसबारेमा गम्भीर बहस चलाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

चुनावका बेला माओवादीलाई ऐया–ऐया बनाउने गरी गीत आयो भनेर कांग्रेस एमाले लगायत दलका नेता कार्यकर्ता खुशी भइरहनु पनि पिसाबको क्षणिक न्यानोमा रमाउनु जस्तै हो । दल र तिनका नेताको भविष्य सुरक्षित गर्ने विषयमा हाम्रो राजनीति केन्द्रित छ । राजनीतिले गर्नुपर्ने स्रोतहरूको न्यायोचित वितरण र सम्मानित जीवनयापनको ग्यारेन्टी जस्ता विषय सुनिश्चित गर्न नेपालको राजनीति धेरै हदसम्म चुकेको छ । इतिहासमा विभिन्न क्रान्तिबाट स्थापित दलहरूले समेत जनताका दुःखेसोलाई रचनात्मक र व्यावहारिक रूपमा सम्बोधन गर्न सकेका छैनन् ।

नेपाली समाजका राजनीति, सञ्चारमाध्यम लगायत हरेकजसो क्षेत्र अधिक दलीयकरणको चपेटामा परेका कारण यहाँ जनताका वास्तविक समस्या सजिलै बाहिर आउन सकेका छैनन् । भुइँतहमा रहेका जनताका गुनासा यदाकदा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट बाहिर आए पनि उनीहरूको दीर्घकालीन हित हुने र सामाजिक संरचनामा उनीहरू माथि उक्लन सक्ने गरेर संस्थागत संरचना मुलुकमा बन्न सकेका छैनन् । उनीहरूका ऐया–ऐया सतहमा आउन सकेका छैनन् । यस्तो अवस्थाले कुनै समय ठूलै समस्या पनि निम्त्याउन सक्छ । भूगर्भशास्त्रीहरू भन्छन्, खासगरी भूकम्प प्रभावित क्षेत्रमा साना–साना भूकम्पहरू बारम्बार गइरहेनन् भने पृथ्वीको गर्भमा सञ्चित अधिक शक्तिका कारण ठूलो भुइँचालो जाने संभावना हुन्छ ।

सतहमुनि थिचिएर बसेका जनताका ऐया–ऐयाले विस्फोटक रूप लिंदा नेपालमा मुलुक हल्लाउने विभिन्न आन्दोलन भएका छन् । २००७ साल र २०४६ सालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका लागि भएका आन्दोलन, माओवादी सशस्त्र संघर्ष र मधेश आन्दोलन यस्तै ऐया–ऐयाका विस्फोटक रूप हुन् । जसरी साना–साना भूकम्पका धक्काले ठूलो भूकम्प जाने संभावना कम बनाउँछन्, जनताका ऐयाहरूलाई बेलैमा र क्रमैसँग गम्भीरतापूर्वक सम्बोधन नगर्ने हो भने माओवादी सशस्त्र संघर्षका बेला जस्तै मुलुकले ठूलै ऐया भन्नुपर्ने दिन पनि त आउन सक्छ ।

यसै सन्दर्भमा केही पश्चिमा विद्वानहरूले अहिले राजनीतिक, सामाजिक तहमा क्रान्तिले गर्ने जस्तै सुधार शान्तिपूर्ण रूपमा गर्न सक्ने हो भने पीडादायक क्रान्ति भोग्नुपर्ने अवस्थाबाट धेरै हदसम्म पार पाइने सम्भावना औंल्याएका छन् । त्यसलाई उनीहरूले रिफोलुसन (अंग्रेजीमा रिफर्म र रिभोलुसन भनिने शब्दको संयुक्त रूप) भनेका छन् । यसको अर्थ हुन्छ क्रान्तिको स्तरमा सुधार गर्न सक्ने हो भने हिंसात्मक र पीडादायी क्रान्ति पन्छाउन सकिने सम्भावना बढी हुन्छ । यो अवधारणा नयाँ नभए पनि अंग्रेजीकै लागि पनि यो शब्द नयाँ हो । सामाजिक राजनीतिक बहसमा प्रयोगमा आउन थाले पनि अंग्रेजी भाषाका आधिकारिक शब्दकोशमा समेत यो शब्द प्रविष्ट भइसकेको छैन ।

नेपालमा समेत यस्तो अवधारणालाई गम्भीरतापूर्वक लिनुपर्छ । नेपाली भाषामा यस्तो अवधारणा जनाउने शब्द छैन भने भाषाविद्हरू एउटा नयाँ शब्द सृजना गर्नतिर पनि लाग्नुपर्ला । यो अवधारणालाई गम्भीरतापूर्वक लिएर विभिन्न तहका नेपाली जनताका सुस्केरा र ऐया–ऐयालाई सम्बोधन गर्न कोसिस गर्नुपर्छ । यसो गर्न सके मुलुकले नै ऐया भन्नुपर्ने विस्फोटक परिस्थिति पन्छाउँदै समाजलाई रचनात्मक र तुलनात्मक रूपमा शान्तिपूर्ण ढंगले अगाडि बढाउन सकिएला ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै