होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराको मात्र होइन, हाम्रो देश र समयको कथा हो ‘चिसो मान्छे’
समाज

बाजुराको मात्र होइन, हाम्रो देश र समयको कथा हो ‘चिसो मान्छे’

यो फिल्मले रोगी समाजलाई ऐना देखाउने आँट गरेको छ

  • नागरिक रैबार
बाजुराको मात्र होइन, हाम्रो देश र समयको कथा हो ‘चिसो मान्छे’

किम्फ (काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र मेला) को २०२१ संस्करणमा दार्चुलाकी एक हजुरआमाको मार्मिक कथा भन्ने छोटो फिल्म थियो ‘जिउँदो मोडो’। दुर्गाबहादुर कार्की निर्देशित त्यो १२ मिनेटको फिल्मले नेपाली राज्य र नेपाली समाजबारे धेरै कुरा भन्छ।

गिटी कुटेर गुजारा चलाउने वृद्धाको एउटै बचेको नाति यार्सागुम्बा खोज्न गएको छ। उसकाबारे गाइँगुइँ नराम्रो समाचार आएको छ। आखिर नातिको लास आइपुग्छ। तर गाउँलेहरूले वृद्धालाई नातिको अन्तिम संस्कारमा जान रोक्छन्। कुनै उपाय नलागेपछि विक्षिप्त वृद्धाले स्थानीय लवजमा भन्छिन्, ‘कसैले मलाई नाति भएका ठाउँमा लगिदिए म जीवनभर उसकी कमारी बस्ने थिएँ।’

नेपालको उत्तर–पश्चिमी कुनाको त्यो दुरदराजमा कहिल्यै राज्य पुगेर उनको र नातिको गुजारा सहज त बनाइदिएन नै, नातिको सास गइसकेपछि समाजले उनलाई उसको शरीर हेर्न पनि दिएन। गाउँलेले जब मसानघाटमा तिमी बुढी मान्छेलाई गाह्रो हुन्छ भन्छन्, वृद्धाको भूमिकामा रहेकी सुन्दरी कुँवर भन्छिन्, ‘मुइ मरि गयाले तसै चितामी पोल दिया।’

विज्ञापन

जब गाउँलेले जे भन्दा पनि सुन्दैनन्, उनले भन्छिन्, ‘तमी सब अपराधी हौ।’दीपेन्द्र के खनालको नयाँ सिनेमा ‘चिसो मान्छे’ को ट्रेलरले मलाई त्यो लघुफिल्मको याद दिलाएको थियो। पूरै सिनेमामा नेपाली समाजको ऐना हेरेपछि ती वृद्धाको संवादले मलाई बारम्बार झस्कायो- तमी सब अपराधी हौ।

सिनेमाले बाजुरेली गाउँका दुःख त्यसैगरी उतारेको होला भन्ने मेरो अनुमान थियो। अरू केही समीक्षकहरूले त्यस्तै अपेक्षा लिएर गएको तर निराश बनेर फर्केको भनेर लेखेको मैले कतै पढेको थिएँ।

‘चिसो मान्छे’ हेर्न हलमा जाँदा आधाभन्दा बढी सिट भरिएका थिए। अनि केटाकेटी प्रशस्तै थिए। सायद धेरै मानिसहरू यो सिनेमामा ‘अभद्र’ दृश्यहरू छैनन् जस्तो लागेर सपरिवार हलमा पुगेका थिए।

सिनेमा हेरिसकेपछि मलाई लाग्यो, यो बाजुराको मात्र कथा होइन। बरू बाजुराका पात्रले भनेको हाम्रो देशको कथा हो, हाम्रो समयको कथा हो। सायद केही आलोचकले भनेझैं यसले सुदूरपश्चिमको जनजीवनलाई अपेक्षित स्थान दिन नसकेको होला। तर बाजुराका पात्रको आँखाबाट हेरेर सिंगो समाज र देशको कथा भन्नु, यहाँका विसंगति र विक्षिप्ततालाई उदांगो पार्नु मेरो विचारमा सुदूरपश्चिमका लागि झनै ठूलो कुरा हो।

हामी नेपालीको सामूहिक स्मृति साह्रै छोटो र फितलो छ। हामीहरू साह्रै चाँडो घटनाक्रमहरू बिर्सिन्छौं। अनि धमाधम गल्ती दोहोर्‍याउँछौं। तर कोभिडले के देखायो भने संसारका अरू धेरै देशको हालत पनि हाम्रो भन्दा खासै फरक छैन। त्यसैले पनि समाजको मनोदशा कला र साहित्यमा उतारेर राख्नुको ऐतिहासिक महत्व समेत हुन्छ।

समाजमा अलिकति उलटपुलट के आउनुछ हामी मानव सभ्यताले हजारौं वर्ष लगाएर बनाएका मूल्य–मान्यताहरू बिर्सिन्छौं। अनि कुकुर–बिरालोझैं आवश्यकै नपर्ने ठाउँमा द्वन्द्व सिर्जना गर्छौं। जोसित अलिकति शक्ति हुन्छ, ऊ छाडा साँढेजस्तो उन्मत्त हुन थाल्छ र अरूमाथि हैकम जमाउने नयाँनयाँ उपाय सिर्जना गर्छ। जो यसै ठगिएका थिए, उनीहरूमाथि थप बज्रपात हुन्छ।

कोभिडकालमा राज्यले के के गर्‍यो भनेर त हामीले धेरथोर मिडियामा पढ्न–सुन्न पाएकै थियौं। तर त्यसले आम मानिसको मनोविज्ञानमा कस्ता विकार ल्याइदियो? अपर्झट आइलागेको महामारीले सिर्जना गरेको भय र अनिश्चयलाई मानिसले कसरी झेले? रातारात आइलागेको आर्थिक संकटको मानिसले कसरी सामना गरे?

मलाई चिसो मान्छे हेर्दै गर्दा लागिरह्यो- कोभिड गइसकेको छैन तर यी प्रश्नहरू हामीले लगभग बिर्सिसकेका छौं। त्यो किन पनि भने सिनेमामा देखाइएका कति दृश्यहरू अतिरञ्जित वा मजाक जस्ता लाग्छन्। जबकि हजारौं मानिसले कोभिड कहरका बेला त्यस्ता अनुभवहरू पाइलैपिच्छे गरेका थिए। सिनेमामा देखाइएका भन्दा कठोर यथार्थ सहन विवश मानिस झन् धेरै थिए।

त्यसैले चिसो मान्छेमार्फत निर्देशकले नेपाली इतिहासको एउटा कालखण्डलाई भिडिओमा कैद गर्न सफल भएका छन्। आजभन्दा दस वा पचास वर्षपछि त यस्तो सिनेमाको झनै बढी महत्व हुनेछ किनकि तबसम्म यो कालखण्डका हाम्रा सबै स्मृतिहरू लुप्तप्रायः भइसकेका हुने छन्।

सिनेमा हेर्दै जाँदा मल्टिप्लेक्स हलमा पुगेका धेरै मध्यमवर्गीय दर्शकहरूलाई लाग्न सक्छ- के हाम्रो समाज कसैप्रति यति साह्रो निष्ठुरी बनेको नै थियो? वास्तविक जीवनका मानिसहरू यति नै कठोर र क्रुर थिए? के आपतमा परेकाहरूलाई मद्दत गर्ने सहयोगी हातहरू थिएनन्?

यी प्रश्न पनि सोध्न सकिन्छ- सिनेमामा समाजको अँध्यारो पाटो मात्रै किन देखाएको? विदेशबाट मृत फर्केको छोरा वा श्रीमानलाई गाडीमा राखेर फर्किँदै गरेका पात्रहरूको जीवनमा यसै दुःखको पहाड थियो, तिनले फेरि पाइला पाइलामा दुःख पाएको किन देखाएको?

तर मलाई लाग्छ, दुःखको पेटारो खोल्नु, अभिव्यक्त गर्नु, त्यसमा संवाद गर्नु, सके त्यसका स्रोतहरूको पनि खोजी गर्नु हामी मानिसको स्वाभाविक ‘क्याथार्सिस’ को प्रक्रिया हो। जसरी शरीरमा घाउ गुम्साए पाक्छ, पीप बनेको पिलो पनि निचोरे ठीक हुन्छ, मस्तिष्कको हकमा पनि त्यसै हुन्छ।

त्यसै गरी समाजले पनि आफूमा विद्यमान पीडालाई बेलाबेला ओकलेर ‘क्याथार्सिस’ गरिरहनुपर्छ। आफूभित्रका विकृति र विसंगतिहरूलाई निरन्तर अभिव्यक्त गरिरहनुपर्छ। त्यसो गर्नमा हामी अलि पछाडि छौं, हाम्रो कला–साहित्य कमजोर छ।

त्यसैले हामीमध्ये धेरैलाई लाग्छ, राम्रो फिल्ममा त तीन घन्टा आँसु नै आउने गरी हाँसेर निस्किन पाइयोस्, समय बितेको पत्तै नहोस्।

त्यस्ता सिनेमाहरू पनि बन्नुपर्छ, हामी हलमा तीन घन्टा हाँसेर निस्किन पनि पाउनुपर्छ। तर सिनेमा त्यतिमा सीमित हुनु हुँदैन। हामीले त्यस्ता फिल्म मात्रै हेरेर अरू किसिमका फिल्महरूलाई निरुत्साहित गर्नु हुँदैन।

मैले अहिलेसम्म हेरेका सबै नेपाली सिनेमाहरूमध्ये उत्कृष्ट केही छान्नुपर्‍यो भने निर्देशक दीपेन्द्र के खनालको ‘आमा’ एक पर्छ। त्यो फिल्म हेर्ने अवधिभर एक पल्ट पनि मन खोलेर हाँसेको मलाई याद छैन। तर देशको बर्बाद स्वास्थ्य प्रणालीबारे त्यति राम्रो कथा र प्रस्तुति नेपालको कला र साहित्य दुवैमा अन्त कतै फेला पार्न सकिँदैन। जुन कथा भन्न चाहेको हो, त्यसमा आमा अब्बल छ।

दीपेन्द्र के खनालकै पछिल्लो सिनेमा चिसो मान्छे आमाभन्दा कुन अर्थमा फरक छ भने, यसले रोगी प्रणालीलाई नभई रोगी समाजलाई नै ऐना देखाउने आँट गरेको छ।

यसले नेपालको सिनेकर्मका साथै हाम्रो समाजको श्रव्य–दृश्य इतिहासलाई थप समृद्ध बनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै