होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पिर : केही तरंग, केही प्रश्न
समाचार

पिर : केही तरंग, केही प्रश्न

  • नागरिक रैबार
पिर : केही तरंग, केही प्रश्न

कलाकार प्रकाश सपूतले गाएको गीत ‘पिर’ शीर्षकमा युट्युबमा जारी भएपछि त्यसले राजनीतिक वृत्त, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रिया र तरंग उत्पन्न गर्‍यो । गीतको शब्द, संगीत र गायनमा कुनै विवादका कुरा छैनन्, विवाद उत्पन्न गरेको थियो त्यसको दृश्यांकनले । यस गीतको प्राणतत्त्व भनेकै दृश्यांकन हो ।

प्रकाश सपूतको प्रस्तुति–शैली वा विशेषता भनेकै गीत र गीतका भिडियोले गीतसँगै कथा भन्नु पनि हो । ‘बोल माया’ होस् वा ‘गलबन्दी’ अथवा ‘फुटेका चुरा’ वा अहिले चर्चामा रहेको ‘पिर’ लाई नै हेरौं, त्यहाँ कथा छ । गीत र गीतको विषयवस्तुलाई प्रभावकारी बनाउन गीतमा अन्तरनिहित कथाले निर्णायक भूमिका खेलेको छ । ‘बोल माया’ र ‘पिर’ दृश्य नहेरी सुन्यौं भने तिनको आधा प्रभाव घट्छ । गीतका शब्द र स्वरसँगै दृश्य हेर्दा जुन प्रभाव उत्पन्न हुन्छ, त्यो प्रकाश सपूतको शैली र विशेषताका रूपमा देखिन्छ ।

नेपालमा गीतमार्फत कथा भन्ने चलन हाम्रो लोकगायन परम्परामा नयाँ होइन । सयौं वर्षदेखि गन्धर्वहरूले सारंगी रेट्दै लाहुरेका कथा भनेका हुन् । गाउँघरमा घटेका घटनाहरूको वर्णन गरेर ऐतिहासिक पात्रबारे कथालाई गीतमा ढालेर सुनाउँदै हिँड्को हुन् । त्यही परम्परालाई डिजिटल माध्यममा ल्याएर गीतसँगै कथा पस्कने नयाँ दृश्यरूप दिएका हुन् सपूतले । यसरी कथा भन्दा उनले वर्तमान नेपाली समाजका जल्दाबल्दा विषय उठाए । ती तत्कालै आम मानिसबीच लोकप्रिय र चर्चित भए । अहिले उनको ‘पिर’ लोकप्रिय भयो, सँगै त्यसले पिरलो जन्माइदियो, माओवादी दललाई ।

विज्ञापन

देशमा रोजगारी नपाएर कामका लागि विदेश जाने बाध्यता वा रहरले लाखौं नेपाली युवायुवती अरब पुगेका छन् । वैदेशिक रोजगार घरघरको कथा बनेको छ । ‘बोल माया’ सम्पूर्ण रुपले वैदेशिक रोजगारले उत्पन्न गरेको दुःखान्तको कथा थियो भने ‘पिर’ मा पनि वैदेशिक रोजगारकै विषय जोडिएको छ । तर, यसको मूल पक्ष हो– माओवादीले बन्दुक बिसाएपछि लडाकुहरूको दैनिक जीवनमा देखापरेको रोजगारी अनि आम्दानीको अभावले जन्माएको आक्रोश, पीडा र विचलनको कथा । दृश्यमा जसरी कथा भनिएको छ र कथासँगै स्वाभाविक रूपले जसरी गीतलाई अभिन्न रूपले जोडिएको छ, त्यो यसको सुन्दर कलात्मक पक्ष हो ।

हामीले गाउने गीत, कविहरूले लेख्ने कविता, कथाकारहरूले लेख्ने कथा, उपन्यासकारहरूले लेख्ने उपन्यास, निर्देशक र निर्माताहरूले बनाउने सिनेमा, नाटक र गायकहरूले गाउने गीतहरू कलात्मक सामाजिक उत्पादन हुन् । त्यसैले हाम्रो समय, समाज, संस्कृति र वर्तमान घटना तथा जीवनका विविध पक्ष हाम्रा कलात्मक उत्पादनका रूपमा सिर्जना हुने गीतहरूमा देखिनु बिलकुल स्वाभाविक हुन्छ र आवश्यक पनि ।

नेपाली समाज एउटा कालखण्डमा माओवादीहरूद्वारा उत्पन्न हिंसा र द्वन्द्वले थिलथिलो थियो । त्यस हिंसा, द्वन्द्व र संघर्षले उत्पन्न गरेका विभिन्न नकारात्मक–सकारात्मक परिणामहरू अहिले पनि नेपाली समाजले भोगिरहेको छ । प्रकाश सपूतको ‘पिर’ र त्यसले भनेको कथा माओवादी आन्दोलनले जन्माएका सहउत्पादनमध्येको एक कथा हो । सम्पूर्ण कथा होइन ।

कथासँगै प्रश्न पनि

कतिपय गीतले मन–मस्तिष्कलाई आनन्दित पार्छन्, हृदय सुम्सुम्याउँछन्, विगत सम्झाउँछन्, वर्तमानमा झक्झक्याउँछन् । ती गीतले मनका गहिराइमा लुकेका व्यथा–पीडा उधिनेर आँसुका रूपमा आँखाबाट बगाइदिन्छ र आफैंलाई फर्केर आफ्नै मनको ऐनामा हेर्न विवश पार्छ । गीतहरूमा यस्तो शक्ति हुन्छ । तर, यस्तो शक्ति सबै गीतमा हुँदैन । तिनै गीतमा मात्र हुन्छ, जसले हाम्रो मन र संवेदनालाई छन्छ ।

यति मात्रै होइन कतिपय गीतले अनेकौं प्रश्न खडा गरिदिन्छन् । सोच्ने, चिन्तन र चिन्ता गर्ने अवस्थामा पुर्‍याउँछन् । यो पनि गीतको शक्ति हो । प्रकाश सपूतका गीतहरूको अर्को राम्रो पक्ष कथा भन्नु मात्र नभइ कथासँगै प्रश्न उठाउनु पनि हो । उनका गीतहरूले त्यो गीत सुनेपछि, हेरेपछि श्रोता–दर्शकको मनमा प्रश्न उठाउँछन् र सोच्न बाध्य पार्छन् ।

‘बोल माया’ ले वैदेशिक रोजगारका दुःखान्त पक्षको उद्घाटन गर्छ र वैदेशिक रोजगारमाथि प्रश्न खडा गर्छ । अर्को गीत ‘मेरो पनि हैन र यो देश’ मा उनी भन्छन् :

‘भूगोल पनि विकट मेरो, जाति पनि तल्लो

एकैबारको यो जिन्दगी बनाइदियो खल्लो

..केके तन्त्र आयो भन्छन् मलाई आया छैन

हामीलाई के नै सुख छ…

यो देश मेरो पनि हैन र’

यो गीतले पनि विद्यमान अवस्थामा दलित, उत्पीडित र कथित ‘तल्लो जाति’ का मानिसका लागि देश, देश बन्न नसकेको अवस्थाप्रति प्रश्न गर्छ । विद्यमान अवस्था र समयप्रति असन्तुष्टि जनाउँछ । अर्थात् उनको गीतमा समय बोल्छ, समयको सामयिक चेतना बोल्छ ।

सुनेर रमाउने, रुने वा हाँस्ने मात्र नभई गीतले सोच्न सक्ने, बोल्न सक्ने र प्रश्न उठाउन सक्ने पनि बनाउन सक्छ र बनाउनुपर्छ । ‘पिर’ ले एउटा ज्वलन्त र जीवन्त प्रश्न उठाएको छ । माओवादी नेताहरूले त यो गीतले चित्रण गरेको वर्तमान र उठाएको प्रश्नको जवाफ खोज्नु नै पर्छ, तर अरू राजनीतिक दल हाँक्ने ठाउँमा बसेका सबैले यसको जवाफ खोज्नु र दिनुपर्छ । चित्रण माओवादी आन्दोलनमा लागेका पात्रहरूको भयो होला, तर कथा त तिनको मात्रै नभएर बेरोजगार भएर भौंतारिँदा–भौंतारिँदा थाकेर अरूको मरुभूमिमा पसिना बगाउन गएका लाखौं युवायुवतीको पनि हो । देशभित्रै बेरोजगार युवायुवतीको पनि हो । त्यसैले पहिलो प्रश्न माओवादीतिर तेर्सिएला, तर जवाफ त सबै प्रमुख दल र नेताले खोज्नैपर्छ, दिनैपर्छ ।

व्यथा पुरानै

राजनीतिक आन्दोलनमा लागेर दुःख पाएका मानिसको व्यथा लुकेका कथा थुप्रै छन् । राणा शासनविरुद्ध लड्दा जेल–नेल भोगेका र सम्पत्ति गुमाएकाको लामै इतिहास छ, दुःखद कथाहरू छन् । त्यसैगरी पञ्चायतविरुद्ध लोकतन्त्र ल्याउन लडेका विभिन्न विचारका योद्धाको संघर्षले भरिएका कथा अनगिन्ती छन् । नभनिएका अनेकौं व्यथा छन् ।

गायक आभासले २०५९ सालमै आफ्नै शब्द र संगीतमा अनुभव, विगत र व्यथा सम्झेर गाएका थिए,

गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे

संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ

मझेरीको अँध्यारोलाई

खाल्डो खनी पुर्छु भन्थ्यो

उनी आउने पूर्णिमालाई

जुनीभरि कुर्छु भन्थ्यो

अँध्यारोको अँगालोमा आफैं बेरिएछ

संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ

मौसम साह्रै उजाडियो

पालुवाझैं झुल्छु भन्थ्यो

मेरो जन्म मेरो होइन

अरू निम्ति फुल्छु भन्थ्यो

पुरानो त्यो हिसाब–किताब सबै फेरिएछ

संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ

यो मलाई मनपर्ने गीतमध्ये एउटा गीत हो । यो गीतले पनि कथा भन्छ र प्रश्न गर्छ । शब्दहरू सुन्दर छन् । गीतमा कुनै एउटा अक्षर पनि बढी र अनुपयुक्त लाग्दैन । गीत अलिक निराशावादी लाग्न सक्छ । तर, यो आफ्नो अभिव्यक्ति हो कलाकारको ।

आभास आफैं वामपन्थी आन्दोलनमा लागेका पात्र थिए । राजनीतिक, साहित्यिक र संगीतको बुझाइ गहिरो थियो, त्यसैले उनको गीतका शब्द परिमार्जित र कलात्मक छन् । तर, जुनेबला उनले यो गीत लेखे त्यसबेला उनी आन्दोलनभित्रका कतिपय व्यक्ति–प्रवृत्तिबाट असन्तुष्ट थिए, निराश थिए । यस गीतमा उनको आफ्नै भोगाइ र जीवन छचल्किएको छ । उनको समय र मनिस्थिति गीतमा व्यक्तिएको छ ।

अहिले प्रकाश सपूतले जे देखे त्यो लेखे, गाए । परिस्थिति आजको पनि उत्साह जगाउने खालको छैन । चरम निराशा छ माओवादी पंक्तिमा । निराशा र आक्रोश अन्य राजनीतिक दलमा पनि छ । तर, बढी माओवादी पंक्तिमा छ किनभने माओवादी नेतृत्वले देखाएको सपना आफ्नो जीवनमा कतै भेट्टाउँदैनन् इमानदार माओवादी कार्यकर्ता र समर्थकहरू । आकाश उचाल्ने सपना देखिरहेकाहरू धर्तीमा बजारिँदा जे हुन्छ, त्यही भएको छ अहिले र त्यसैको चित्रण सपूतको ‘पिर’ ले गरेको छ । सपूतले गरेको चित्रण ताजा हो, तर व्यथा नयाँ होइन पुरानै हो । पहिले व्यथाले धेरै च्यापेको थिएन, अहिले व्यथा खपिनसक्नु भएको अवस्था हो ।

आफूले दुःख पाएको कारणले भन्दा पनि माओवादी पंक्तिमा निराशा र आक्रोश फैलिएको ‘नेताहरू फेरिएको, अँध्यारोमा बेरिएको र सपनाहरू फेरिएको’ कारणले हो, त्यसैले उनीहरूको छटपटी र पीडा बुझ्ने हो भने यो यथार्थ बुझ्नु जरुरी छ । आभासले सत्र–अठार वर्षअघि नरम र कलात्मक शैलीमा गीतमा उठाएको प्रसंगलाई अहिले चित्रणसहित सपूतले नयाँ सन्दर्भमा फेरि उठाए ।

आक्रोशित हुनुपर्ने केमा हो ?

‘पिर’ दर्शक–श्रोतामाझ चर्चाको विषय बन्यो भने प्रचण्ड नेतृत्वको माओवादी दलका केही नेता–कार्यकर्ताले भयानक असन्तोष–आक्रोश व्यक्त गरे । गीतबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बहस छेडियो । स्वतन्त्र र खुला समाजमा बहस हुनु स्वाभाविक छ । बहस–विमर्श लोकतान्त्रिक तरिका र शैलीमा भयो भने त्यसले आम जनता र नागरिक समाजसहित सबैको चेतनामा तरंग ल्याउँछ । लोकतान्त्रिक संस्कार संस्कृतिको निर्माण गर्दै जान्छ । तर, धम्कीको शैलीमा त्यो देखा पर्‍यो भने त्यसले समाजमा नयाँ द्वन्द्वका लागि बीजारोपण गर्ने खतरा हुन्छ ।

धम्कीको शैलीमा गीतलाई युट्युबबाट हटाउन दबाब दिइनु खुला समाज तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ । त्यसैले गीत होइन धम्कीको भाषामा लेख्नेहरूले जे लेखेका छन् त्योचाहिँ हटाउनुपर्छ । सार्वजनिक रूपमा धम्की दिनु दण्डनीय ठहरिन्छ वर्तमान समय र समाजमा ।

गीत मन पर्न सक्छन्, मन नपर्न पनि सक्छन् । मन नपर्दैमा धम्की दिन पाइँदैन । गीत मन नपर्दा पशुपति शर्मालाई दिइएको दबाब पनि ठीक थिएन । र, गीत मन परेन भन्दैमा अहिले सपूतलाई दिइएको धम्की र दबाब पूर्ण बेठिक छ । सच्चिने कलाकारले होइन, दल र नेताहरूले हो ।

खासमा पूर्वमाओवादी महिला लडाकुले बाध्यतावश गर्नुपरेको देह व्यापारको दृश्यांकनलाई लिएर माओवादी नेता–कार्यकर्ता आक्रोशित भएका हुन् । तर, यो आक्रोश त आफ्नै नैतिकता, आचार, विचार सबै बेचेर भ्रष्टाचारमा चुर्लुम्म डुबेका आफ्नै पार्टीका शीर्ष तहका नेताहरूप्रति लक्षित हुनुपर्ने होइन र ?

सत्यसँग साक्षात्कार गर्न, यथार्थ स्वीकार गर्न आँट चाहिन्छ । सपूतको यो गीतलाई म केवल माओवादीसामु तेर्स्याइएको प्रश्न ठान्दिनँ । आजको राजनीति र नेतृत्वमाथि पनि एउटा गम्भीर प्रश्न हो यो गीत ।

धम्कीबाट डराएर गीत हटाउन वा परिमार्जन गर्न आवश्यक छैन । यो कला हो, जसमा यथार्थ छ, तर कल्पना पनि छ । यसमा सत्य छ र शंका पनि छ । कलाले सत्य मात्र भन्दैन, यथार्थ मात्रै देखाउँदैन । कलाकारले त्यसमा आफ्नातर्फबाट कल्पना पनि केही थप्न सक्छ, प्रश्न पनि गर्न सक्छ । यो उसको अधिकार हो । कलाको मौलिक विशेषता हो । आफूले गरेको सिर्जना ठीक छ भने त्यसमा कलाकार अडिनु पनि पर्छ, अनि मात्र अभिव्यक्ति स्वतन्त्रता जोगाउन सकिन्छ । गीतले श्रोता र दर्शकलाई चिमोट्छ, निमोट्छ, झांगलझुंगल पार्छ र झक्झक्याएर जगाउँछ । तब न कुनै पनि सिर्जना सफल, स्वादिलो र खँदिलो बन्छ । ‘पिर’ले माओवादी पंक्तिलाई चिमोट्न सफल भयो । तर, गैंडाको जस्तो छाला भएका, संवेदना र घ्राणशक्ति गुमाएका नेताहरूलाई यसले छोयो कि छोएन ? प्रकाश सपूतले ‘पिर’ मार्फत वर्तमान समयमा औंला ठड्याएर प्रश्न गरेका छन् । यो उनको जन्मसिद्ध अधिकार हो । उनको अधिकारको स्वागत र सम्मान गरौं ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार