होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • हिंसा भयो भन्न डराउनु पर्ने समाजमा ‘नारी दिवस’ कसरी मनाउने ?
विचार/ब्लग

हिंसा भयो भन्न डराउनु पर्ने समाजमा ‘नारी दिवस’ कसरी मनाउने ?

  • नागरिक रैबार
हिंसा भयो भन्न डराउनु पर्ने समाजमा ‘नारी दिवस’ कसरी मनाउने ?

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैछ । यो दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । सन् २०२२ सम्म आइपुग्दा हामीले ११२औँ नारी दिवस मनाइरहेका छौँ । नेपालमा महिला हिंसा विरुद्ध आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । उनले वि.सं १९९८ मा आफ्ना अनुयायीसहित परिवर्तनका लागि खबरदारी गर्दै जल समाधि लिएकी थिइन् ।

हालै एक नायकले नाबालिगमाथि यौनशोषण गरेको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेक थरीका टीकाटिप्पणी आइरहेका छन् । वर्षौँसम्म होटलको कोठामा बसेर बनाएको सम्बन्ध एकाएक कसरी बलात्कारमा परिणत भयो भन्ने प्रश्न धेरैको छ । यो घटनामा नाबालिग पीडित हुन् भनेर मान्नै तयार छैन । हिंसामा परे भनेर भन्न ठूलो साहस बोक्नुपर्ने अवस्था छ । न्यायको लागि छोरीले आफ्नो सम्पूर्ण मान प्रतिष्ठा र चरित्रलाई कहिलेसम्म बलिदान गर्नुपर्ने ?

यसै घटनालाई लिएर धेरैले नबालिगको हकमा उमेर हद घटाउनुपर्ने कुरामा जोड दिएको पाइन्छ । अहिलेको हावापानी र खानपिनले बालबालिका चाँडै हुर्किँदै गएको र परिपक्व हुँदै गएको कारण देखाउँदै उमेर हद घटाउनुपर्ने बहस चलेको छ । १४/१५ वर्षकी नाबालिकासँग यौन सम्बन्ध राख्न पाउनुपर्छ भन्ने बहस कुण्ठित व्यभिचारको प्रस्फुटन हो । सदियौँदेखि पितृसत्ताले महिलालाई उपभोग्य वस्तु मानेको छ । विश्वले नारी दिवस मनाउन थालेको ११२ वर्ष पुग्यो, तर आज झन् यो सत्ताले नाबालिकसँगै सम्बन्ध राख्न पाउनुपर्छ, उमेर घटाउनुपर्छ भन्दै बहस गरेको देख्दा साँच्चै यो पृथ्वी छोरीको लागि अझै पनि सुरक्षित छैन भन्ने देखिएको छ । आजको दिनसम्म बलात्कृत नहुने नारी भाग्यले बाँचेका हुन् अथवा जोगिएका हुन् ।

विज्ञापन

हाम्रा हजुरआमाहरूले ७/८ वर्षको उमेरमा बिहे गरेर, पहिलो रजस्वला हुने बित्तिकै सन्तान जन्माएका थिए । सानो उमेरमा आमा बन्नुपर्दा कति आमाहरूले अकालमै मृत्युवरण गर्नु परेको थियो । आमा बन्नका लागि शारीरिक र मानसिक रूपमा परिपक्व हुन आवश्यक ठानियो र समयसँगै बिहे गर्ने उमेर बढ्दै गयो, त्यसले आमा र शिशुको मृत्युदरलाई कम गर्दै लग्यो । यी सारा उपलब्धिलाई बिर्सेर सानो उमेरमा बिहे गर्दा बलात्कारको घटना कम हुन्छ भनेर बहस गर्नेहरूको लागि उपचार के हो ? आमाहरूले १५ वर्षमा सन्तान जन्माएका थिए । त्यसैले नाबालिगको उमेर हद घटाएर भए पनि कलिला किशोरीसँग शारीरिक सम्बन्ध बनाउन पाउनुपर्छ भन्ने नरपिचास सोचको औषधी के हो ?

नायकले कहीँ पनि मैले करणी गरेको छैन भनेका छैनन् । गर्भवती भएको भए स्वीकार गर्थेँ, नभएकाले म बाध्यकारी छैन भनेका छन् । १८ वर्ष भन्दा कम उमेरकी बालिकालाई मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुरको २१९ नम्बरको व्यवस्थाले उनले कसुर गरिसकेको अवस्था हो । कानुनले वर्जित गरेको नाबालिगलाई प्रेम गर्छु, बिहे गर्छु भनेर भावनामा बहकाएर सम्भोग गर्ने र पछि यस्तो सम्बन्ध सामान्य हो भनेर पन्छिने प्रवृत्ति आपराधिक हो । नाबालिगले कुनै वयस्कसँग यौन सम्बन्ध स्थापित गर्ने चाहना व्यक्त गरिन् भने पनि वयस्कले उनीसँग सम्बन्ध राख्नुलाई कानुनले करणी मानेको छ ।

किशोरीसँग एक टोली मिलेर गरेको कुराकानीको अडियो रेकर्ड गरिएको छ । यसो गर, उसो गर भनेर मतियारहरूले उनलाई प्रयोग गरेका छन् । के गर्न हुन्छ, के गर्न हुन्न, अरूको कुरा कति सुन्ने–मान्ने भन्ने हेक्का छैन । उनले मतियारहरूले जे भनेका छन्, त्यसै गरेकी छन् । उनी काँचो माटो हुन्, जसले जस्तो मन लाग्यो, उस्तै भाँडो बनाउन सक्ने । त्यही भएर नै कानुनले यो उमेर समूहलाई नाबालिग मानेको हो । ३०/३५ वर्षको उमेरमा लिएको निर्णय पनि कतिपय अवस्थामा गलत साबित हुन्छ, तर १७ वर्षकी नाबालिगकै चरित्रमाथि प्रश्न उठाएर करणीलाई प्रोत्साहन गर्नेहरूबाट अरू हाम्रा नाबालिगहरु पनि सुरक्षित रहन सक्दैनन् । र, नाबालिगको प्रयोग गर्ने मतियारहरूलाई पनि ३ वर्षको सजाय हुन्छ ।

पक्ष र विपक्षमा जति पनि बहस भएको छ । त्यसको अन्तिम निष्कर्ष र वास्तविकता के पनि हो भने एकाध मान्छेहरू बाहेक ‘पल आचरण’ भएकाहरू धेरै छन् । शिक्षित, विद्वान्, धनाढ्य, वयस्क, अर्धवयस्कहरूलाई नाबलिगसँग सम्बन्ध बनाउनुमा कुनै आपत्ति छैन । पलको घटना बाहिर आएपछि यिनीहरू तर्सिएका छन् । नैतिक रूपमा पतन मान्छे डराएको हुन्छ । डराएको र त्रसितले कुतर्क गर्न सुरु गर्छ । हरेकको आ–आफ्नो तर्क हुन्छ तर तर्क कानुनसंगत हुनु पर्‍यो । सामाजिक सञ्जालमा अहिले १८ वर्ष पुग्यौ ? भन्ने खालका भिडियो र मेमहरू आइरहेका छन् । अफिसमै पनि केटी स्टाफसँग बोल्न, चिया खान जाऊँ भन्न पनि डर भो भन्ने पुरुष स्टाफभित्र ‘पल आचरण’ रहेको कुरा प्रष्ट देखिन्छ । होइन, ऊ किन तर्सिएको छ ?

१६ वर्ष उमेर पुगेपछि नागरिकता बन्छ तर मतदान गर्न १८ वर्ष पुग्नुपर्छ । किनभने उसले आफ्नो मतदानको सही उपयोग गर्न सक्ने अवस्थामा पुगेको हुँदैन । मतदान गर्न किन १८ वर्ष नै पुग्नुपर्‍यो ? भनेर आजसम्म कसैले बहस गरेको छैन । तर यौनको मामिलामा मान्छे शारीरिक, मानसिक परिपक्वता हुनुपर्ने भन्दा पनि ‘चाहना’लाई मात्रै प्राथमिकतामा राखेको पाइन्छ ।

करणी आरोप लागेका अभिनेता शाहको पक्षमा बहस गर्नेहरूले पीडितलाई थप पीडा दिएका छन् । पीडकको पक्षमा भ्रामक अभियान चलाउनेहरू समाजका लागि धब्बा हुन् । नायक यतिबेला यौन दुराचारीका आरोपी हुन् । आरोप लाग्नु भनेको अपराध प्रमाणित हुनु होइन । उनी सही छन् वा गलत त्यो कानुनले तय गर्नेछ ।

संयुक्त राष्ट्र«संघीय विकास कार्यक्रम (यूएनडीपी)को लैङ्गिक विकास सूचक अनुरूप नेपाल कम लैङ्गिक विकास भएको देशको वर्गमा पर्छ । त्यसै गरी नेपाल एशियाली मुलुकमध्ये सबैभन्दा कम लैङ्गिक विकास भएको देशको सूचीमा पर्छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक)का अनुसार हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको देखिन्छ । तर पनि अझै हिंसाको चरम अवस्थामा पुगेपछि मात्र पीडित प्रहरीकहाँ पुग्ने गरेको पाइन्छ । यसले महिला तथा किशोरीहरू घरभित्रै असुरक्षित रहेको कुरा पुष्टि गर्दछ ।

महिला विरुद्धको हिंसा संरचनागत विभेदको परिणाम हो । लैङ्गिक समानता, महिलाको आफ्नो शरीरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिश्चित नभएसम्म महिलाहरू स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट वञ्चित हुन्छन् । यसर्थ, नेपालको संविधान, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरू पूर्ण पालना गर्दै, महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण यथाशीघ्र तयार गर्नुपर्छ । नभए हिंसा भयो भन्न डराउनु पर्ने समाजमा ‘नारी दिवस’ कसरी मनाउने ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै