होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • छोरी, तिमीले आफ्नै आँखामा सपना देख्न सक्नुपर्छ
विचार/ब्लग

छोरी, तिमीले आफ्नै आँखामा सपना देख्न सक्नुपर्छ

  • नागरिक रैबार
छोरी, तिमीले आफ्नै आँखामा सपना देख्न सक्नुपर्छ

छोरी, तिमी आज दुई वर्ष पुरा भएकी छौ । तिमी दिनदिनै हुर्किरहेकी छौ । हरेक दिन तिम्रा हुर्काईका फरक फरक क्रियाकलाप देखेर म दंग पर्छु । अहिले तिमी राम्रोसँग हिँड्न सक्ने भएकी छौ । तिम्रो क्षमताले भ्याएसम्म सबै शब्दहरु उच्चारण गर्न सक्ने भएकी छौ । छोटा र सरल वाक्याशंहरु बोल्न थालेकी छौ । अव विस्तारै लामा र जटिल वाक्याशंहरु पनि सिक्दै जाने छौ र त्यसका भावहरु पनि बुझ्दै जानेछौ । परिवारका सदस्यहरुले गर्नुपर्ने कामको बारेमा पनि बताउन थालेकी छौ । आफूले पनि गर्नुपर्ने, गर्न हुने र गर्न नहुने कामको बारेमा बुझ्न थालेकी छौ । खुशी हुन र दुःखी हुन जानेकी छौ । रिसाउन, घुक्र्याउन र दङ्ग्याउन पनि थालेकी छौ । म मख्ख पर्छु तिम्रा खुशी र हाँसो देखेर । म दंग पर्छु, तिम्रा क्षणिक दुःख र रोदन सुनेर । अनि त्यही क्षण तिमीभित्र अथाह खुशी भेट्छु म । तिमीभित्र चरम सन्तुष्टि भेट्छु म । तिम्रा आँखामा मेरा सपनाहरु देख्छु म । तिमीभित्र आफ्नो जीवन खोज्छु म । तिमीभित्र सारा ब्रह्माण्ड देख्छु म ।

तिमी अबोध छौ । रिस उठ्दा रिसाई दिन्छौ । दुःखमा रोई दिन्छौ । सुखमा रमाई दिन्छौ । रमाईलोमा हाँसी दिन्छौ । तिमीलाई जे लाग्छ, तिमी त्यही गरी दिन्छौ । आफूभित्र जे छ, त्यही देखाई दिन्छौ । क्रियाअनुसार प्रतिक्रिया जनाई दिन्छौ । किनभने तिमी अबोध छौ, अन्जान छौ । त्यसैले त बेहिसाव रमाउन सक्छौ । बेलगाम रिसाउन सक्छौ ।

जव म तिमी जस्तै थिएँ । ठ्याक्कै तिम्रै उमेरकी थिएँ । म पनि तिमी जस्तै बेहिसाव रमाउन सक्थेँ, बेलगाम रिसाउन सक्थेँ । मैले तिमीभित्र आफ्नो जीवन खोजे जस्तै मेरी आमा पनि मभित्र आफ्नो जीवन खोज्थिन् होला । सारा ब्रह्माण्ड देख्थिन् होला । मेरा खुशीमा हाँस्थिन् होला । मेरा दुःखमा रुन्थिन् होला । तर आफ्नो सुखमा न हाँस्न सक्थिन् न दुःखमा रुन नै । मेरा आँखामा आफ्ना सपनाहरु देख्थिन् होला । मेरा सपनाहरुसँगै आफ्ना सपनाहरु पुरा गर्ने कल्पना गर्थिन् होला ।

विज्ञापन

त्यसै गरी म पनि तिम्रो खुशीमा रमाई दिन्छु तर मेरै खुशीमा रमाउन सक्दिन । तिम्रो दुःखमा रोई दिन्छु तर मेरै दुःखमा रुन सक्दिन । किनभने तिमी जस्तै म अबोध भई रहन पाईनँ । अन्जान बनी रहन पाईनँ । त्यसैले तिम्रा खुशी र हाँसोमा आफ्नो सुख खोज्छु म । तिम्रो पीडा र रुवाईमा दुःखी हुन्छु म । । तिम्रा आँखामा मेरा सपनाहरु देख्छु म । तिमीभित्र आफ्नो जीवन खोज्छु म ।

जब तिमी विस्तारै जटिल शब्द, जटिल भावहरु बुझ्न थाल्ने छौ, तब तिमी सरलबाट जटिल बन्दै जाने छौ । त्यति बेला तिमी अबोध–अन्जान रहिरहन पाउने छैनौ । अनि तिमीसँग हिसाव मागिने छ, तिम्रो हाँसोको । लगाम लगाईने छ, तिम्रो रुवाईमा । अनि तिमी पनि मेरी आमा र म जस्तै दुःख लाग्दा निष्फिक्री रुन र खुशी हुँदा निर्धक्क हाँस्न पाउने छैनौ । तिमीले सपना देख्न पाउने छैनौ । तिम्रा रहरहरु कसैलाई सुनाउन सक्ने छैनौ । तिम्रा आवश्यक्ताहरु कसैसँग भन्न सक्ने छैनौ । जव तिमीलाई कर्तव्य र जिम्मेवारीहरु बुझाउन थालिने छ नि, तब तिमी तिम्रा अधिकारहरुको लागि लड्न सक्ने छैनौ । तिमी आफ्नो खुशीमा रमाउन र दुःखमा रुन सक्ने छैनौ, ठिक म जस्तै । म जस्तै तिमी पनि अरुको खुशीमा आफूलाई खोज्न थाल्ने छौ । अरुको दुःखमा आफूलाई भेट्न थाल्ने छौ । अरुमा आफूलाई समाहित गर्न थाल्ने छौ । मेरी आमाले मेरा आँखामा सपना देखे जस्तै । मैले तिम्रा खुशीमा आफ्नो सन्तुष्टि भेटे जस्तै ।

समय फरक होला । संवेग त संवेग नै हुन् नि, चाहे उनका हुन्, मेरा हुन् या तिम्रा । सपनाका आकार–प्रकार र आयतन फरक होलान् । सपना त सपना नै हुन् नि चाहे उनका हुन्, मेरा हुन् या तिम्रा । बाँच्ने परिवेश र परिस्थिति फरक होला । जीवन त जीवन नै हो नि चाहे उनको होस्, मेरा होस् या तिम्रो ।

हाम्रा आमाहरु चाहन्थे, आफ्ना छोरीहरुले आफूभन्दा धेरै पढुन् । आफूले जस्तै दुःख नपाऊन् । खुशी होऊन्, सुखी होऊन्, । तर आफ्नै संस्कारको पदचाप पछ्याऊन् । जानेर–नजानेर, चाहेर–नचाहेर मैले, मेरी आमाले, आमाकी आमाले यस्तै यस्तै तवरले उनीहरुले हामीलाई सिकाई रहे । हामीले पनि आफ्नी आमाले चाहेजस्तै वहाँकै संस्कार, वहाँकै पदचाप पछ्याईरह्यौं । त्यसैलाई पछ्याउदै गर्दा हामीले कहिले सही र गलत छुट्याउन सकेनौं । कहिले गलतलाई गलत र सहिलाई सही भन्न नसकेर कहिले कतिलाई अन्याय गर्यौं भने कहिले आफैं अन्यायमा पर्यौं । कहिले संस्कार र कुसंस्कार छुट्याउन नसकेर कुसंस्कारहरुलाई पनि पुस्तान्तरण गर्ने पुलको काम गर्यौं ।

हाम्रा आमाहरु भन्थे संस्कारी बन्नु पर्छ । संस्कारी बन्न अलिकति लजाउनु, अलिअलि डराउनु पर्छ । धेरै सहनु पर्छ, थोरै बोल्नु पर्छ । विस्तारै हिँड्नु पर्छ, सम्हालिएर बस्न जान्नुपर्छ । उनीहरुले हामीलाई परिवारको लागि, समाजको लागि गर्नुपर्ने र गर्न नहुने कुराका फेहरिस्त सुनाएर संस्कारी बन्न सिकाए । सधैं अरुको लागि बाँच्न, हाँस्न सिकाउने आमाहरुले कहिल्यै तिमी आफ्नो लागि बाँच । जे गर्छौ तिम्रो लागि, तिम्रो खुशी र आत्मसम्मानको लागि गर भन्न जानेनन् या सकेनन् । उनीहरुले भनेनन् ।

मेरी आमा आफ्नो लागि बाँच्नु पर्छ भन्ने थाहा सम्म पनि नपाएर अरुकै लागि बााँचिन् । मलाई थाहा भएर पनि म अरुकै लागि बाँचिरहेकी छु । मलाई थाहा छ, आफ्नो लागि पनि बाँच्नु पर्छ । त्यसैले म मेरा लागि पनि बाँच्न चाहन्छु । आफ्नो लागि बाँच्न थाल्दा म एक्लो हुन्छु । म टाढिन्छु परिवारबाट । म एक्लिन्छु समाजबाट । अनि म आफ्नो लागि बाँच्नको लागि, आफ्नो खुशी र आत्मसम्मानको लागि एक्लै हिँड्न सकिन । सबैसँग एक्लै लड्न पनि सकिन । म एक्लिन चाहिन, परिवार र समाजबाट । त्यसैले मैले मेरो लागि बाँच्न छोडिदिएँ ।

सायद म पहिलो पुस्ताको आमा हँु जसले आफ्नो छोरीलाई आफूले बाँचेको परिवेश भन्दा फरक तरिकाले बाँच्न प्रेरित गरिरहेको छु । तिमीलाई पनि परिवार, समाज र संस्कारले मेरी आमा र म बाँचेको परिवेशमा बाँच्न बाध्य पार्ने दुस्प्रयास गर्न सक्छ । तर तिमीले आफ्नै लागि बाँच्नु पर्छ । तिमीले आफ्नै आँखामा सपना देख्नु पर्छ । तिमीले आफ्नो जीवन जिउनु पर्छ । दुःखमा वेलगाम रुन सक्नु पर्छ । खुशीमा वेहिसाब रमाउन सक्नु पर्छ । आफ्नो लागि बाँच्दा एक्लै भए पनि तिमी एक्लै हिँड्न सक्नु पर्छ । एक्लै लड्न सक्नु पर्छ । तिमी जे गर्छौ तिम्रो लागि, तिम्रो खुशी र आत्मसम्मानको लागि गर । तिम्रो लागि म हरक्षण रक्षाकवच बन्नेछु । तिम्रो लागि म हरेक ठाउँमा ढाल बनेर उभिने छु ।

तिमी विद्रोही बन तर आत्मसर्मपण नगर । तिमीले एक पटक आत्मसमर्पण गर्यौ भने तिमी आफ्नो आँखामा कहिल्यै सपना देख्न पाउने छैनौ । आफ्नो लागि बाँच्न पाउने छैनौ । परिवार, समाज अनि संस्कारले तिमीलाई पनि मेरी आमा र मलाई जस्तै बाध्य बनाउने छन् अरुको लागि बाँच्न । अरुको खुशीमा हाँस्न । अरुको दुःखमा रुन । अरुको आँखामा सपना देख्न ।

जब तिमी आफ्नै आँखाले सपना देख्ने छौ, तब अरुको आँखामा पनि सपना भर्न सक्नेछौ । जब तिमी आफ्नो लागि बाँच्ने छौ, तब अरुलाई पनि बाँच्ने कला सिकाउने छौ । जब तिमी आफ्नो लागि जिउने छौ, तब अरुलाई पनि जिउने बाटो देखाउन सक्ने छौ । जब तिमी खुशीमा हाँस्न सक्ने छौ, तब अरुलाई पनि हँसाउने छौ । जब तिमी निर्धक्क रुन सक्ने छौ, तब रुवाईको कारण र भाव बुझेर अरुको आँशु पुछ्न सक्ने छौ । तब मात्र तिम्रो जीवन सार्थक हुनेछ, जब तिम्रो जीवन मानव सभ्यता, प्राणी जगत र सम्पूर्ण चर–अचर जीवन विकासको लागि पनि सहयोग सिद्ध बन्नेछ । मेरो शुभ आर्शिवाद र साथ सधैँ रहने छ तिमीलाई । मेरो शुभकामना छ तिमीलाई । रातोपाटीबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार