होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अब महिला प्रधानमन्त्री
राजनीति

अब महिला प्रधानमन्त्री

नयाँ ऊर्जा अनि विचार बोकेका ती तमाम युवा (जो प्रकृतिवाद, महिलावाद, मानवतावादको विचार बोक्छन्) जमातले अबको नेतृत्व लिनुपर्छ । बालेनसँगै विनिता, हर्कसँगै हरिमायाहरू पनि स्वतन्त्र रूपमा आउनुपर्छ । अबको राजनीति महिलामय, युवामय बनाउनुपर्छ ।

  • नागरिक रैबार
अब महिला प्रधानमन्त्री

जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदै रुँदै बेंसी मेलैमा ….

कतिलाई यो गीत असान्दर्भिक लाग्ला। अब यो गीतबाट तपाईंले कल्पना गरेको जस्तो फलामको जेल हटाइदिनुस् र सिसाको पारदर्शी खुला जेल सम्झिनुस् त ? के अब तपाईंको सन्दर्भसँग मेल खान्छ ?

विज्ञापन

समानता अनि समावेशिताको यति लामो यात्रासम्म आइसक्दा हामीलाई धेरै लामो दूरी तय गरिसकेको लाग्नु जति स्वाभाविक हो, महिलाले आफ्नो तुलना हिजोको आफ्नो अवस्थासँग गर्नु त्यति नै अस्वाभाविक पनि हो । हिजोभन्दा आजको अवस्था सुध्रिएको देखिनु, त्यसैमा चित्त बुझाउनुले समस्या समाधान गर्दैन । समस्यालाई नजरअन्दाज गर्नु समस्या नहुनु होइन ।

स्वतन्त्र चुनाव लड्ने यत्रो भीडमा उम्मेदवारको लैंगिक अनुपात १:९ छ। ९ जना पुरुष उम्मेदवार बनिराख्दा एक जना महिला उम्मेदवार छन् । के महिलाहरू स्वतन्त्र उम्मेदवार बन्नै पनि स्वतन्त्र नभएका हुन् त ?

के हामीले देखेको समथर धरातल यथार्थमा समथर छ ? के हामीलाई उस्तै उपकरणहरू प्रदान गरिएको छ ? के महिलालाई हेरिने अवधारणावाद सामाजिक, संस्कृतिक, अनि आर्थिक विभेदरहित छ? १३६ वर्ष पछाडि रहेका (विश्व आर्थिक मञ्च, जेन्डर ग्याप रिपोर्ट) महिलाको अवस्था अघि ल्याउन के हाम्रा राजनीतिक दलहरू प्रतिबद्ध छन् ?

स्वतन्त्रको भीडमा के हाम्रो समाज महिलालाई पनि पुरुषसरी नेतृत्वको भूमिकामा उकाल्न तयार छ ? सामाजिक संजालहरूमा हामीले खोजेको उम्मेदवारको न्यूनतम मापदण्ड पुरुष र महिलाका लागि कतै फरक त छैनन् ? कतै हामी राम्री महिला अनि सक्षम पुरुष उम्मेदवार खोज्दै त छैनौं ? कतै महिला उम्मेदवारको हकमा बडी शेमिंगका भद्दा मजाक अनि पुरुष उम्मेदवारको हकमा उसका इन्जिनियरिङका डिग्री अनि योग्यताका कुरा त गरिराखेका छैनौं ?

मेरो अनुभवमा विद्यालयका कक्षाकोठाभित्रका प्रतिस्पर्धाहरूमा, परीक्षाहरूमा अब्बल नम्बर ल्याउने अब्बल दशभित्र अधिकांश केटी नै हुन्छन् ।

प्रथम दर्जाका नम्बर ल्याउने मात्र नभई, रोज्न पाउँदा पहिलो बेञ्चमा बस्न रुचाउने केटीहरू, किन कक्षाकोठा बाहिरको प्रतिस्पर्धामा थपक्क पछाडिको बेञ्च रोज्छन् ? यस्ता अदृश्य सामाजिक संस्कार तोडेर ड्राइभिंग सिटमा हकदाबी गर्ने हरेक महिलालाई अगाडि बढाउनु ती तमाम योग्य भएर पनि पछाडि बसेकाहरूका लागि पनि अगाडि आउने प्रतिस्पर्धात्मक तथापि सकारात्मक उत्प्रेरणा थप्नु हो ।

त्यसैले पनि रञ्जु, समीक्षाहरू अनि अरु नयाँ अनुहारहरूले आँट गर्नै पर्छ । फ्रन्ट बेन्चर बन्नै पर्छ । जित्ने आँट गर्नैपर्छ ।

म महिला भएकोले अरु महिला नेताहरूको विजयको कामना गर्नु, उहाँहरूप्रति सहानुभूति राख्नु मेरो प्राकृतिक स्वभाव होला या मेरो वैचारिक झुकाव होला, या यी दुवै कुराहरूले अर्थ नराख्ला, तर मलाई आपत्ति यो बेलामा हुन्छ जुन बेला स्वतन्त्र उम्मेदवारी दिएका आजका युवा पुरुष उम्मेदवारले महिला स्वतन्त्र उम्मेदवारलाई नदेखेझैं गरिदिन्छन्, उनीहरूको अस्तित्वलाई अस्वीकार गरिदिन्छन्। उनीहरूको नेतृत्वलाई ख्यालठट्टा ठान्छन् अनि स्वतन्त्रहरूको सूचीमा बालेन, हर्क, सागर, रवि, पुकारहरू मात्र अट्छन् ।

तीज भर्खरै सकियो । तीजलाई जसरी हाम्रा आमाहरूले मनाउनुभयो, त्यो भन्दा बिल्कुलै फरक ढंगले हामी युवा पुस्ताले मनाउँदैछौं । संस्कृति हिजो आमाहरूको पालामा विधिविधान, नियम, रीतिरिवाजको कुनै प्रश्न नगरिएको निरन्तरता थियो भने अहिले हामी संस्कृतिका आपत्तिजनक विधि, विश्वासमाथि प्रश्न गर्छौं । वैज्ञानिक कारणको खोजी गर्छौं । यसो हेर्दा हाम्रो समाज अन्धविश्वासबाट विज्ञान, ज्ञान, प्रविधि उन्मुख हुँदैछ ।

शून्यवादको यो शून्यतामा महिलाहरू सुपर वुमन बन्नै पर्छ । नलडी नहार्ने अठोट गर्नैपर्छ । हाम्रा छोरी पुस्ताका सपनाका उडान भर्न सहज बनाउन पनि आज आमा पुस्ताले प्रतिस्पर्धा गर्नैपर्छ। ड्राइभिङ लाइसेन्स भएर पनि सधैं पछाडि बसेकाहरूले गाडी म चलाउँछु भनेर स्टेयरिङमा दाबी गर्नै पर्छ । स्टेयरिङ समाउनैपर्छ
यो सांस्कृतिक, सामाजिक, राजनीतिक संक्रमणकालीन अवस्थालाई युरोपको १९औं शताब्दीका दार्शनिक फेडरिक नित्सेको शून्यवादको अवस्थासँग तुलना गर्न सकिन्छ । नेपाली समाज अहिले त्यस्तै शून्यवादको अवस्थामा छ ।

युरोपको त्यो अन्धविश्वासमय समाजमा डार्बिनको ‘जीवको क्रमिक विकासक्रमको सिद्धान्त’ले जसरी अन्धविश्वाससँग प्रश्न गर्दैथ्यो, नित्सेको ‘गड इज डेड’ भन्ने विचारले जसरी मानिआएका विश्वासमाथि धावा बोल्दै थियो, ठिक त्यसरी नेपाली समाज अहिले प्रश्न, उत्तर गर्ने, तर्क अनि तथ्यको खोजी गर्ने, कारण र असरको व्याख्या गर्ने धेरै हदसम्मको बौद्धिक समाज बन्न पुगेको छ । मूल्याङ्कनमुखी बन्न पुगेको छ । नतिजाको खोजी गर्ने बन्न पुगेको छ ।

पुरातनवादबाट आधुनिकतावाद, अन्धविश्वासबाट विज्ञानको त्यो संक्रमणकालीन अवस्थाबाट युरोप जसरी ‘एज अफ इन्लाइटनमेन्ट’ को अवस्थामा प्रवेश गर्‍यो र द्रूत विकासको बाटो समात्यो, नेपाली समाज अहिले त्यही संक्रमणकालको अवस्थामा छ । यहाँबाट हामी संरचनावादभन्दा माथि, स्थापित मूल्य मान्यताभन्दा माथि, मिथकहरू नमान्दै नयाँ संरचना, नयाँ सम्भावना निर्माण गर्ने चरणमा छौं । यो अवस्थाको पुष्टि गएको स्थानीय चुनावमा स्वतन्त्रहरूको भारी ऐतिहासिक जितले गर्छ ।

यस्तो रिक्ततामा नित्सेले कल्पना गरेको जस्तो महामानव-सुपर म्यानहरूको खोजी हुनु स्वाभाविक मात्र नभई आवश्यकता पनि हो । हिरो बन्नु, हिरो बनाउनु, एकाएक कोही व्यक्ति लोकप्रिय हुनु सबै सामान्य घटनाक्रम हुन् ।

सुपरम्यानको खोजी गरिनु या आफूमा सुपरम्यानको गुण दाबी गर्दै आगामी प्रतिस्पर्धामा आत्मविश्वासका साथ युवाहरू अघि बढ्नुले सम्पूर्ण रूपमा बदलिंदो सामाजिक, सांस्कृतिक र राजनीतिक संस्कृति पुनर्निर्माण हुने संकेत गर्छ ।

युवा पुस्ता राजनीतिमा पालो कुरेर बुढो हुने मूडमा छैनन् । न त सम्पूर्ण रूपमा पुरातन पार्टी अनि नेतालाई विस्थापित गराउने आँट गर्न सकेका छन् ।

परिवर्तनको सानो झिल्को राँको नबनी परिवर्तन प्रवृत्ति बन्न सक्दैन । प्रवृत्तिहरूलाई दोहोरिन नदिने अनि आफू शक्ति केन्द्र बनिराख्न पुरातनवादीहरूले खेल फोहोरी बनाउन सक्छन् । खेल फोहोरी भए पनि नयाँ खेलाडीहरू कति सफा रहन सक्छन्, पदको जिम्मेवारीप्रति कति इमानदार रहन सक्छन् भन्ने परीक्षाले यो बदलिंदो प्रवृत्तिको निरन्तरताको नतिजा निर्माण गर्छ ।

जलसमाधि लिएकी योगमाया जस्ता नेतृहरू हामीबीच आज पनि जीवित छन् । आज पनि हामी परिआए मर्न तयार छौं । तर के हामी लड्न तयार छौं ? के हामी प्रणाली विरुद्ध, राजनीतिक, सामाजिक, सांस्कृतिक संस्कार तोड्न तयार छौं ? के हामी हाम्रा समकालीन पुरुष पात्रहरूसँग प्रतिस्पर्धा गर्न तयार छौं ? के हामी जित्न तयार छौं ? के हामी नलडी नहार्न तयार छौं ?

भलै सागर, रवि, सुमन, पुकारहरूले ‘अबको प्रधानमन्त्री म जस्तो’ भन्न सक्लान् तर के रञ्जुहरूले आँट गर्न सक्छन् ?

खासै राजनीतिक इतिहास नभएका, हिजो आएका स्वतन्त्रहरूले ‘अबको प्रधानमन्त्री म जस्तो’ भन्न सक्लान् तर राजनीतिमा दशकौं बिताएका महिला नेतृहरूले ‘अबको पार्टी सभापति म, अबको प्रधानमन्त्री म’ भन्न सकेका छन् ? आन्तरिक विद्रोह गर्न सकेका छन् ?

प्रधानमन्त्री बन्ने पालो अब महिलाहरूको किनकि अबका छोरी पुस्ताले सुपरहरू म्यान मात्र हुन्छन् भन्ने मिथक नबोकून् । म पनि सुपर वुमन बन्छु भन्ने आत्मविश्वास मेरो छोरीमा तब मात्र निर्माण हुन्छ जब उसले बढीभन्दा बढी सुपर वुमनहरू यो समाजमा देख्न थाल्छे । जब यो समाजले देख्दै आएको फर्स्ट लेडी बन्ने अवसर जेन्सलाई दिन्छ अनि महिलालाई प्रधानमन्त्री बनाउँछ ।

आजको महिलाले आजको पुरुषसँग तुलना गर्नुपर्छ । महिलाले आज पाएका न्यूनतम, मौलिक अधिकारसँग समकालीन विपरीत लिङ्गीले पाएको विशेष, अनि पुरातन अधिकारको तुलना कदापि न्यायसङ्गत हुन सक्दैन ।

महिलाले पाउनुपर्ने र पाएका विशेष अधिकार समान धरातलीय मैदान निर्माणको आधार हो । साइकल र साइकलबीचको प्रतिस्पर्धा हो, साइकल र मोटरसाइकलको प्रतिस्पर्धा नमान्ने सुझबुझको विवेकसंगत जित हो । साइकल चलाउन सिकेकालाई मोटरसाइकल सिकाउने अवसरको थालनी हो ।

नयाँ ऊर्जा अनि विचार बोकेका ती तमाम युवा (जो प्रकृतिवाद, महिलावाद, मनावतावादको विचार बोक्छन्) जमातले अबको नेतृत्व लिनुपर्छ । बालेनसँगै विनिताहरू, हर्कसँगै हरिमायाहरू पनि स्वतन्त्र रूपमा आउनुपर्छ । अबको राजनीति महिलामय, युवामय बनाउनुपर्छ ।

शून्यवादको यो शून्यतामा महिलाहरू सुपर वुमन बन्नै पर्छ । नलडी नहार्ने अठोट गर्नैपर्छ । हाम्रा छोरी पुस्ताका सपनाका उडान भर्न सहज बनाउन पनि आज आमा पुस्ताले प्रतिस्पर्धा गर्नैपर्छ। ड्राइभिङ लाइसेन्स भएर पनि सधैं पछाडि बसेकाहरूले गाडी म चलाउँछु भनेर स्टेयरिङमा दाबी गर्नै पर्छ । स्टेयरिङ समाउनैपर्छ ।

आफ्नो आवाज नदबाएका, आफ्नो पदचाप बलियो बनाएका, लड्न तयार भएका, गति ह्रास नभएका, प्रविधिको रफ्तारमा दौडिन सक्ने, हरेक क्षेत्रका सक्षम महिला नेतृत्वलाई फर्स्ट बेन्चर बनिदिन अनि बढीभन्दा बढी युवा महिला आगामी प्रदेश र प्रतिनिधिसभामा दलको झन्डा बोकेर या नबोकेर आइदिनुहुन अनुरोध, आग्रह अनि हृदयदेखि जितको अग्रिम शुभकामना व्यक्त गर्दछु ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार