होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देखियो कोभिडको नयाँ भेरिएन्ट
समाचार

देखियो कोभिडको नयाँ भेरिएन्ट

विज्ञ भन्छन्– ‘हालसम्म बनेका खोप प्रभावकारी नहुने र संक्रमण दर पनि बढ्ने’

  • नागरिक रैबार
देखियो कोभिडको नयाँ भेरिएन्ट

काठमाडौँ — दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । एनआईसीडीका कार्यकारी निर्देशक प्रा. एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’

विज्ञापन

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि पत्ता लागेका कोभिड–१९ का भेरिएन्टमध्ये बी.१.१.५२९ धेरै भिन्न प्रकृतिको र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् । उनले यो भेरिएन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन स्पाइक प्रोटिनमा मात्र भएको उल्लेख गरेका छन् । कोभिडविरुद्धको खोप स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइन्छ, यदि प्रोटिनको स्वरूपमै परिवर्तन आएको खण्डमा खोप प्रभावकारी हुँदैन । वैज्ञानिकका अनुसार सबै उत्परिवर्तन भाइरसका लागि राम्रो मानिँदैन, यदि स्पाइक प्रोटिन परिवर्तित भएको खण्डमा भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।

वैज्ञानिकहरूले नयाँ भेरिएन्टमा कोभिडको खोपले काम नगर्ने र संक्रमणको दर तीव्र हुनुका साथै बिरामीमा गम्भीर लक्षण देखा पर्न सक्ने बताएका छन् । नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा पछिल्लो समय देखिएको महामारीको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । तर डेल्टा भेरिएन्टको दाँजोमा ‘बी.१.१.५२९’ को ‘रिसेप्टर बाइन्डिङ डोमेन’ मा समेत १० प्रकारको परिवर्तन (म्युटेसन) पाइएको हुँदा अत्यन्त सतर्कता अपनाउनुपर्ने भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले बताए ।

‘बेलायती वैज्ञानिकले समेत नयाँ भेरिएन्टलाई लिएर चेतावनी दिएका छन् । नयाँ भेरिएन्ट आफ्नो स्पाइक प्रोटिनमा परिवर्तन गरेर तीव्र गतिले फैलिइरहेको छ ।’ उनले नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङकङमा समेत नयाँ भेरिएन्ट देखिनु चिन्ताको विषय भएको बताए । ‘दक्षिण अफ्रिकाका साथै नेपालीको उल्लेख्य उपस्थिति रहेको हङकङमा समेत नयाँ भेरिएन्ट फेला पर्नु नेपालका लागि खतराको संकेत हो । त्यसैले अत्यन्त सतर्कता अपनाउनुपर्ने खाँचो छ,’ उनले भने । हाल नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ उडान सातामा एक दिन गरिरहेको छ ।

नयाँ भेरिएन्टका कारण महामारीको जोखिम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार आकस्मिक बैठक बोलाएको छ । डब्लूएचओका महामारीविद् डा. मारिया वान केरखोबले कोभिड भाइरसको नयाँ भेरिएन्टबारे जानकारी दिँदै भनेकी छन्, ‘यो भेरिएन्टबारे हामीलाई धेरै थाहा छैन । यति भन्न सक्छौं कि यसको धेरै स्वरूप परिवर्तन भइसकेको छ । यो भाइरसको प्रभाव जान्न हामीलाई केही साता लाग्छ ।’ डब्लूएचओले शुक्रबार नै दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफलसमेत गरेको छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले पनि सूचना जारी गर्दै नयाँ भेरिएन्ट सोचिएभन्दा छिटो फैलिइरहेको उल्लेख गरेको छ । तर डेल्टा भेरिएन्टजस्तो संक्रामक छ/छैन भन्ने यकिन हुन भने बाँकी रहेको विभागले जनाएको छ । दैनिक दुई सयजति नयाँ संक्रमित देखिइरहेको दक्षिण अफ्रिकामा बिहीबार मात्र एक्कासि त्यो संख्या बढेर २ हजार ४ सय ६५ पुगेको छ । दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले मात्र खोपको पूर्ण डोज लिएका छन् । बेलायतले नयाँ भेरिएन्ट भित्रिन नदिन दक्षिण अफ्रिकालगायत ६ वटा अफ्रिकी मुलुकबाट हुने आवागमनलाई रोक लगाउने निर्णयसमेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले नयाँ भेरिएन्ट भेटिएका र संक्रमण बढेका मुलुकबाट आउने सबै यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत सतर्कता अपनाउन थालिएको जानकारी दिए । ‘यात्रामा रहेका मात्र नभएर हामीसमेत जोखिममा छौं,’ डा. पौडेलले भने, ‘जुन देशमा नयाँ भेरिएन्ट देखिएको छ, त्यहाँबाट आएका यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत थप स्वास्थ्य सतर्कता अपनाउन थालिसकेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार