होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • नयाँ ‘स्पाइडर-म्यान’ संसारभरि सुपरहिट हुनुको कारण के?
बलिउड/हलिउड

नयाँ ‘स्पाइडर-म्यान’ संसारभरि सुपरहिट हुनुको कारण के?

  • नागरिक रैबार
नयाँ ‘स्पाइडर-म्यान’ संसारभरि सुपरहिट हुनुको कारण के?

कोरोनाले लामो समय सिनेमा हल बन्द गरायो। हल नियमित खुलेपछि पनि धेरै फिल्मले चर्चा बटुल्न सकेनन्। तर यो महिना अमेरिकादेखि नेपालसम्मका हलमा खुबै जमेको एउटा फिल्म हो ‘स्पाइडर-म्यानः नो वे होम’।

अमेरिकी कम्पनी मार्भल भव्य फिल्म बनाउनेमध्ये पर्छ। भव्य भए पनि यसका सबै फिल्मले राम्रो प्रतिक्रिया पाउँदैनन्। ‘स्पाइडर-म्यानः नो वे होम’ भने भव्य त छँदैछ, सँगसँगै यसले संसारभरिका दर्शक र फिल्म समीक्षकहरूको राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

जोन वाट्सले निर्देशन गरेको यो फिल्मले दस दिनमै संसारभरबाट ६० करोड अमेरिकी डलरभन्दा बढी कमाइसकेको छ। कोरोना महामारीपछि ‘ब्लकबस्टर’ बन्न सफल यो पहिलो फिल्म हो।

विज्ञापन

सुपरहिरोको कथामा आधारित फिल्म बनाउनु मार्भलको पहिचान नै हो। श्वैरकल्पनामा आधारित स्पाइडर-म्यान, सुपर-म्यान, आइरन-म्यान, ब्याट-म्यान लगायत सुपरहिरोका कथाहरू हामीले सिनेमाको पर्दामा देख्नुभन्दा अगाडि कमिक्समा पढ्थ्यौं। कमिक्सका तिनै कथा टिपेर हलिउडका ठूल्ठूला कम्पनीहरूले फिल्म निर्माणको थालनी गरे। हामीले संसारमा देख्ने र भोग्नेभन्दा अद्भूत र विचित्र कथामा आधारित ती सुपरहिरो फिल्महरू दर्शकले पनि खुबै मन पराए। त्यसपछि त यस्ता फिल्ममा शृंखला बनाउने लहर नै चल्यो।

तिनै शृंखलामध्ये एक हो, स्पाइडर-म्यान।

सन् ७० दशकको आखिरीबाट स्पाइडर-म्यानमाथि फिल्म बनाउने सिलसिला सुरू भएको थियो। पहिलोपटक सन् १९७७ मा ‘द अमेजिङ स्पाइडर-म्यान’ को पहिलो फिल्म बन्यो। यो सुपरहिट भएपछि यही सिरिजका थप दुईवटा फिल्म बने।

त्यसपछि स्पाइडर-म्यानलाई विभिन्न कम्पनीले, विभिन्न देशले, विभिन्न भाषामा र विभिन्न रूपमा फिल्म बनाउन लर्को नै लाग्यो। एनिमेसनदेखि सिरिजसम्म बने।

करिब चार दशकमा थुप्रैतिर घुमेपछि सन् २०१६ मा मार्भल कम्पनीले स्पाइडर-म्यानमाथि फिल्म बनाउने अधिकार सोनी पिक्चर्सबाट किन्यो। लगत्तै सन् २०१६ मै रिलिज भएको मार्भलकै ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ मा पहिलोपटक टम स्पाइडर-म्यानका रूपमा देखिए।

त्यसपछि सन् २०१७ मा मार्भलले आफ्नै शैलीमा ‘स्पाइडर-म्यानः होम कमिङ’ बनायो। पिटर पार्कर उर्फ स्पाइडर म्यानको भूमिकामा २१ वर्षे टम हल्यान्ड देखिए।

होम कमिङपछि उनै टमलाई लिएर अर्को कथा आयो, स्पाइडर-म्यानः फार फ्रम होम।

अहिले रिलिज भएको ‘स्पाइडर-म्यानः नो वे होम’ त्यसैको तेस्रो श्रृंखला हो।

स्पाइडर-म्यान शृंखलाका अघिल्ला फिल्महरूले पनि चर्चा नपाएका होइनन्, तर तिनको तुलनामा अहिलेको नयाँ भाग धेरै लोकप्रिय हुनुका साथै व्यवसायिक रेकर्ड राख्ने क्रममा छ।

वर्षौंदेखि विभिन्न रूपमा बन्दै आएको स्पाइडर-म्यानको यो नयाँ फिल्म ‘नो वे होम’ मा के छ त त्यस्तो खास?

अघिल्लो भाग हेर्नुभएको छ भने तपाईंहरूलाई यादै होला, स्पाइडर-म्यानका रूपमा आफ्नो पहिचान लुकाउँदै आएका पिटर पार्कर दुनियाँसमक्ष सार्वजनिक भएसँगै फिल्म अन्त्य हुन्छ।

नो वे होमको कथा यहीँबाट सुरू हुन्छ।

धेरैपटक संसारलाई पृथ्वी र ब्रह्माण्डका अन्य ग्रहका दुश्मनबाट जोगाउँदै आएका पिटरलाई नै दुश्मन करार गरिन्छ। कलेज पढ्ने एक सामान्य ठिटोमा संसारकै ध्यान केन्द्रित हुन्छ।

यसले पिटरका समस्या बढ्छन्। खतरा पनि चुलिन्छ। उनका दुश्मन कयौं हुन्छन्।

उनी स्पाइडर-म्यान हुन् भन्ने पहिल्यै थाहा पाएका उनका मिल्ने साथी नेड लिड्स र प्रेमिका एमजेको सुरक्षाले उनलाई पिरोल्ला कि भन्ने अनुमान गरिन्छ। तर कलेज पढ्दै गरेको ठिटो पिटरको चिन्ता अर्कै हुन्छ।

नेड र एमजे थप अध्ययनका लागि आफूले रोजेको कलेजमा भर्ना हुन्छन्। पिटरले यो अवसर पाउँदैनन्। स्पाइडर-म्यानका रूपमा सार्वजनिक भएर दुश्मनको ट्याग पाएका उनलाई सामान्य जीवनमा फर्किन सहज हुँदैन।

संसार बचाउने सुपरहिरो भए पनि सामान्य जीवन जीउन चाहने पिटरलाई यो कुराले तनाव दिन्छ। उनी एउटा उपाय लाउँछन्- आफ्नो पहिचान सार्वजनिक भएको क्षण संसारलाई भुलाइदिने।

यसनिम्ति उनी अर्का सुपरहिरो डक्टर स्ट्रेन्जकहाँ पुग्छन्। डक्टर स्ट्रेन्ज समय फर्काउने कला भएका सुपरहिरो भएकाले पिटरले उनैको मद्दत माग्छन्।

डक्टर स्ट्रेन्जले पिटरलाई स्पाइडर-म्यानका रूपमा भुलाइदिने मन्त्र त फुक्छन् तर बीचमा गडबड हुन्छ।

उनको मन्त्रबाट समयले विभिन्न फेरो मार्छ। समस्या सल्टिनुको साटो ब्रह्माण्डभरबाट थोपरिन्छ। पिटर आफूमाथि केन्द्रित भएको पृथ्वीको ध्यान हटाउन चाहन्थे, तर त्यसको उल्टो ब्रह्माण्डकै ध्यान उनमा सोहोरिन पुग्छ।

त्यसपछिको कथा स्पाइडर-म्यानले ब्रह्माण्डसँग गर्ने लडाइँमा केन्द्रित छ। बीचबीचमा पिटरको निजी जीवनको कथा पनि जोडिन्छ।

ब्रह्माण्ड र जीवनसँगको उनको द्वन्द्वको पूरै कथा थाहा पाउन चाहिँ फिल्म नै हेर्नुहोला।

मार्भलका अन्य फिल्मजस्तै यसमा भरपुर एक्सन छ र बीचबीचमा कमेडीको मसला पनि पाइन्छ। यो फिल्मले दर्शकलाई नहँसाइ छाड्दैन।

एक्सन र कमेडी त मार्भलका सबैजसो सुपरहिरो फिल्ममा पाइने खुराक भइहाले। त्यसबाहेक अन्य फिल्ममा नपाइने एउटा खुराक स्पाइडर-म्यानः नो वे होमले पस्किन्छ।

मार्भलका सुपरहिरो फिल्महरू शक्ति र लडाइँमा केन्द्रित भए पनि तिनमा भरपुर भावनात्मक दृश्य हुन्थेनन्। नो वे होमले भने मार्भलको यो छवि तोडिदिएको छ।

दुनियाँका लागि बलियो सुपरहिरोको जीवनमा आइपर्ने भावनात्मक क्षणहरू फिल्ममा भरिपूर्ण छन्। सुपरहिरोको मास्कपछाडि लुकेका आँखामा छल्किने आँशु र पीडाले दर्शकलाई पनि रूवाउँछ। दर्शकलाई पिटरले आफ्नो कथामा जोड्न सक्नु फिल्मको मुख्य विशेषता हो।

यो भावना फिल्ममा यसै देखाइएको भने छैन। यसको सन्देश छ- अथाह शक्ति अथाह जिम्मेवारीसहित आउँछ।

यो फिल्म यही भनाइको विस्तृत रूप हो। पिटरले आफ्नो सामान्य जीवनमा स्पाइडर-म्यान हुँदाका प्रभाव भोग्छन्। यसकै कारण जीवनमा चुकाउनुपरेका मूल्यहरूले उनलाई पिरोल्छ।

यसअघिका सुपरहिरो फिल्महरूमा कमै पाइने यही विशेषताका कारण नयाँ स्पाइडर-म्यानले धेरैको मन जित्न सफल भएको हो।

अघिल्ला सुपरहिरो फिल्म हेर्दा दर्शकहरूलाई एक्सनले रोमाञ्चित तुल्याउँथ्यो। सुपरहिरो र उसका अलौकिक दुश्मनहरूबीचको युद्धले मुटुको धड्कन बढाइदिन्थ्यो। तर हलबाट निस्केपछि दर्शकको साथमा आफूसँग घर लैजाने कथा हुन्थेन।

हामी सबै लौकिक संसारमा बाँच्ने भएकाले हामीलाई अलौकिक संसारले रोमाञ्चित त गराउँछ तर यदि त्यही कथा हाम्रो वास्तविक जीवनसँग जोडियो भने त्यसको प्रभाव अझ धेरै हुन्छ। ‘नो वे होम’ ले स्पाइडर-म्यानको कथालाई अलौकिक संसारबाट लौकिक संसारमा ल्याएको छ। त्यसमा पिटर पार्करको कथा हाम्रो वास्तविक जीवनसँग जोडिन्छ। फिल्म हेरूञ्जेल सुपरहिरोको संघर्ष देखेर हाम्रा आँखा रसाउँछन्। उसको भावनाले हाम्रो मुटुमा पनि गाँठो पार्छ।

सबभन्दा ठूलो कुरा, हामीसँग फिल्म हेरेर फर्कंदा सँगसँगै लिएर जाने एउटा रोचक र भावनात्मक कथा पनि हुन्छ। यही नै फिल्म सुपरहिट हुनुको मुख्य कारण हो।

त्यस्तै, यसअघि किशोर उमेरका पिटरलाई अरू थुप्रै सुपरहिरोहरूको साथ हुन्छ। उनको लडाइँमा कसै न कसैले साथ दिन्छन् र उनलाई एक्लो हुन दिँदैनन्। तर नो वे होम स्पाइडर-म्यानको एक्लो युद्ध हो। ब्रह्माण्डभरका दुश्मनसँग स्पाइडर म्यान एक्लै लड्छन्, आफ्नै शैलीमा।

स्पाइडर-म्यानको बुताले नभ्याउने खतरा उनले कसरी सामना गर्लान्?

यो यात्राले स्पाइडर-म्यानको भूमिकालाई अरू सुपरहिरोजत्तिकै बलियो र प्रभावशाली बनाउन सघाएको छ। त्यसैले यो फिल्म स्पाइडर-म्यानले गुमाउने र कमाउने दुवैको मिश्रण हो।

यो फिल्मको सबभन्दा सबल पक्ष भनेको यसले पूरा हेरून्जेल कहीँ पनि अल्छी लगाउँदैन। ट्विस्टहरूले यसलाई रोचक बनाइराख्छ।

करिब तीन पुस्ताका दर्शकसम्म आइपुगे पनि स्पाइडर-म्यानको यो श्रृंखलाको कथा नयाँ र ताजा छ। पुराना श्रृंखला नहेरेकालाई पनि फिल्म बुझ्न कुनै माथापच्ची गर्नु पर्दैन। कुन कुन फिल्म हेरिसकेर स्पाइडर-म्यानः नो वे होम हेर्ने भनेर सोच्नु पर्दैन। सलल बगेको यो एउटै फिल्मले तपाईंलाई पिटर पार्कर र स्पाइडर म्यान राम्ररी चिनाउँछ।

पुराना स्पाइडर-म्यान हेर्नेहरूलाई भने यसले विगत सम्झाउँछ, सँगै मार्भलका लागि नयाँ दुनियाँको ढोका पनि खोल्छ।

‘अथाह शक्ति अथाह जिम्मेवारीसहित आउँछ’ भन्ने फिल्मको सन्देश स्पाइडर-म्यानका लागि मात्र होइन, मार्भलका लागि पनि हो।

मार्भललाई संसारभरका दर्शकले माया गरेका छन्। उसका फिल्म उत्सुकतापूर्वक पर्खिन्छन्। फिल्म दुनियाँमा शक्तिशाली बनेको मार्भलले दर्शकको प्रतीक्षा र उत्सुकता सम्बोधन गर्ने फिल्म पस्किनु उसको जिम्मेवारी हो।

स्पाइडर-म्यानः नो वे होममार्फत् उसले दर्शकप्रतिको यो जिम्मेवारी पूरा गर्न सफल देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार