होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आफूलाई बदल्न खोजिरहेका अनमोल
मनोरञ्जन

आफूलाई बदल्न खोजिरहेका अनमोल

  • नागरिक रैबार
आफूलाई बदल्न खोजिरहेका अनमोल

काठमाडौं । म्युजिक भिडियोमा नदेखिने, टिकटकमा नरमाउने, सार्वजनिक स्थानमा नजाने भएकै कारण नायक अनमोल केसी कहिलेकाहीं मिडियामाझ प्रस्तुत हुँदा उनीप्रतिको चासो धेरै हुने गरेको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएपछि सञ्चारमाध्यममा निक्कै कम देखिएका अनमोल बुधबार काठमाडौंको एभरेष्ट होटलमा पुगे । एभरेष्ट होटलमा उपस्थित दर्जन बढी सञ्चारकर्मीमाझ प्रस्तुत भएका अनमोल केसीले नयाँ चलचित्र र आफ्नो बदलिँदो गेटअपको विषयमा कुरा गरेनन् ।

तर, मिडियाझ प्रस्तुत हुनुअघि अनलाइनखबरसँग अनौपचारिक कुराकानीका क्रममा अनमोलले आफूलाई बदल्नका लागि प्रयास गरिरहेको सुनाए ।

विज्ञापन

चलचित्र ‘ए मेरो हजुर ४’मा काम गर्दा अनमोल दुब्लाएका थिए । उनको चकलेटी अनुहारलाई नै विशेषगरी युवती फ्यानहरुले रुचाएका थिए । तर, विगत केही महिनादेखि भने अनमोलको गेटअप मात्र होइन शारीरिक बनावट नै फेरिएको छ ।

नयाँ चलचित्र ‘एक्स ९’का लागि अनमोल केसी ६ वर्षपछि शाकाहारीबाट मांसाहारी भए । उनी भन्छन्, ‘मैले मासु रहरले भन्दा पनि कामका कारण खाएको हुँ । चलचित्रको छायांकन सकिएपछि म फेरि मासु खान छाड्छु ।’

अहिले अनमोललाई आफ्नो शरीर लुकाउनु परेको छ । कारण, विगत केही महिनादेखि अनमोल जिममा दैनिक घण्टौं बिताउँछन् । उनी भन्छन्, ‘अहिले त दिमागमा वर्कआउट र खानेकुराको मात्र सोच आउँछ । मैले त अहिले १ सय २० केजीसम्म उठाउन थालेको छु ।’

यसअघि १३-१४ इञ्चका उनका पाखुरा अहिले १७ इन्चको भएका छन् । अनमोल केसीको गेटअप र उनको बढ्दो ‘मसल’ हेर्दा लाग्छ, उनी आफूलाई बदल्न खोजिरहेका छन् । अनमोल अगाडि भन्छन्, ‘हामीले यहाँ विदेशी कलाकारको जसरी सबै सुविधा पाएर शरीर बनाउन सक्दैनौं । तर, नसक्ने भन्ने रहेनछ । मलाई एक्स ९ टिमले चार महिनाको मात्र समय दिनुभएको थियो । मैले सक्दो गरिरहेको छु ।’

अनमोलले अगाडि सुनाए, ‘यति छोटो समयमा शरीर बनाउनु भनेको त जोखिमको काम हो नि । चार महिनामा शरीर बनाउँदा त कहिले ढाड नै मर्किने, मसल फाट्ने समस्या हुन्छ ।’ १७ इन्चको पाखुराको तस्वीर देखाउँदै उनले भने, ‘ल तपाईं नै छामेर हेर्नुहोस् त । अझै, वर्कआउट गर्नुछ । दर्शकका लागि नयाँ गेटअप र नयाँ स्वाद हुन्छ भन्ने लागेको छ ।’

अनमोलले चलचित्र ‘कृ’मा काम गर्दा ६ महिना लगाएर ज्यान बनाएका थिए । तर, यसपटक उनले चार महिनाको मात्र समय पाएका छन् ।

अनमोल अगाडि भन्छन, ‘म कुनै पनि चलचित्र पैसा हेरेर गर्दिनँ । मैले लिने पारिश्रमिक मेरो काम, मेरो ब्राण्ड र मैले दिने समय अनुसार लिने गर्छु । चलचित्र निर्माताको सोच र उसले चलचित्र किन बनाउन खोजिरहेको छ भन्ने बुझेर म काम गर्छु ।’

अनमोल चलचित्रलाई सामान्य रुपमा मात्र लिएर काम गर्न आउने निर्माताको चलचित्र आफूले धेरै रिजेक्ट गरेको सुनाउँछन् । तपाईंले ब्राण्ड र चलचित्रमध्ये कुन बढी रिजेक्ट गर्नुभयो होला त भन्ने प्रश्नमा उनले भने, ‘शायद, चलचित्र नै बढी गरें होला ।’ अनमोलले चलचित्र ‘होस्टेल’मा काम गर्दा उनलाई धेरैले चकलेटी भने । यहींबाट नै उनको फ्यान क्रेज पनि ह्वात्तै बढ्यो । तर, विस्तारै उनको अभिनयको आलोचना हुन थाल्यो । विशेषगरी उनलाई पुरुष दर्शकहरुले विभिन्न उपमा दिएर ट्रोल पनि बनाए ।

अनमोल यो विषयमा भन्छन्, ‘दर्शकहरुले माया र आलोचना गरेर नै एउटा कलाकार अगाडि बढ्छ । मैले त्यसलाई आलोचना भन्दा पनि सुझावको रुपमा लिएको छु । यसैले त म आफूलाई बदल्न खोजिरहेको छु ।’

अनमोलको ‘ए मेरो हजुर ४’ पछि ‘एक्स ९’ रिलिज हुनेछ । ‘ए मेरो हजुर ४’मा अनमोललाई देखेका दर्शकले ‘एक्स ९’मा उनलाई देख्दा पक्कै पनि फरक महसुस गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै