३० बर्षको अघिको कुरा हो
म हरेक दिन रेडियो नेपाल जान्थेँ, नाटक खेल्न
खुट्टामा चप्पल हुन्थ्यो, शरीरमा झुत्रे लुगा
तर, आँखामा मिठो सपना थियो
मिहिनेत धेरै गरे होला
संघर्ष धेरै होला तर सफलता…
हरेक दिन संघर्ष सँगै इश्वरसँग प्रार्थना पनि गरिहन्थेँ
न मिहिनेतले काम गरेको थियो, न प्रार्थनाले नै
त्यही समय एक दिन रेडियो नेपालमा उनीसँग भेट भयो
यो भेट विस्तारै सहकार्यमा परिवर्तन भयोरामविलास धनियाँ ५ बर्ष
तितो सत्य १२ बर्ष
चलचित्रमा १० बर्ष गर्दै आज म यहाँ आइपुगेको छु
मैले इश्वरसँग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ
तर ईश्वरले आर्शिवाद स्वरुप कतिबेला उनीलाई मेरो साथी बनाएर पठाएछन्, पत्तै भएन
उनी एउटा यस्तो साथी, जो अरुको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छिन्
जो अरुको सपना पुरा गर्न, आफ्ना सारा सपनाहरुलाई पैतलामा कुल्चिन सक्छिन्
अरुकै लागि हाँस्न सक्ने, अरुकै लागि बाँच्न सक्ने
कसैको आशु देख्न नसक्ने
मुख अल्ली छुच्चो
तर, मन साह्रै कमलो
जसले जे भनोस्, उनी संसारकै सबैभन्दा जाती छिन्
मेरो एउटा साथी छिन्
जो सबैभन्दा माथि छिन् ।।।
नायिका तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिनको अवसरमा उनका सबैभन्दा नजिकका साथी दीपकराज गिरीले कोरेको कविता हो यो । दीपकराजले आज रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा माथि उल्लेखित कविता प्रस्तुत गर्दै गर्दा दीपाश्रीका आँखा रसाए । उनी भावूक भइन् र रोइन् ।
दीपाले आफूले दीपकको कवितामा कुनै प्रतिक्रिया नदिने बरु रुने बताइन् । दीपाले आफू ४६ बर्षमा प्रवेश गरेको जानकारी दिदै भनिन्–‘जन्मिने वित्तिकै बच्चा रुन्छ । यसैले, त हामी कतिबेला रुन्छौं, कतिबेला हाँस्छौं । कलाकारहरुलाई ताली र गाली दुबै चाहिन्छ । मैले यो क्षेत्रमा प्रवेश गरेपछि धेरै साथीहरु पाएकी छु र अगाडि बढेकी छु ।’
दीपकराज गिरीसँग ‘रामबिलास र धनियाँ’ कार्यक्रममार्फत चर्चामा आएकी दीपाले यसपछि ‘तितो सत्य’ नामक हाँस्य सिरियलमा काम गरिन् । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक कमाई गर्ने ३ चलचित्र ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ कि निर्देशक पनि दीपाश्री नै हुन् ।
उनै, दीपाश्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
फेसबुक प्रतिक्रियाहरु