होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • ‘उग्र नारीवादीहरूको त बिहे नै नहोस् !
विचार/ब्लग

‘उग्र नारीवादीहरूको त बिहे नै नहोस् !

  • नागरिक रैबार
‘उग्र नारीवादीहरूको त बिहे नै नहोस् !
  हिरादेवी वाइबा

एकदिन फेसबुकको न्युजफिड स्क्रोल गर्दै थिएँ, मेसेन्जरमा एउटा मेसेज खस्यो– टिङ। चिनजान भएको धेरै नभए पनि उनको विचार र बुझाइबाट म प्रभावित छु। उनैबाट आएको मेसेज रहेछ; कौतुहलसहित हेरेँ। स्क्रिन सट रहेछ। आँखा टक्क रोकेर पढेँ। त्यो प्रतिक्रिया लेख्नेप्रति थोरै सहानुभूति पनि पलायो।

सोचेँ– एउटी महिलाले आफ्नो अस्तित्वप्रति फराकिलो बुझाइ राखेर बाँचेको जीवनले मात्रै पनि पितृसत्तात्मक समाजको उत्पादनलाई यसरी पोल्दो रहेछ भने अबको चेतनशील र बदलिँदो पुस्ताले यिनीहरूलाई कति ‘थ्रेट’ महसुस हुँदो हो!

यति सोच्दै गर्दा नारीवादी लेखक सिमोन दि बउवरको एउटा पंक्ति याद आयो– ‘महिला मुक्तिको विचारप्रति अधिकतर पुरुषको प्रवृत्ति विरोधी, आक्रामक र शत्रुतापूर्ण छ। पहिलोपटक वैसान्नमा नारीवादी सभा हुँदा केही वामपन्थीले आफ्नो कोठामा चिच्याउँदै भनेका थिए– सत्ता लिंगमा राखिएको छ।’

विज्ञापन

हाम्रा सामाजिक सञ्जालमा गरिने असामाजिक टिप्पणीले ठ्याक्कै यही कुराको पुष्टि गर्छन्। त्यो स्क्रिनसटमा लेखिएको थियो– ‘यो उग्र नारीवादीहरूको त बिहे नै नहोस्!’

के सन्दर्भमा भनिएको रहेछ भनेर बुझ्ने प्रयत्न गरेँ। आफूलाई भएको अन्यायविरुद्ध बोल्नेलाई उग्र नारीवादीको ट्याग लगाइएको रहेछ। हरेक दिन महिलाविरुद्ध हुने लैंगिक हिंसा, दुर्व्यवहार तथा हत्याबारे बोल्दा, लेख्दा, आवाज उठाउँदा उग्र नारीवाद देख्नेहरूले सदियौँदेखि पितृसत्ताले परिवार, समाज र देशमा महिलाविरुद्ध गरिरहेको बर्बर दमन, अत्याचार र हिंसालाई किन ‘उग्र’ देख्दैन! सामाजिक सञ्जालमा यसरी कसैको स्वस्थ वैचारिकिविरुद्ध धावा बोल्नु किन उग्र मान्दैन! कसैले आफूविरुद्ध भएको अन्यायविरुद्ध बोल्दा मात्रै हामीलाई किन उग्र लाग्छ!

आफू र आफूजस्ता अन्यलाई भइरहने दमन, अत्याचार र शोषणविरुद्ध बोल्दा उग्र भइन्छ भने यो उग्रता पुस्तान्तरण गर्न धेरै आवश्यक छ। किनकि समाजमा पितृसत्ताका पहरेदार जति छन्, त्यसविरुद्ध लड्ने जमात निकै सानो छ। आफ्नो स्वतन्त्रता, आत्मनिर्णय र आत्मसम्मानका खातिर बोल्दा हुने आक्रमण, लगाइने आरोप हामी बाँचिरहेको समाजका लागि उति अनौठो होइन। तर अबको पुस्ता सचेत हुनुपर्नेचाहिँ पक्कै हो।

पछिल्लोपटक नायिका नम्रता सापकोटाले आफूले बिहे नगरे पनि बच्चा जन्माउने रहरचाहिँ भएको बताइन्, एक अन्तर्वार्तामा। पितृसत्ताका ठेकेदारहरूलाई यो पच्ने कुरै भएन। उनी ‘ट्रोल’ बनिन्। उनीविरुद्ध निरन्तर ‘स्लट सेमिङ’ गरियो। र, यसो गर्नेहरूको रोइलो थियो– बाउबिना कसरी बच्चा जन्मिन्छ! कस्तो चरित्रहीन!! फेमिनिस्टहरू यस्तै हुन्!’ आदि। अति निम्नस्तरका टिप्पणी पनि गरिएका छन्।

अझ केही बुद्धिजीवी भनिएकाहरूकै प्रतिक्रिया थियो– ‘उनलाई विवाहबिना नै बच्चा पाउने अधिकार छ। तर त्यो बच्चाले पनि आफ्नो बाउ को हो भनेर चिन्ने अधिकार छ।’झट्ट हेर्दा यो टिप्पणी नम्रताको आत्मनिर्णयको अधिकारलाई सम्मान गरेजस्तो देखिए पनि घुमाउरो पाराले यसमा पनि पितृसत्ताकै कुटिल अंकुश लगाइएको प्रस्ट छ। बिहे नगरी, श्रीमान् नदेखाई आमा बन्न तिमीहरूलाई कसले छुट दियो भन्ने आशय यसमा छ।

सतीप्रथाका नाममा मरेको पतिसँगै महिलालाई जिउँदै जलाउने क्रूरतालाई पनि धर्म–संस्कारको लेप लगाएर महिमागान गर्नेहरूको चेतनाले आज पनि परम्परा, परिवारको इज्जत एउटी महिलामाथि थोपरेको छ, उसको स्वतन्त्रता र आत्मनिर्णयलाई बन्धक बनाएर विज्ञान र प्रविधिको युगमा बिना सम्भोग पनि सन्तान उत्पादन गर्न सकिन्छ भन्ने कुरा थाहा नभएको हो त!

सामाजिक–आर्थिक जिम्मेवारी सम्हालिरहेका परिपक्व महिलाले आफ्नो सन्तानप्रति एकल अभिभावकत्व निर्वाह गर्न किन नपाउने! हाम्रै वरपर त्यस्ता कति दिदीबहिनी भेटिन्छन्, जसले श्रीमानले दिएको शारीरिक र मानसिक यातना खेप्न नसकेपछि अलग्गै बसेर पनि आफ्ना सन्तानप्रतिको जिम्मेवारी निर्वाह गरिरहेका छन्। कति बालबालिका बाबु-आमाको असन्तुलित सम्बन्धका कारण घरमा हिंसात्मक वातावरणमा मानसिक आघात सहन/भोग्न बाध्य भइरहेका छन्। यस्तोमा बच्चाले पाउनुपर्ने स्वस्थ वातावरणको वकालत आवश्यक हुन्छ।

महिलाले पुरुषबिना पनि आफ्नो संसार सोच्न थाले भन्ने महसुस हुनासाथ यो पितृसत्ता आत्तिन्छ र महिलाविरुद्ध विष वमन गर्न थालिहाल्छ। सामाजिक सञ्जालमा मनपरी कमेन्ट, स्त्रीद्वेषी ट्रोल, मिमदेखि आर्टिकलसम्म यसैका उदाहरण हुन्। त्यसैलाई इन्डोर्स गर्ने वैकल्पिक भनिएका मिडिया प्ल्याटफर्म देख्दा झन् अवाक् लाग्छ।

सामाजिक सञ्जालमा प्रकट हुने धेरैजसो प्रतिक्रिया स्त्रीद्वेषी हुन्छन्। महिलालाई वस्तुकरण गर्ने खालका हुन्छन्। पुरुषलाई उसको व्यवसायिक, पेसागत तथा राजनीतिक पृष्ठभूमिका आधारमा आलोचना गरिन्छ भने महिलालाई अक्सर व्यक्तिगत तहमा उत्रेर गालीगलौज, चरित्रमा लाञ्छना, शारीरिक बनोटसम्बन्धी टिप्पणी गरिन्छ। यो पितृसताको असामाजिक चरित्र हो।

टिकटकमा चलेको सारी ट्रेन्डमा महिलाले आफ्नो शरीर चलाएको देखेर होस् वा मातृत्वलाई उत्सव मानेर सेलिब्रेट गरिहेका बेबी बम्प देखेर होस्, विषाक्त पुरुषत्व बर्बराएको हेर्न लायक हुन्छ। उनीहरूको छटपटी र बेचैनी छताछुल्ल हुन्छ, सामाजिक सञ्जालमा। तिनको ‘वान्ता’ देखेर दिगमिग लाग्छ।

केही समयअघि यस्तै कुरामा छलफल हुँदा एक जना पुरुष मित्रले मलाई ‘पितृसत्तालाई गाली गरेर समाज परिवर्तन हुँदैन। नरम भएर जान सकिन्छ’ वा यस्तै केही भने। तर के बुझ्नुस् भने कसैको गहिरो घाउ शल्यक्रिया गर्दा नदुखाई निको पार्छु भन्नुजस्तै हो– शालीन र संस्कारी, सहनशील भएर यो क्रूर पितृसत्ताविरुद्ध लडाइँ गर्छु भन्नु।

जब जब पितृसत्ताविरुद्ध आवाज एकत्रित हुन थाल्छन्, तब तब ‘उग्र नारीवादी’को आरोप लगाइन्छ। नारीवादलाई अपव्याख्या गरेर नारीवादी हुनु भनेको गलत हो भन्ने भाष्य स्थापना गर्न खोजिन्छ। आज पनि कसैले म ‘फेमिनिस्ट’ हुँ भन्दा नाक खुम्च्याउने, होच्याउने वा दूरी कायम गर्ने, ‘उग्र’को ट्याग भिराउन खोज्ने जमात वरिपरि भेटिन्छन्। अझ फेमिनिज्मलाई बुझेको छु भन्नेहरूलाई पनि त्यति मात्र प्रतिरोध सह्य हुने रहेछ, जतिमा उसको अनुकूलतामा ठेस पुग्दैन।

नारीवादी लेखक सिमोन दि बउवरले भनेकी छन्, ‘जसले पितृसत्तात्मक व्यवस्थामा महिलाको अवस्था परिवर्तनका लागि संघर्ष गर्छ, आवाज उठाउँछ, ती सबै नारीवादी हुन्।’अर्थात् समान अस्तित्वको सपना देख्नेहरू, त्यसका लागि सहकार्य/हातेमालो गर्नेहरू र यसमा आउने व्यवधानलाई चुनौती दिएर अघि बढिरहेकाहरू सबै नारीवादी हुन्।

दु:खको कुरा– हाम्रो परिवेशमा नारीवादलाई सकेसम्म आफ्नो अनुकूल प्रयोग गर्ने र पितृसत्ताकै नियन्त्रणमा राख्न खोज्ने प्रयत्न भइरहेको अनुभूति भइरहेको छ। यसैकारण हुनुपर्छ– नेपालमा ‘मि टु’ अभियान अघि बढ्नु त परको कुरा, उल्टै बदनामी गराइयो भन्ने लाग्छ।

केही दिनअघि मात्रै बज्यु–बज्यैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विवरणले मिडियामा महिलाको उपस्थिति कति कमजोर छ भन्ने देखाएका छन्। सीमित लेखकले निरन्तर ‘स्पेस’ पाइरहनु र उनीहरू स्थापित हुनु एकदम सुखद कुरा हो। तर अब त्यसपछि के हुन्छ त भन्दा तिनै सीमित मान्छेलाई नारीवादी हुन् भनेर उनीहरूको कुरा मात्रै मान्य ठान्ने सामाजिक व्यवहारचाहिँ स्वार्थप्रेरित देखिन्छ। उनीहरूले गर्ने सेलेक्टिभ एक्टिभिजमले अरूको आवाजलाई इन्भ्यालिडेट गर्छ। पटकपटक बाहिर आएका घटनाले यो पुष्टि गरेका छन्।

विभिन्न अवस्थामा हिंसा भए/गरेका कुरा बाहिरिँदा मूलधारमा बसेर नारीवादको वकालत गर्ने भनिएकाहरूको मौनता र त्यसले निर्माण गरेको भाष्य ज्वलन्त उदाहरण हुन्। यो सबैभन्दा घातक देखिन्छ। यहाँनेर पनि नारीवाद केही खास मुद्दामा मात्रै बोल्नुले पितृसत्ताको अनुकूलतामा मात्रै चल्छ, बोल्छ, लेख्छ भन्ने लाग्नु स्वाभाविक हो।

जब नजिकका मान्छेविरुद्ध आरोप लाग्छ, तब विभिन्न बहानामा त्यसप्रति उनीहरू मौन रहनुले पनि त्यो स्पष्ट हुन्छ। हामीले वैकल्पिक भनेका मिडिया कति स्त्रीद्वेषी छन् भन्ने कुरा बुझ्न धेरै टाढा जानु पर्दैन। पछिल्लोपटक पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उडाएर कार्टुन बनाउँदा उनलाई सारी पहिर्याइएको थियो। र, त्यसलाई इन्डोर्स गर्नेहरू कथित बौद्धिक वर्गकै पुरुष-महिला थिए!

महिलाको पोसाक अपमानको प्रतीक हो? वा, महिला शरीर आफैं अपमानित कुरा हो?अनि यस्तै स्त्रीद्वेषी मिम, ट्रोल, बडी सेमिङलाई स्पेस दिने प्ल्याटफर्महरू महिलाका लागि कति सुरक्षित होलान्!जब यसप्रति प्रश्न उठाइन्छ, तब प्रतिरोध गरिन्छ– उग्र नारीवाद भन्दै।

सामाजिक सञ्जालमा महिलाविरुद्ध हुने वैचारिक आक्रमणमा स्वयं महिलाको पनि उत्तिकै सक्रियता देख्न सकिन्छ! चाहे त्यो राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चारित्रिक लाञ्छना लगाउनेहरू हुन् वा बेबी बम्पलाई उत्ताउलो भनेर सेमिङ गर्नेहरू।

यसो हुनुमा उनीहरू मात्रै दोषी होइनन्। वास्तवमा दोषी हो– हामीलाई हुर्काइएको सामाजिक संरचना। जसले सानैदेखि छोरा भनेका विशेष हुन्, उनीहरूसँग जोडिनुले मात्रै पनि महिलाको पहिचान बलियो हुन्छ, उनीहरूले नै महिलालाई जीवन निगाह दिनपर्छ, महिलाको रक्षा गर्नपर्छ, अनि मात्रै एउटी महिलाको अस्तित्व रहन्छ भन्ने पाठ पढाउँछ। पुरुष नै घरको मूली, सर्वेसर्वा भन्ने कुरा मन–मष्तिस्कमा भरिदिन्छ।

हरेक निर्णय पुरुषले मात्रै गर्न सक्छ/पाउँछ। उनीहरूले तोकिदिएको मापदण्डभित्र ‘फिट’ भए ठीक, नैतिकवान्, नत्र समाज भाँड्ने महिला, विखण्डनकारी, चरित्रहीन इत्यादि।

महिला भनेका पुरुषको इशारा/अधीनमा बाँच्नुपर्ने निरीह प्राणी हुन् भन्ने भाष्य यति बलियोगरी बनाइएको छ कि त्यो नै सत्यका रूपमा स्थापित छ। र, यो दास मानसिकता शिक्षित अनि संसार बुझेको भनिएको पुस्तामा पनि हावी छ। ​

हजुरआमा/आमाहरूलाई सहनशीलताको प्रतिमूर्ति बनाएर बोल्न निषेध गरिए तापनि नातिनी पुस्ता सचेत छ। उनीहरूसँग आवाज छ, जुन आवाज पितृसत्ता र यसका पहरेदारका कानमा असह्य हुनेगरी ठोक्किन्छ। उनीहरू चाहन्छन्– हामी मधुर मात्रै बोलौँ, हामी कोमलता मात्रै पस्किऊँ, निरीहता मात्रै बाँचौ, तर सयौं वर्षदेखिको दमन, पुस्तौंदेखिको बर्बरताले हाम्रो चेतना मसाल बनेर सल्किएको, हाम्रा भाषा विद्रोही बनाएको र प्रतिरोधको बाटोमा लाग्न बाध्य पारेको उनीहरू बुझ्दैनन् वा बुझ पचाउँछन्।

सिमोन दि बउवरले ‘लिंगमा राखिएको सत्ता डगमगाउँछ’ भनेजस्तै महिलाको ‘कर्कशता’ र ‘कठोरता’ देखेर आत्तिएको जमात सामाजिक सञ्जालमा बर्बराउँछ।

उन्नाइसौं शताब्दीकी सशक्त फ्रेन्च नारीवादी लेखक बउवरले भनेकी छन्, ‘स्त्रीत्व, मातृत्व वा स्त्रीयोचित प्रकृति महिलाको प्राकृतिक स्वभाव नभई पितृसत्ताको भाष्यले महिलामा लादेको विचार हो। यसले महिलालाई प्रेम, भावना, स्त्रीत्व, मातृत्वका नाममा आफूविरुद्ध उत्पीडन गर्ने छुट दिन्छ। महिलालाई स्त्रीत्वको पाठ पढाएर, महिला मस्तिष्कमा अप्राकृतिक तबरमा दासत्वको साँचो फिट गरिन्छ। पुरुष प्रभुत्व भएको समाजमा पुरुषभित्र आफ्नो श्रेष्ठता र उच्चताको बोध अकण्ठ भरिएको छ।

पुरुष आफूले पाएका विशेषाधिकार सहजै परित्याग गर्न तयार छैनन्। पुरुषको वर्चस्व कायम राख्न महिलालाई पुरुषको तुलनामा कमजोर र हीन बनाउन जरुरी हुन्छ। लामो समयदेखि चलेको यस्तो परम्पराले गर्दा महिलामा पनि आफूलाई पुरुषभन्दा कमजोर र हीन नै छु भन्ने भावना गहिरोसँग गाडिएको छ। महिलालाई आफू पुरुषभन्दा तल्लो दर्जाको ठान्ने बानी परिसकेको छ। यो सांस्कारिक जडता निकै गहिरो छ। त्यसैकारण निकै कम महिला मात्रै लैंगिक असमानताको विरोधमा बोल्न सक्छन्। यस्तो विषय थाहा भएका महिला पनि समाजमा एक्लिने डरले बोल्न डराउँछ्न्।’

नारीवादले समाजलाई हानि गर्छ?

नारीवादले समाजलाई हानि गर्न सिकाउँदैन, जति पितृसत्ताले कलिला मस्तिष्कलाई लैंगिक विभेद गर्न सिकाएको छ। मलाई लाग्छ– हरेक एक व्यक्तिले नारीवाद बुझ्न र त्यसैअनुसार सहअस्तित्वका लागि काम गर्न जरुरी छ।

र, अन्त्यमा– म नारीवादी होइन। मलाई नारीवादी हुन मन पर्दैन। म त लैंगिक समानताको पक्षधर हुँ भनेर कुरा चपाउने मेरा समकालीन मित्रहरूलाई हलिउडका ‘हल्क’ कलाकार मार्क रुफालोले कुनै अन्तर्वार्तामा बोलेका केही लाइन याद गराउन चाहन्छु।

उनले भनेका छन्, ‘म त नारीवादी होइन भनेर सामाजिक सञ्जालमा कुर्लनेहरू! सबैभन्दा पहिला त तपाईंहरूलाई नारीवाद के हो भन्ने थाहा छैन। र, म तपाईंहरूलाई त्यो बुझाउन पनि गइरहेको छैन। तपाईंहरू सूचना र सञ्चारको पहुँचमा हुनुहुन्छ। कृपया गुगल गर्नुहोस्। तर यहाँनेर केही कुराहरू छन्, जो मलाई लाग्छ, तपाईंहरूले याद राख्नु जरुरी छ।

तपाईंले ती सबै महिलाको अपमान गरिरहनुभएको छ, जसलाई आफ्नो मतदान गर्ने अधिकारका लागि बोल्दा बलजफ्ती कैद गरिएको थियो। जसले महिलाले भोग्ने यौन हिंसा र बलात्कारविरुद्ध बोल्ने ठाउँ र संस्था स्थापना गरिदिए, त्यो नारीवादी आन्दोलनबिना सम्भव थिएन। ती सबै महिलाविरुद्ध बोल्दै हुनुहुन्छ, जसले वैवाहिक सम्बन्धमा हुने बलात्कारलाई कानुनी रूपमा अपराध घोषणा गर्न संघर्ष गरे (वैवाहिक सम्बन्धमा हुने बलात्कारसम्म गैरकानुनी थिएन)।

र, ती तमाम महिलाको बलिदानीमा फोहोर फ्याँक्दै हुनुहुन्छ, जसले महिलाले पनि सम्पत्तिमा आफ्नो स्वामित्व पाउनुपर्छ भनेर लडाइँ गरे। दास प्रथा उन्मूलन र श्रमिक संगठन स्थापनमा भूमिका खेले। महिलालाई दास बनाइरहने वैवाहिक सम्बन्धबाट छुटकारा पाउन सम्बन्ध विच्छेद गर्न पाउनुपर्ने माग गरे।

महिलाले परिवार नियोजनको साधन प्रयोग गर्न पाउनुपर्ने, मध्यम र धनाढ्य वर्गका महिलाले पनि घरबाहिर कार्यालयमा काम गर्न पाउनुपर्ने अधिकारका लागि लडे (निम्नवर्गीय महिला सधैं घरबाहिर काम गर्थे)। किशोरी र महिलाविरुद्ध हुने घरेलु हिंसा, कार्यस्थलमा हुने यौन हिंसालाई कानुनी अपराधका रूपमा स्थापित गर्न लडे। छोटकरीमा भन्दा, तपाईंहरूलाई आफूले के भनिरहेको छु भन्ने ख्याल नै छैन।

माथि उल्लिखत हरेक नारीवादी आन्दोलनका महिलाले गरेका योगदानले सिर्जित आजको समाजलाई आधार बनाएर तपाईं अघि बढिरहनुभएको छ। तर जब तपाईं आफू फेमिनिस्ट होइन भनेर अरूलाई होच्याउने वा खिसीटिउरी गर्ने गर्नुहुन्छ, यो नभुल्नुस्, तपाईं तिनै नारीवादीले शताब्दीऔं लगाएर खडा गरीदिएको जगमा उभिएर उनीहरूकै अपमान गरिरहनुभएको छ। जुन हातले तपाईंलाई स्वतन्त्रता, सुरक्षा र आवाज उठाउने बाटो देखाएको छ, त्यसैलाई टोक्दै हुनुहुन्छ।’ नेपालखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार