होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?
राजनीति

काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

  • नागरिक रैबार
काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् ।

काँग्रेसको जिल्ला सभापति पदका लागि पनि गुटगत प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनको परिणाम हेर्दा प्रदेश १ का जिल्लाहरुमा पौडेल पक्ष हावी देखिन्छ । १३ औं अधिवेशनमा धनकुटा, मोरङ र ओखलढुङ्गाको जिल्ला सभापतिमा देउवा पक्षका नेता चुनिएका थिए भने बाँकी जिल्लामा देउवा इतर पक्षका सभापति चुनिए ।

तर यसपटक विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसमेत काँग्रेसमा समाहित भएको र राप्रपाबाट सुनिल थापासहितको समूह पनि काँग्रेसमा प्रवेश गरेका कारण समीकरण उल्टिने सम्भावना देखिन्छ । काँग्रेसमा सामेल भएका यी दुवै पक्ष सभापति शेरबहादुर देउवासँग निकट मानिन्छन् ।

विज्ञापन

कुन जिल्लामा को को छन् आकांक्षी ?

मोरङ

मोरङ सभापतिका लागि विशेषगरी केन्द्रीय सदस्य डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवा खेमाका आधा दर्जन नेता लाइनमा देखिएका छन् । त्यसमा पनि देउवा इतर पक्षका नेताहरु सभापतिको दौडमा बढी छन् ।
पार्टी सभापति शेरबहादुर देउवा इतरका मानिने मोरङ काँग्रेसका वर्तमान सभापति डिकबहादुर लिम्बु दोस्रो कार्यकालका लागि दाबी गरिरहेका छन् । उनीसँगै सचिव नागेश कोइराला, प्रदेशसभाका काँग्रेस सचेतक केदार कार्की र यदु विष्ट लगायतका नेता पनि जिल्ला सभापति पदका आकांक्षी छन् ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव जितेका लिम्बु गुट परिवर्तन गरी यस पटक देउवा इतर पक्षमा लागेका छन् । काँग्रेसका पुराना नेता गोपालराज भण्डारीका साथै पुराना नेता निरञ्जनप्रसाद रिजाल पनि सभापतिको दाबेदारका रुपमा चर्चामा छन् ।

भण्डारी अघिल्लो अधिवेशनमा डिकबहादुर लिम्बुसँग सभापतिमा पराजित भएका थिए । जिल्ला नेतृत्वको दौडमा देखिएका लिम्बु, भण्डारी, कार्की, कोइराला र रिजाल सबै देउवा इतर प्यानलका हुन् । मोरङ काँग्रेसको राजनीतिमा कोइराला खेमाको बर्चश्व मानिन्छ ।

यता, देउवा प्यानलबाट मोरङको जिल्ला सभापतिमा दिलीप गच्छदार र रमेशजंग रायमाझी आकांक्षी देखिएका छन् । गच्छदारले पार्टी सभापति देउवाको मात्रै नभएर यसअघि राप्रपाबाट काँग्रेसमा प्रवेश गरेका सुनिल थापा र फोरम लोकतान्त्रिकबाट काँग्रेसमा मिसिएका विजयकुमार गच्छदारको पनि साथ र समर्थन पाउन सक्ने काँग्रेसका नेताहरु बताउँछन् ।

जिल्ला सभापति पदका आकांक्षी गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । थारु एवं मधेसी समुदायको बाहुल्यता रहेको मोरङमा गच्छदारलाई अगाडि सारिए कोइराला प्यानललाई भारी पर्न सक्ने आँकलन गरिएको छ ।

केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने मानिएका विराटनगरका अमृत अर्याल, विजयकुमार गच्छदार तथा सुनिल थापाहरुले समर्थन गर्दा देउवा पक्ष मोरङमा सशक्त ढंगले अगाडि आउन सक्ने काँग्रेसकै स्थानीय नेताहरु बताउँछन् ।
मोरङमा यो पटक १४ हजार ५ सय नयाँ क्रियाशील सदस्य थपिनेछन् । पुराना १६ हजार २५५ गरी अब कुल क्रियाशील सदस्यको संख्या ३० हजार भन्दा बढी पुग्नेछ ।

 

सुनसरी

सुनसरी जिल्ला सभापतिको दौडमा काँग्रेसका तीन खेमाका नेताहरु अघि सरेका छन् । जिल्ला पार्टी सचिव केदार भण्डारी, फोरम लोकतान्त्रिकबाट काँग्रेसमा आएका प्रदीप चौधरी र उपसभापति सञ्जय श्रेष्ठ सभापतिका मुख्य आकांक्षी देखिएका छन् । यी तीनैजना काँग्रेसका छुट्टा–छुट्टै खेमाका नेताका रुपमा मानिन्छन् । जसमा भण्डारी देउवा इतर पक्षका नेता हुन् भने श्रेष्ठलाई देउवा निकट नेताका रूपमा चिनिन्छ । त्यसैगरी प्रदीप चौधरी भने विजय गच्छदारका खास सहयोगी मानिन्छन् ।

सुनसरीमा देउवा र देउवा इतर लाइनसँगै विजय गच्छदारको समेत प्रभाव छ । दुई कार्यकाल जिल्ला सचिव भइसकेका कानुन व्यावसायीसमेत रहेका केदार भण्डारी र जिल्ला उपसभापति सञ्जय श्रेष्ठले जिल्ला सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चौधरी पनि जिल्ला सभापतिका लागि आफ्नो दाबी रहने बताउँछन् । यी तीनैजना आकांक्षीले जिल्ला सभापतिको तयारीका लागि अहिले कार्यकर्ताहरूसँग भेटघाट तथा छलफलको काम थालेका छन् ।

झापा

काँग्रेसमा तेस्रो ध्रुवका नेता मानिएका कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापामा पनि सभापति पदका लागि आकांक्षीहरुको लर्को देखिन्छ । झापामा सभापति पदका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
झापाको पार्टी सभापतिका लागि देउवा, कोइराला–पौडेल र कृष्ण सिटौला पक्षीय नेताहरू मैदानमा देखिन्छन् ।

झापामा अहिलेसम्म राम कट्टेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी जिल्ला उपसभापतिका रूपमा कार्यरत छन् । उनलाई कृष्ण सिटौला नजिकका नेताका रूपमा चिनिन्छ । कट्टेलसँगै देउमान थेवेसमेत झापा काँग्रेसको सभापतिका आकांक्षी छन् । देउवा निकट मानिने थेबे यस अगाडि उपसभापति भइसकेका छन् भने अहिले महासमिति सदस्य छन् ।

उनीहरु बाहेक सिटौला प्यानलका राजेन्द्र घिमिरे र लोकराज ढकालसमेत सभापति पदको दौडमा छन् । ढकाल काँग्रेस झापाका प्रवक्ता हुन् भने रेडक्रस लगायतका सामाजिक संघ संस्थामा समेत आबद्ध छन् । उनीसँगै सोही खेमाका सुधिर शिवाकोटी समेत सभापतिको नेतृत्वका लागि मैदानमा देखिएका छन् ।

झापा काँग्रेसका पूर्व सभापति तथा संविधानसभा सदस्य शिवाकोटी भने धेरै आकांक्षी भएमा मिलाएर लैजाने भन्दै सर्वसम्मत नेतृत्व हत्याउने दाउमा रहेको काँग्रेसजन बताउँछन् । झापामा अर्का प्रभावशाली नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको पनि गृह जिल्ला हो । जिल्ला सभापति चयनका सन्दर्भमा उनको पनि भूमिका महत्वपूर्ण हुनसक्ने आँकलन गरिएको छ ।

ताप्लेजुङ

नेपाली काँग्रेस ताप्लेजुङकी सभापति लिला बोखिम दोधारमा छिन् । फेरि एक कार्यकाल सभापतिमा दोहोरिन पाउने सुविधा उपयोग गर्ने वा जिल्ला राजनीतिबाट बाहिरिने भन्नेमा टुङ्गोमा पुगिनसकेको बोखिमले रातोपाटीलाई सुनाइन् । सभापतिमा दोहोरिन भने दबाब बढेको उनको भनाइ छ । तर पौडेल समूहबाट पूर्वसभापति केशव दाहाल सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

पौडेल पक्षकै दाहाल र बोखिमबीच प्रतिस्पर्धा भएमा देउवा पक्षलाई सहज हुने देखिन्छ । देउवा पक्षबाट प्रदेशसभा सदस्य प्रताप हाङगाम, निवर्तमान सचिव छवि गुरुङ र पूर्वसचिव गजेन्द्र तुम्याहाङले जिल्ला सभापतिका लागि आकांक्षा राखेका छन् ।

पाँचथर

नेपाली काँग्रेस पाँचथर सभापति नरेन्द्र केरुङ आसन्न अधिवेशनमा जिल्ला राजनीतिबाटै ‘रिङ आउट’ हुँदैछन् । पार्टी विधानले दुई कार्यकालभन्दा बढी सभापति हुन बन्देज लगाएपछि उनी यसपटक जिल्लास्तरको राजनीतिबाट बाहिरिने भएका हुन् । आफू केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको केरुङले रातोपाटीलाई सुनाए ।

पाँचथर जिल्लाको सभापतिमा ५ जना नेताले दाबी गरिरहेका छन् । वर्तमान उपसभापति मित्रप्रसाद काफ्ले, महाधिवेशन प्रतिनिधिद्वय सुरेन्द्रकुमार दाहाल र डिकेन्द्र चेम्जोङ जिल्ला सभापतिका लागि पौडेल पक्षबाट आकांक्षी देखिएका छन् । १३ औं महाधिवेशनमा केरुङसँग प्रतिपस्र्धा गरेका दाहाललाई पौडेल समूहबाट सभापतिका सशक्त दाबेदार मानिन्छ ।

देउवा पक्षका केन्द्रीय नेता भीष्मराज आङदम्बेको गृह जिल्ला भए पनि पाँचथरमा देउवा पक्ष केही कमजोर छ । देउवा पक्षले वर्तमान सचिव रूपनारायण जबेगुलाई अगाडि सार्न खोजेको देखिन्छ ।

इलाम

नेपाली काँग्रेसका पुराना नेता कुलबहादुर गुरुङको गृहजिल्ला इलाममा देउवा र पौडेल पक्षका दुई–दुईजना आकांक्षी छन् । पौडेल समूहबाट वर्तमान सभापति हिमाल कर्माचार्य र महासमिति सदस्य भेषराज आचार्यले आकांक्षा देखाएका छन् ।

यस्तै, देउवा समूहबाट पूर्वसभापति केशव थापा र पूर्वकोषाध्यक्ष डम्बर खड्का आकांक्षी छन् । सहमतिका आधारमा सभापतिको चयन गर्ने प्रयासस्वरुप साउन ८ गते बैठक बोलाइएको छ ।
कर्माचार्यले कसैको नाममा सहमति भए छोड्ने तर प्रतिस्पर्धामा जानुपरे आफ्नो पनि उम्मेदवारी हुने बताएका छन् ।

तेह्रथुम

तेह्रथुमका जिल्ला सभापति गोविन्द ढुंगानाले दोस्रो कार्यकाल पूरा गरेका छन् । पार्टी विधान अनुसार अब तेह्रथुम जिल्ला सभापतिमा काँग्रेसले नयाँ अनुहार पाउने छ । जिल्ला नेतृत्वका लागि पौडेल पक्षबाट वर्तमान उपसभापति अर्जुन तुम्बाहाम्फे, सचिव सन्तोष सुब्बा र कमल ढुंगानाले आकांक्षा देखाएका छन् ।

यस्तै देउवा पक्षबाट १३ औं अधिवेशनमै गोविन्दसँग प्रतिस्पर्धा गरेका राज्यप्रसाद लिम्बुलाई अगाडि सार्ने सम्भावना देखिन्छ ।

धनकुटा
राप्रपा परित्याग गरी आएका काँग्रेस सहमहामन्त्री सुनिल थापाको गृह जिल्ला धनकुटामा ६ नेताले सभापतिमा आकांक्षा राखेका छन् । धनकुटामा देउवा, पौडेल र सिटौला समूह गरी त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

देउवा पक्षबाट वर्तमान सभापति अग्नि पौडेल, वैकल्पिक केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, वर्तमान जिल्ला कोषाध्यक्ष दिनेश राई र सचिव विजयसन्तोषी राई सभापतिको आकांक्षी देखिन्छन् ।

पौडेल निकट क्षेत्रीय सभापति इन्दिरा थापाले पनि उम्मेदवार बन्ने बताएकी छन् भने सिटौला समूहबाट कमोट फागोले उम्मेदवारी दिने तयारी गरेका छन् ।

धनकुटामा तुलनात्मक रुपमा बलियो रहेको देउवा पक्षलाई सुनिल थापा समूह थपिएपछि अझ सहज वातावरण बनेको छ । सभापति दोहोरिने इच्छा जाहेर गरेका पौडेलले सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको रातोपाटीलाई बताए ।

ओखलढुंगा

केन्द्रीय नेता रामहरि खतिवडाको गृह जिल्ला ओखलढुंगामा पनि यो पटक काँग्रेसले नयाँ नेतृत्व पाउने छ । वर्तमान सभापति प्रदीपकुमार सुनुवारको दोस्रो कार्यकाल पूरा भएकाले अब जिल्ला नेतृत्वमा नयाँ अनुहार आउने भएको हो । प्रदीपको विकल्पमा देउवा समूहबाट वर्तमान उपसभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, अशोक कार्की र नवराज केसी आकांक्षी देखिएका छन् ।

यस्तै पौडेल समूहबाट काठमाडौं आएर बालकृष्ण दाहालले सभापतिका लागि लबिङ गरिरहेको अवस्था छ भने सिटौला पक्षबाट कुमार लुइँटेलले सभापतिमा दाबी गरिरहेका छन् ।

संखुवासभा

यो जिल्लामा पौडेल पक्षको बलियो उपस्थिति छ । तर यहाँ पौडेल पक्षबाटै जिल्ला सभापतिका तीनजना आकांक्षी देखिएका छन् भने देउवा पक्षबाट एकजना मात्र आकांक्षी छन् । पौडेल पक्षका वर्तमान सभापति दीपनकुमार श्रेष्ठले कार्यकाल दोहो¥याउने चाहना राखेका छन् । यद्यपि आफू आन्तरिक छलफलमै रहेको उनले रातोपाटीलाई बताए ।

वर्तमान उपसभापति रामकुमार जिमी र क्षेत्रीय सभापति दीपक लिम्बु पनि पौडेल पक्षबाट उम्मेदवार बन्ने तयारीमा छन् । देउवा समूहबाट महासमिति सदस्य मुक्तिसिंह राई उम्मेदवार हुने सम्भावना छ ।

उदयपुर

काँग्रेसका मध्यमार्गी नेता डा. नारायण खड्काको गृहजिल्ला उदयपुरमा जिल्ला सभापति पदमा पौडेल समूहका तीनजना र देउवा समूहका एकजना आकांक्षी देखिएका छन् । पौडेल समूहबाट वर्तमान सभापति विदुर बस्नेत दोहोरिने दाउमा छन् । आफूलाई दोहोरिन सुझाव आइरहेको भन्दै उनले नेता कार्यकर्तासँग संवादमा रहेको रातोपाटीलाई बताए ।

बस्नेतलाई चुनौती दिन पूर्वसांसद प्रमिला राई र क्षेत्रीय सभापति वसन्त बस्नेतले पनि लबिङ थालेका छन् । देउवा पक्षबाट पूर्वसभापति तथा प्रदेश १ मा काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्की उम्मेदवार बन्ने देखिन्छ । उनलाई केन्द्रीय नेता खड्काको पनि सद्भाव रहेको बुझिएको छ ।

भोजपुर

देउवा निकट केन्द्रीय सदस्य तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीको गृह जिल्ला भोजपुरमा पौडेल पक्षको उपस्थिति बलियो छ । पौडेल समूहनिकट वर्तमान सभापति नन्दमणि राईले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । पौडेल समूहकै पूर्वसभापति बालकृष्ण थापा, नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष विनोद बान्तवाले पनि सभापतिमा आकांक्षा देखाएका छन् । देउवा समूहका पूर्वसचिव हेमन्त मुकारुङ र सिटौला समूहबाट तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं पनि सभापति पदका आकांक्षी देखिएका छन् ।

खोटाङ

जिल्ला सभापति पदका लागि खोटाङमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनमा पौडेल पक्षबाट नरेशकुमार श्रेष्ठले जिल्ला सभापतिमा बाजी मारेका थिए । उनी दोहोरिने मुडमा छन् ।
यस्तै पौडेल पक्षबाटै क्षेत्रीय सभापति तीर्थराज भट्टराईले पनि सभापतिमा आकांक्षा राखेका छन् ।

यता, देउवा पक्षबाट पूर्वराज्यमन्त्री सर्वधन राई र सिटौला पक्षबाट महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राईले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

सोलुखुम्बु

काँग्रेस नेता बलबहादुर केसीको गृहजिल्ला सोलुखुम्बुमा जिल्ला सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । पौडेल पक्षबाट वर्तमान सभापति विनोदकुमार बस्नेतले दोहो-याउन चाहेका छन् । पौडेल पक्षबाटै खिलराज बस्नेत पनि जिल्ला सभापतिको आकांक्षी देखिएका छन् ।

देउवा पक्षबाट पूर्वउपसभापति कृष्णप्रसाद निरौला र प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशसिंह कार्कीका अतिरिक्त आदिबासी जनजाति समन्वय केन्द्रीय विभागका सदस्य आङछिरिङ शेर्पा, महाधिवेशन प्रतिनिधि तथा तरुण दलका जिल्ला अध्यक्ष अशोककुमार झालाई पनि सभापतिको दाबेदारका रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार