सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि तयारी थालेको छ । हरेक हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिँदै आएको छ ।
नेपालका लागि आयातित रोग भए पनि १० वर्षदेखि किसानले यसको समस्या भोग्दै आएका छन् । केही दिनअघि छिमेकी देश भारतको पश्चिम क्षेत्रमा बर्डफ्लु देखिएको थियो ।
भारतमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले यसको नियन्त्रणका लागि पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए ।
डा. निर्मलले कोभिड-१९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परिक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपंक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपन्छी रोगकै परिक्षणका निम्ति दिनुपर्ने बताए ।
सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै उनले किसानलाई कुखुरा ओसारपसार गर्दा अनिवार्यरूपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउनसमेत उनले आग्रह गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु