काठमाण्डौ – गएको जेठ ३० गते नेपालमा मनसुन भित्रियो । त्यसपछि लगातारजसो पानी परिरहेको छ । मनसुन सक्रिय भएदेखि साउन ३ गतेसम्म एक सय चार जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् ।
त्यस्तै ८४ जना घाइते भएका र ४३ जना सम्पर्कविहीन रहेका सरकारको पछिल्लो तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार विगतको तुलनामा यस वर्ष मनसुन सुरु भएदेखि बाढी पहिरोका घटना बढी भएका छन् ।
बाढी पहिरोका घटनाले प्रभावित पालिकालाई उद्धार, राहत र विस्थापितको व्यवस्थापनमा हम्मेहम्मे भइरहेको छ । ‘उद्धार र राहतमै स्रोत/साधनको अभाव भोग्नुपरेको छ, पहिरो प्रभावित सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले भन्नुभयो, ‘पालिकाको मात्रै प्रयासले पीडितका लागि घर बनाउन सक्ने अवस्था छैन ।’
सिन्धुपाल्चोक र सङ्खुवासभामा पहिरोले धेरै क्षति पुर्याएकाे छ, विस्थापितहरू त्रिपाल टाँगेर बसिरहेका छन् । कतिपय सामुदायिक भवन, विद्यालयको भवन र आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् । योसहित बाढी पहिरो प्रभावित जिल्लाका पीडितको गाँसबास, स्वास्थ्य तथा सुरक्षा पालिकाको प्रमुख चिन्ताको विषय बनेको छ ।
सयौँ विस्थापितलाई कसरी र कहाँ पुनर्स्थापना गर्नेबारेमा पालिकामा योजना छैन । सरकारले ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत स्वरूप दिने गरेको छ । त्यसबाहेक प्रदेश र पालिकाले आफ्नाे क्षमताअनुसार राहत दिँदै आएका छन् । घरबार पूर्णरूपमा क्षति भएका परिवारलाई कार्ययोजना बनाएर पुनर्निर्माणमा सघाउने प्राधिकरणको तयारी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विपद् प्रभावित क्षेत्रमा त्यहाँका पालिका र प्रदेश सरकारको समन्वयमा घरबारविहीनलाई घर पुनर्निर्माणमा सघाउने गरी तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
पहिरोमै बस्ती विकास गर्ने गल्ती नगरौँ : भूगर्भ विज्ञ
पालिका, प्रदेश र सङ्घ सरकारको पहलमा बाढी पहिरोजस्ता प्रकोपबाट पीडितलार्ई ढिलो/चाँडो पुनर्स्थापनाका काम सुरु हुनेछन् । तर विपद्बाट हुने क्षति र जोखिम घटाउन पूर्वतयारी र सावधानी नै महत्त्वपूर्ण हुन्छ । मुख्यतः बसोबासलाई ध्यान दिएर व्यवस्थापन गर्न नसक्दा जोखिम बढेको र क्षति भोग्नुपरेको भूगर्भ विज्ञ लिलानाथ रिमाल बताउनुहुन्छ ।
बाढी पहिरो, भूकम्पजस्ता विपद् निरन्तर आउँछन् । विपद्लाई रोक्न नसके पनि क्षतिलाई घटाउन भने सकिन्छ । त्यसका लागि पालिकाहरुलाई स्रोत/साधन सम्पन्न बनाउन र पालिकाहरुले पनि आफ्नो भूमिका बढाउनुपर्नेमा भूगर्भका विज्ञ रिमालको जोड छ ।
पालिकाले गर्न सक्ने महत्त्वपूर्ण कामबारे उहाँको सुझाव यस्तो छ:
१. परापूर्वकालमा विपद् भोगेका ठाउँहरुमा बस्ती विस्तार हुनबाट रोक्ने । त्यसका लागि आफ्नो क्षेत्रको भू-धरातलको अध्ययन गर्ने ।
२. पहाडी भेगमा खोला खोल्सामा बस्ती नबसाउने ।
३. एक पटक पहिरोले क्षति गरेको ठाउँमा फेरि बस्ती नबसाल्ने ।
४. जमिनको उपयोग गर्ने परिपाटीमा परिर्वतन गर्ने ।
५ . पालिकाले जमिन प्रयोगको योजना बनाएर कार्यान्वयन गर्ने ।
भूगर्भका विज्ञ रिमालकाअनुसार एक/दुई दिन लगातार पानी परे माटो भिजेर थामिन सक्दैन अनि पहिरो जान्छ, त्यसैले भीर पाखाकाे बस्ती जोखिम हुन्छ ।
बाढी पहिरोले क्षति गरिसकेका ठाउँको अध्ययन गरी पाठ सिकेर नयाँ बस्ती बसाल्न पालिकाले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि पालिकामा छुट्टै विपद् शाखा, प्राविधिक जनशक्ति र कोषको व्यवस्थापन गर्नुपर्ने हुन्छ । पालिकाले हरेक वर्ष कोषमा रकम छुट्याउन सक्छन् ।
‘विगतमा पहिरो झरेकै ठाउँमा बस्ती विकास भएका धेरै ठाउँ छन्’, उहाँले भन्नुभयो, ‘पहिरोपछि बसेको माटोमा खेतीबाली गर्ने अनि त्यहीँ बसोबास थाल्ने गरेको विगतको इतिहास छ ।’ एक पटक बाढी पहिरोजस्ता घटना भइसकेका ठाउँमा फेरि पनि घटना निरन्तर भइरहन्छन् । पालिकाले कहाँ बसोबास उपयुक्त छ, कहाँ वनको विकास गर्न सकिन्छ, जमिनको उपयोग र योजनालाई व्यवस्थित गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ ।
भूगर्भ विज्ञ रिमाल भन्नुहुन्छ, ‘अबका दिनमा बसोबासलाई व्यवस्थापन गरौँ, विगतको इतिहास दोहोर्याउने र बर्सेनि विपद् निम्ताउने गल्ती नगरौँ ।’
फेसबुक प्रतिक्रियाहरु